
२३ साउन, काठमाडौं । सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासंघले व्यवसाय सञ्चालनका लागि स्पष्ट मापदण्ड तयार गरी लागु गर्न माग गरेका छन् ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यस क्षेत्रका समस्याबारे जानकारी गराउँदै समाधानको पहलका लागि उनीहरुले आग्रह गरेका हुन् ।
मंगलबार सिंहदरबार पुगेको व्यवसायीको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका आबद्ध व्यवसायीले संयुक्त रुपमा यस्तो आग्रह गरेका हुन् । त्यस क्रममा प्रतिनिधिसभा सदस्य एवम् संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले व्यवसायीका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । त्यस क्रममा उनले सुनचाँदी व्यवसायीका सदस्यलाई आफूले नजिकवाट नियालिरहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट निर्देशिकाको अभावमा व्यवसायीले विविध समस्या झेल्नु परेको बताए । निर्वाध रुपमा व्यवसाय सञ्चालनका लागि निर्देशिका आवश्यक भएको उनको भनाइ छ । जुनसुकै पेशा व्यवसाय सञ्चालनका लागि पनि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी व्यवसायको क्षेत्रमा यो नभएकोले बारम्बार व्यवसायीले अनावश्यक झमेला ब्यहोर्नुपरेको बताए ।
प्रतिक्रिया 4