
२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमा फोटो, भिडियो खिच्न रोक लगाएपछि सप्तरीमा पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधबार सूचना जारी गरी विना अनुमति प्रशासन कार्यालय परिसरको फोटो भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन सञ्चार माध्यम तथा पत्रपत्रिकामा राख्न नपाइने बताएका थिए ।
नेपाल पत्रकार महासंघको सप्तरी शाखाले जिल्ला प्रशासन कार्यालयजस्तो सेवाग्राहीको बाक्लो भिड हुने सरकारी कार्यालयको फोटो, भिडियो खिच्न रोक लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध हुने भन्दै उक्त विज्ञप्ति फिर्ता लिन र गल्ती स्वीकार्न तीनघण्टे अल्टिमेटम दिएको थियो ।
त्यसपछि प्रशासन कार्यालयले पत्रकारको बुझाइ फरक परेको भन्दै छलफलमा बोलाएको थियो ।प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गरी बुधबारको सूचना स्थगन गरिएको जनाएको छ । तर उक्त सूचना त्रुटिपूर्ण रहेको स्वीकार नगरेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।
पत्रकार महासंघ सप्तरी शाखाको कार्यालयबाट निस्केको पत्रकारहरुको र्याली प्रशासन कार्यालयसम्म पुगेर धर्नामा परिणत भएको थियो । धर्नापछि आयोजित कोणसभामा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रसासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको बताए । उनले प्रशासनले सूचना त्रुटि भएको स्वीकार नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । प्रशासनले सूचना त्रुटिपूर्ण रहेको स्वीकार नगर वार्तामा पनि नबस्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि बिहीबार एक विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकार र सञ्चारमाध्यमका अधिकारलाई रोक लगाउने गतिविधि गरेको भन्दै विरोध जनाएको छ । जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरामा जुट्नुको सट्टा प्रशासन कार्यालय प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न उद्धत रहेको महासंघले बताएको छ ।
महासचिव रोसन पुरीले विज्ञप्तिमा भनेका छन्, ‘प्रशासनको यो कदमले पत्रकार र सञ्चारमाध्यमको अधिकार र सुरक्षाको विषयसमेत चुनौतीपूर्ण बनेको छ ।’ महासंघको केन्द्रीय समितिले जिल्ला शाखाको आन्दोलनको कार्यक्रममा आफ्नो ऐक्यवद्धता रहेको बताएको छ ।
प्रतिक्रिया 4