
२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतमा अनौठो प्रचार मोह देखिन थालेको छ । मन्त्रालयको नेतृत्व लिएको सय दिन पुगेको अवसरमा मन्त्री बस्नेतले शुक्रबार आफूले गरेका कामको उपलब्धी सार्वजानिक गर्ने कार्यक्रम राखेका छन् ।
कार्यक्रम राख्नु कुनै नौलो कुरो भएन, तर त्यसको तरिका भने अनौठो छ । राष्ट्रिय सभा गृहमा दिउँसो २ बजे आयोजना हुने सो कार्यक्रमका प्रमुख अतिथि बन्नेछन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । मन्त्रीको सय दिनको कार्यक्रममात्रै भन्दा प्रधानमन्त्री नआउन सक्ने बुझेर हुनुपर्छ मन्त्री बस्नेतले तरिका अपनाए, ‘सेतो कोट दिवस’ मनाउने ।
उद्घाटन, शिलान्यास, दिवस भनेपछि पुगिहाल्ने प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्रीको यो निम्तो कत्तिको जँच्छ, त्यो भने शुक्रबार नै देखिनेछ । सो कार्यक्रममा सहभागी हुनका लागि काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पतालका स्वास्थ्यकर्मीलाई एप्रोन लगाएर आउन उर्दी नै जारी गरिएको छ ।
‘स्वास्थ्यमन्त्री बस्नेतले पदभार ग्रहण गरेको एक सय दिन पुगेको उपलक्ष्यमा सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिको लागि निर्देशन गरिन्छ’, मन्त्रालयले अस्पताललाई परिपत्र गर्दै भनेको छ, ‘अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एप्रोन लगाएर तथा अन्य कर्मचारी सरकारी पोशाकमा आउन अनुरोध गरिन्छ ।’
उक्त परिपत्रमा सेतो कोट दिवस मनाउन लागिएको घोषणा समेत गरिएको छ । नेपालमा दिवसहरुको कुनै कमी हुने कुरै भएन । हरेक स्वास्थ्यकर्मी निकट संस्थाका आ–आफ्ना दिवस छन् । सरकार आफैंले पनि फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउदै आएको छ । तर, ती दिवसहरुलाई व्यवस्थित गर्न लाग्नु साटो अर्को दिवस थपेर मन्त्री बस्नेत आत्ममुग्ध हुन खोजेको मन्त्रालयका अधिकारी गुनासो गर्छन् ।
स्वास्थ्यमन्त्री बस्नेतमा देखिएको यो किसिमको प्रचार मोहप्रति सरोकारवाला र स्वास्थ्यकर्मीले समेत आलोचना गरिरहेका छन् ।
मन्त्रालयका एक उच्च अधिकारी मन्त्री बस्नेतको सय दिन पुगेको अवसरमा सेतो कोट दिवस मनाउनु एक ‘स्टन्ट’ भएको बताउँछन् ।
‘उहाँले गर्नुभएको कामको उपलब्धी सार्वजनिक गर्नु सान्दर्भिक होला । तर, स्वास्थ्य सेवालाई असर पर्ने गरी स्वास्थ्यकर्मीलाई भेला पार्नुको उद्देश्य प्रचारमुखी रहेको देखिन्छ’, ती अधिकारी भन्छन् ।
स्वास्थ्यमन्त्रीको सचिवालय भने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन गर्नका लागि सेतो कोट दिवस मनाउन लागिएको बताउँछ । ‘मन्त्री बस्नेतको सय दिनको अवसर पारेर सेतो कोट दिवस मनाउन लागिएको हो । किनकी, स्वास्थ्यकर्मीलाई काम गर्न गर्न प्रोत्साहन वातावरण मिलोस् । भोलि मन्त्रीज्यूले प्रत्येक वर्ष मनाउने गरी यो कार्यक्रम घोषणा गर्ने कार्यक्रम समेत रहेको छ’, सचिवालयका एक कर्मचारीले भने ।
मन्त्री रमाउँछन् तामझाम र नियम विपरीतका नियुक्तिमा
नीतिगत र ठूला योजनालाई ध्यान दिनुपर्ने बस्नेत कहिले अस्पताल फार्मेसी, अस्पताल अनुगमनमा निस्केर प्रचारमोहमै रमाइरहेका छन् ।
‘उहाँले नीतिगत निर्देशन दिने हो । अनुगमन, कारबाही गर्ने सम्बन्धित निकाय छन् । तर, पछिल्ला दिनमा उहाँको कामले बढी प्रचार मोहमा डुबेको देखिन्छ’, मन्त्रालयका अर्का अधिकारी थप्छन् ।
पछिल्लो दिनमा देशभर फैलिरहेको डेंगु महामारीप्रति मन्त्री बस्नेतको खासै रुचि देखिँदैन । तर, कार्यकालको पहिलो सय दिनलाई उनले स्वास्थ्य सेवामा ठूलै उथलपुथल भएझैं गरी धुमधडाकका साथ मनाउन खोजेका छन् ।
पूर्व स्वास्थ्यसचिव डा. किरण रेग्मी मन्त्री बस्नेतले जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा सेतो कोट दिवस मनाउन लागेको विषय औचित्यहीन भएको टिप्पणी गर्छिन् ।
सय दिनमा गरेको कामको समीक्षा गर्नु स्वभाविक हुन सक्ने भए पनि यत्रो तामझामसहित कार्यक्रम गराउन खोज्नु प्रचारबाहेक अरु केही नभएको उनको भनाइ छ ।
‘स्वास्थ्य मन्त्रालयको सभाहल राम्रो बनाएका छौं । त्यही भएका कामको सार्वजनिक गरेको भए राम्रो हुन्थ्यो होला नि’, डा. रेग्मी भन्छिन्, ‘स्वास्थ्य सेवामा ठूलो फड्को मारेको जसरी भड्किलो कार्यक्रम गर्नुको कुनै औचित्य छैन ।’
अहिले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा, त्यसका लागि स्वास्थ्य क्षेत्रका प्रत्येक व्यक्तिले हरेक दिनलाई सेतो कोट दिवस मान्नुपर्ने उनी ठान्छिन् ।
‘सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका प्रत्याभूति गर्न सक्नुपर्छ । एक दिन तामझाम सहित सेतो कोट दिवस मनाउनुले स्वास्थ्य सेवामा सुधार हुन्छ भन्नु भ्रम मात्रै हो,’ डा. रेग्मीले थपिन् ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की भने सेतो कोट दिवस सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न राम्रो कामको सुरुवात भएको तर्क गर्छन् । ‘सबै स्वास्थ्यकर्मीलाई एक ठाँउमा राख्न सेतो कोट दिवस सान्दर्भिक हुन्छ । अहिले आफ्ना हक, अधिकारको लागि छुट्टा–छुटै लड्नुपरेको छ । सबै सेतो कोट एकै ठाँउमा हुँदा यसले ठूलो अर्थ राख्छ’, डा. कार्की भन्छन् ।
मन्त्री बस्नेतले सय दिन पुगेको अवसरमा दिवसको घोषणा विभिन्न अर्थ राख्ने उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री बस्नेतको सो घोषणा झ्याली पिट्ने काम मात्रै भएको पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन् । ‘नागरिकहरु आधारभूत सेवाबाट नै वञ्चित भइरहेका छन् ।
आधारभूत अस्पताल निर्माण र सञ्चालन गर्न सकिरहेको छैन । जनताले गुणस्तरीय सेवा खोजेका छन्’, डा. प्याकुरेल भन्छन्, ‘उहाँको काम गराइभन्दा प्रचारवाद बढी भएको महसुस भएको छ ।’
सय दिनमा मन्त्री बस्नेतले सबैभन्दा बढी गलत काम गर्दै गएको डा. प्याकुरेल जिकिर गर्छन् ।
मन्त्री बस्नेतले २० वैशाखमा कार्यभार सम्हाल्दै गर्दा आफूबाट कर्मचारीको सरुवा बढुवा ऐन, नियममै रहेर गर्ने घोषणा गरेका थिए । डा. प्याकुरेलले भनेजस्तै मन्त्री बस्नेतले मनोमानी ढंगबाट कर्मचारीको सरुवा–बढुवा गर्दै आएका छन् ।
बस्नेतले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको तीन महिनाका बीचमा पटक–पटक दुई दर्जनभन्दा बढी उच्च अधिकारीको सरुवा गरेका छन् । हुन त मन्त्रालयहरुमा हुने कर्मचारी सरुवा नियमित प्रक्रिया हो । तर, मन्त्री बस्नेतले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवाप्रवाहको सामान्य सिद्धान्त विपरीत सरुवा गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मन्त्री बस्नेतले कांग्रेस निकट कर्मचारीलाई पनि पद समूह नमिल्ने गरी जिम्मेवारी दिदै आएका छन् । ‘आफ्नो निकट भएको संकेत पाएपछि मात्रै जिम्मेवारी हेरफेर गर्ने गरेका छन्’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्री बस्नेत आफ्नालाई सरुवा–बढुवा गराउन र प्रचारमोहको आनन्द लिनमै व्यस्त छन् ।’
आफैंले गरेको कामको मात्रै ठीक भन्ने भावनाले मन्त्री बस्नेतले काम गरिरहेको डा. प्याकुरेलको भनाइ छ ।
‘कार्यकाल सार्थक बनाउने हो भने ‘यस म्यान’ भन्दा पनि राम्रो मान्छे राख्नुपर्छ, तर पद र वरिष्ठता मिचेर सरुवा बढुवामा र उच्च तहमा नियुक्ति भइरहेको छ’, डा. प्याकुरेल भन्छन्, ‘अन्य मन्त्री भन्दा फरक उहाँ पनि हुन सक्नुभएन ।’
भोलि स्वास्थ्य सेवा नै अवरुद्ध हुने सम्भावना
स्वास्थ्य मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यका स्वास्थ्यकर्मी र अन्य कर्मचारी अनिवार्य उपस्थितको लागि निर्देशन दिएको छ । यसका कारण भोलिको स्वास्थ्य सेवा अवरुद्ध हुने देखिन्छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतमले स्वास्थ्यमन्त्रीले पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा कामको सार्वजनिक गर्न स्वास्थ्य सेवा विभाग, अस्पताल र केही मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निमन्त्रणा गरिएको बताए ।
‘काठमाडौं उपत्यकाको केन्द्रीय अस्पतालका स्वास्थ्यकर्मीलाई निमन्त्रणा गरिएको छ । सेवा प्रवाह नहुने गरी आउन निर्देशन दिएका हौं’, उनले भने ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल र ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले सकेसम्म सेवा प्रवाहमा असर नपर्ने गरी स्वास्थ्यकर्मी र कर्मचारीलाई पठाउने तयारी रहेको बताए ।
प्रतिक्रिया 4