+
+

राजधानीमै बाढीको बितण्डा : सयौं घर डुबे, दर्जनौं गाडीमा क्षति

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन २३ गते २१:३२

२३ साउन, काठमाडौं । सोमबार रातिको भारी वर्षाले देशका कतिपय भूभागमा जस्तै काठमाडौंमा पनि बाढी र डुवानको समस्या देखिएको छ ।

काठमाडौं प्रहरी परिसर र महानगर प्रहरीले निकालेको क्षतिको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौं जिल्लामा मात्रै सयभन्दा धेरै घर डुबानमा परेका छन् भने दुई घर भत्किएका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको ढुंगेधारामा घर भत्किंदा एकजना घाइते भएका थिए । यस्तै बाढीकै कारण अन्य घरहरुमा क्षति पुग्दा सोही स्थानमा अन्य २ जना पनि सामान्य घाइते भएका थिए ।

त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा बाढी पस्दा ५१ वर्षीया कौशिला थापा घाइते भएकी छिन् । सुन्दरीघाटको सुकुम्बासी बस्तीमा बागमती नदी छिर्दा एक जना घाइते भएको प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं महाजगरपालिका–२६ मा सामाखुसी खोलाको सतह बढ्दा थुप्रै घर डुबानमा परेको काठमाडौंका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए । ‘रेडन कलेज र लोटस मन्टेश्वरी वरिपरिका १५–२० घर डुबानमा परेका थिए । त्यहाँ भुइँतला पूरै पानीले भरिएको थियो’, उनले भने ।

स–साना क्षतिको विवरण आउँदै

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलका अनुसार स–साना क्षतिको विवरण आउने क्रम जारी रहेको छ । मंगलबार साँझसम्म काठमाडौं महानगरपालिका– १ खहरे खोल्सामा पानीको बहाव बढ्दा २ वटा कार र एउटा टाटासुमो खोल्सामा फसेका थिए । तीमध्ये दुईवटा कार प्रहरीले निकालिसकेको जानकारी उनले दिए ।

मंगलबार विहान विष्णुमती करिडोर खोलामा पानीको बहाव बढेको कारणले गर्दा डल्लुको पुलमुनि दुईवटा ट्याक्सी डुबेका थिए । तर, त्यहाँ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनोहरा–५ का केही घरभित्र पानी पसेर डुबान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दक्षिणढोका–सुन्दरीजल नयाँघाटी तथा माकलबारीमा डुबान पर्दा स्थानीय बासिन्दा प्रभावित भएका थिए । गोकर्णेश्वर नगरपालिका– ३ सुन्ताखानमा बाढीका कारण दुई वटा घर जोखिममा रहेको छ ।

मंगलबार बिहान धोबीखोलाको बाढीका कारण काठमाडौं– १० स्थित मदन भण्डारी कलेज नजिक दुईवटा डुबेका थिए । २० नम्बर वडाको परोपकार पुल मुनि एउटा भ्यान डुबेको थियो । प्रहरीका अनुसार मोटरसाइकल र अन्य साना सवारी साधन डुबानको अवस्था एकिन तथ्यांक भने आइसकेको छैन ।

सुन्दरीघाटबाट ११ जनाको उद्धार

कीर्तिपुर नगरपालिका– १० को सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बागमती नदी छिर्दा जोखिममा परेका ११ जना बासिन्दालाई प्रहरीले उद्धार गरेको छ । सर्लाहीको बाग्मती नगरपालिका घर भएका चारजना र मकवानपुर घर भएका सात जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

महानगर प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म नारायणहिटी दरबारभित्र सैनिक क्याम्पसमेत डुबानमा परेको थियो । नगर प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार दुईवटा पानी तान्ने मोटर लगाएर चार घण्टा पानी तानेपछि मात्रै क्याम्पभित्रको पानी कम भएको थियो । ‘जय नेपाल हल अगाडि टुकुचा जाम हुँदा दरबारभित्र पानी जमेको र महानगर प्रहरीले पानी फालेको हो,’ जोशीले भने ।

नगर प्रहरीले एयरपोर्टबाट पेप्सीकोलातर्फ खहरे खोलाले फुटसल र अन्य वरिपरिका घरहरु डुबानमा परेको जानकारी दिएको छ ।

तरकारी बजारमा बाढी

वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा पारेको थियो । मंगलबार बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए ।

तरकारी बजारका ४०० मध्ये ३७० वटा पसलमा बाढी पस्दा ठूलो क्षति भएको उनले बताए । एक्कासी बाढी आउँदा पसलको सामाग्री उठाउन नपाएको बस्नेतले बताए । यस्तै, कालीमाटीको तरकारी बजार र धुम्बाराहीको तरकारी बजारमा पनि डुबानले पसलहरु प्रभावित भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको थियो । दीपज्योति आवासीय विद्यालय सहित वरिपरिका बस्ती डुबानमा परेका थिए ।

महानगरभित्र ठूलो मानवीय क्षति नभए पनि सवारी साधन, घर तथा अन्य पसलका सामग्रीहरुको क्षतिको विवरण अझै थपिन सक्ने काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?