+
+

किन पक्राउ परे कांग्रेस सांसद सुनिल शर्मा ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते २१:५५

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

सीआईबीले शर्मालाई बिहान ११ बजेतिर गोल्फुटारस्थित घरबाट नियन्त्रणमा लिएका थियो भने यसबारे सभामुखलाई अपराह्न जानकारी गराएको छ ।

संविधानको धारा १०३ मा सांसद पक्राउसम्बन्धी व्यवस्था छ, जसअनुसार अधिवेशन चलेको बेला फौजदारी अभियोगमाबाहेक अरुमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख छ । फौजदारी अभियोगमा पक्राउ गरे त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने भनिएको छ ।

शर्माको दल कांग्रेसले भने औपचारिक रुपमा केही बोलेको छैन । बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा शर्माको पक्राउबारे छलफल भने भएको थियो । पार्टीका सांसद शर्मालाई पक्राउ गर्नुको कारणबारे बुझ्ने काम भइरहेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ‘के कारणले पक्राउ परेको रहेछ भन्ने थाहा पाएपछि आफ्नो धारणा बनाउँछौं ।’

कांग्रेसकै कतिपय नेताहरु भने सांसद शर्माको पक्राउलाई शंकाको नजरले हेर्छन् । उनको सचिवालयले ‘संसदमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण प्रतिशोध साँध्न’ पक्राउ गरिएको जिकिर गरेको छ ।

शर्माको विवादित विगत

सांसद शर्मा नोबेल मेडिकल कलेज, विराटनगर र काठमाडौं मेडिकल कलेज (केएसमसी), सिनामंगलका सञ्चालक हुन् ।

उनी मेडिकल क्षेत्रमा जसरी आए, त्यसमा थुप्रै प्रश्न छन् । नोबेल मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिलाउन भूमिका खेलेको उनको समूहले वाईसीएलसँग मिलेर डा. ज्ञानेन्द्र गिरी समूहको शेयर हत्याएको आरोप छ । २०७० को दशकको सुरुवातमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरुलाई प्रभावित पारेर क्षमताभन्दा बढी एमबीबीएस र एमडीको सिट निर्धारण गराए, जुन राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनले पुष्टि गरेको छ ।


उनले सञ्चालन गरेको मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोके भन्दा बढी शुल्क लिएका दर्जनौं उजुरी परे । सरकारले ४५ लाख रुपैयाँ शुल्क तोकेको अवस्थामा नोबेललगायतका कलेजले ७५ लाख रुपैयाँसम्म लिएको पाइएको थियो । विद्यार्थीहरुलाई दबाब दिएर उजुरी नै दिनबाट रोक्ने गरेका थिए ।

शर्माको समूहले २०७८ भदौमा सिनामंगलस्थित केएमसीको स्वामित्व खरिद गरेको छ । उनले खरिद गरेपछि केएमसीमा पनि बढी शुल्क लिएको विवाद भयो । शर्माविरुद्ध राजस्व छलि, गैरकानूनी सम्पत्ति आर्जन लगायतका उजुरी पनि छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ मंसिरमा नोबेल मेडिकल कलेजमा छापा मारेर कागजात बरामदसमेत गरेको थियो । तर विभागले उनीमाथिको अनुसन्धान अहिलेसम्म टुंगोमा पुर्याएको छैन ।

बरु २०७९ को चुनावबाट सांसद चुनिएर आए । माओवादी केन्द्रसहितका दलहरुसँग चुनावी गठबन्धन गरेका कारण कांग्रेसमा पटक–पटक सांसद भइरहेका अन्य नेताहरुले समेत टिकट नपाउँदा शर्मा भने सहजै मोरङ–३ को उम्मेदवार भए । कांग्रेसभित्र डा. शेखर कोइराला निकट मानिने शर्माले सभापति शेरबहादुर देउवासँग पनि त्यति नै राम्रो सम्बन्ध बनाएका कारण टिकट पाएको नेताहरु बताउँछन् ।

गृह र अर्थमन्त्रीको राजीनामा माग्दा पक्राउ ?

कांग्रेस नेताहरुका अनुसार पहिलो पटक सांसद भएका शर्मा प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा मन्त्री बन्न चाहन्थे । तर न देउवाले उनलाई मन्त्रीको सूचीमा राखे, न डा. शेखरले नाम सिफारिस गरे । मन्त्री बन्न नपाएमा उनी निकै असन्तुष्ट देखिन्थे ।

पछिल्लो पटक सुन तस्करी प्रकरण आएपछि उनले आफ्नो असन्तुष्टि चर्को स्वरमा पोख्न थाले । भन्सार जाँचपास भइसकेको करिव एक क्विन्टल सुन २ साउनमा बरामद भएको थियो । ५ साउनमा बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे । सञ्चार माध्यमहरुमा समेत उनले निरन्तर गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाए ।

स्रोतका अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद शर्माले आफ्नो विषयमा जथाभावी बोल्दै हिँडेको भन्दै पार्टी सभापति शेरबहादुर देउवासम्म कुरा पुर्‍याएका थिए । पार्टी प्रवक्ता त्यसमाथि आफ्नै समूहका नेताले गुनासो गरेपछि देउवाले ९ साउनमा स्वकीय सचिव भानु देउवामार्फत शर्मालाई बोलाउन लगाएका थिए । शर्माले संसदमा बोलेपछि मात्र आउँछु भन्ने जवाफ दिए ।

१० साउनमा संसद बैठक थियो । एमाले सांसदहरुले सुन तस्करीमा गृह र अर्थमन्त्रीमाथि प्रश्न उठाँदै उच्चस्तरीय छानबिनको माग गर्‍यो । एमालेको अवरोधका बीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सांसद अर्जुन नरसिंह केसी र सांसद सुनिल शर्माले बोल्न हात उठाए । सभामुख देवराज घिमिरेले सुनिल शर्मालाई समय दिए । उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे र यही विषय उठाएर आमरण अनसन बस्ने चेतावनी दिए ।

त्यसयता पनि गृह र अर्थमन्त्रीमाथि निरन्तर प्रश्न गर्दै आएका शर्मा बिहीबार पक्राउ परे । त्यसैले कांग्रेसकै नेताहरु शर्माको विवादित छविबारे जति प्रष्ट छन्, मन्त्रीहरुमाथि प्रश्न उठाएकै कारण पक्राउ गरिएको होइन भनेर त्यति नै शंका गर्छन् ।

शर्मालाई पक्राउ गरेपछि सीआईबीले सभामुखलाई पठाएको पत्रले पनि यो आशंकालाई बल दिन्छ ।

पत्रअनुसार कतिपय चिकित्सकले भारतीय नक्कली प्रमाणपत्र पेश गरी दर्ता भएको तथा दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर नेपाल मेडिकल काउन्सिलले सूचना दिएको थियो । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले १९९६ सालमा रोल कोड ६५०४, रोल नम्बर १०११७, आईस्सी तहको सुनिलकुमार शर्माको कैफियतमा अपुष्टता भनेर लेखेर आएकाले शैक्षिण प्रमाणपत्र कीर्ते गरेको कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरेको सीआईबीले बताएको छ ।

तर राष्ट्रिय परीक्षा बोर्डको पत्र हालसालैको होइन । सीआईबीकी निर्देशक किरण बज्राचार्यले हस्ताक्षर गरेको पत्रअनुसार बोर्डले एक वर्ष पहिले अर्थात ५ साउन २०७९ मा नै राष्ट्रिय परीक्षा बोर्डमा शर्माबारे पत्र पठाएको देखिन्छ ।

साथै नेपाल मेडिकल काउन्सिलले नक्कली प्रमाणपत्रबारे सूचना पठाएको पनि सात वर्षअघि हो । सीआईबीले ‘अपरेसन क्वाक’ चलाएर आईएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सा शिक्षा अध्ययन गरेको भन्दै डाक्टरहरुमाथि मुद्दा चलाएको थियो । त्यसबेला शर्मा भने भागेर जापान पुगेका थिए । एकाध अपवादबाहेक सबैजसो ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले डाक्टरहरुलाई सफाइ दिएपछि शर्मा नेपाल फर्किएका थिए ।

अहिले पनि नक्कली प्रमाणपत्रबारे छानबिनको नियमित प्रक्रियामा सांसद शर्मालाई पनि नियन्त्रणमा लिइएको हो भने स्वाभाविक मान्नुपर्ने कांग्रेसका एक नेता बताउँछन् । तर गृह र अर्थमन्त्रीमाथि प्रश्न गरेकै कारण पुरानो फाइल खोलेर पक्राउ गरिएको हो भने स्वाभाविक मान्न नसकिने उनी बताउँछन् ।

गृह मन्त्रालयका अधिकारीहरु भने आफ्नो पुरानो फाइल खुल्छ भन्ने थाहा पाएर नै शर्माले सुन प्रकरणमा जथाभावी बोलेको दाबी गर्छन् । नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारी भन्छन्, ‘हिजोको उनको दबाब र प्रभावमा रोकिएको थियो होला, अहिले हेर्न थालेको थाहा पाएपछि आक्रामक बोलेका हुन् ।’

सीआईबीकी निर्देशक किरण बज्राचार्यले पनि यो पुरानै अपरेशनको निरन्तरता भएको अनलाइनखबरसँग बताइन् । ‘पुराना केसहरु हेरेर अलि अगाडिबाटै अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरतामा शर्माको शैक्षिक प्रमाण पत्रमाथि छानबिन भइरहेको थियो’, उनले भनिन्, ‘हालै पुष्टि भएपछि पक्राउ गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?