
२५ साउन, बुटवल । विरोध भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएको छ ।
नगरपालिकाले गत बर्ष भन्दा सात सय प्रतिशतदेखि बाह्रसय प्रतिशतसम्म वृद्धि गरेर चालु आर्थिक बर्षबाट एकीकृत सम्पत्ति कर लिन सुरु गरेपछि विभिन्न राजनीतिक दल, व्यवसायिक र सामाजिक संघ संगठनले विरोध जनाएका थिए ।
अस्वभाविकरुपमा कर बढाएको भन्दै उनीहरु पुरानै दर कायम गर्न माग गर्दै आन्दोलित भएका थिए । चौतर्फी विरोध भएपछि नगरपालिकाले विशेष नगर सभा बोलाएर बढाएको करको दर खारेज गरेको छ ।
विशेष नगरसभाले गत बर्ष लिंदै आएको करमा २० प्रतिशतले मात्रै वृद्धि गर्ने निर्णय गरेको छ । तर नेकपा एमालेका जनप्रतिनिधिहरुले भने १० प्रतिशत मात्रै वृद्धि गर्नुपर्ने अडान राख्दै नगर सभा बहिस्कार गरेका छन् ।
सबैतिरबाट कर घटाउन सुझाव आएपछि विशेष नगर सभा बोलाएर यसअघि भएको निर्णय सच्याउँदै २० प्रतिशत मात्रै वृद्धि गर्ने निर्णय पारित गरेको मेयर इस्तियाक अहमद खाँले बताए ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले भने मेयर खानले जबर्जस्ती निर्णय गराएको बैठकमा सहभागी वडा नम्बर ८ का सदस्य प्रकाश पाण्डेले बताए ।
प्रतिक्रिया 4