
त्यो रात, जून २६ तारिख । मेरो लागि द्वन्द्वात्मक रात बन्यो । चीनको उहानस्थित युच्याङ डिस्ट्रिकको लुज्यास्यान स्ट्रीटमा रहेको मार्सल प्यालेस (सुईफीउ) होटलको २१०५ नम्बरको कोठा । निक्कै परिचित, सहज र सुविधाजनक लागिरहेको थियो । त्यही कोठाको रात– उत्साह, खुसी र अपेक्षाहरु, अनि पीडा, उदासीन र उराठलाग्दो पनि ।
चीनको २१ दिन लामो भ्रमण सकेर म नेपाल फर्किंदै थिएँ । त्यसैले म निक्कै उत्साहित र खुसी थिए । देशको माटोको स्पर्शले नयाँ ऊर्जा मिल्ने, परिवार, आफन्त र साथीसंगीसँगको भेटले अपनत्व प्राप्त हुने अपेक्षाहरु थिए । अनि २१ दिनको बसाइमा एउटा मीठो सम्बन्ध गाँसिएको चीनसँगको बिछोडले पीडा, उदासीनको र रात नै उराठलाग्दो बनेको थियो ।
रातहरु छिप्पिंदै थिए । मनका बर्खे तर्कानाहरु छिनमा पानी बनेर रुझाउँथ्यो भावना, छिनमा घाम बनेर सेकिन्थ्यो भावना । एयरपोर्ट प्रस्थानको लागि बिहान आठै बजे हिंड्नुपर्ने इमी (हाम्रो चिनियाँ गाइड)को निर्देशनले पलभरको लागि भए पनि आँखालाई विश्राम दिनुपर्ने दबाब थियो । तर किन टेर्थ्यो र मनले त्यो दबाबलाई । भावनाका भेलहरु एकपछि अर्को लस्करमा उर्लिंदै गर्दा आँखाको ढकनीले कसरी विश्राम पाउन सक्थ्यो र !
झ्यालको चेपबाट छिरेको उज्यालो कोठाभरि फैलिंदा अनिदो आँखाहरु ढकनी खोलेर सलबलाउन थालेका थिए । घडी हेरे, सातको धर्सोमा खप्टिन खोजिसकेछ घण्टे सुई त । शरीरलाई तानाक-तुनुक पारेर खुट्टा झड्काल्दै उठें । बिहानीको नित्यकर्म सकेर लगेजलाई घिसार्दै होटलको लबीमा झर्दा मेरा सहकर्मी गोकर्ण र किरण त्यही लविबीको सोफामा टाउको फड्कार्दै झुल्दै रहेछन् । मनमनै ठानें, यिनलाई पनि चीनको आत्मीयताले रातभरि अत्याएछ ।
सुईफीउ होटलको लबीमा हामीलाई मिस डान (हाम्रो चिनियाँ गाइड)ले बिदाइ गरिन् । २१ दिनको बसाइमा उनको आत्मीयता हाम्रो आदत बनिसकेको थियो सायद । उनीसँग छुट्टिन पर्दा हाम्रो आँखा नजानिंदो ढंगले नुनिलो बन्दैथियो ।
मैले भने– ‘नेभर फरगेट चीन, अल्सो यु ।’
अनि हामीले उनीसँग बसेर तस्वीर लियौं र घुर्मैलो मन बोकेर एयरपोर्टतिर लम्कियौं ।
आत्मीयता
चीनको आत्मीयता साँच्चै आत्मीय थियो । हाम्रा हरेक चाहना उनीहरुको खुसी बन्थ्यो । हामी के खान्छौं, कहाँ जान्छौं, स्वास्थ्य अवस्था के छ, बसाइ कस्तो हुँदैछ । पलपल खबर लिन्थे र सकेसम्म हामीलाई सुखद् साथ दिन प्रयत्नरत रहन्थे । हरेक दिन सेमिनारको औपचारिक कक्षा सकिएर हामी अनौपचारिक छलफल, घुमघाम र खानपिनमा जुटिरहँदा पनि उनीहरुको साथ उस्तै आत्मीय र परिपूरक हुने गर्थ्यो ।
हामी सहभागी भएको सेमिनार आयोजक संस्था उहान रिसर्च इस्टिच्युट अफ पोष्ट एण्ड टेलिकमनिकेसनका प्रतिनिधि ब्रायन (माइ फ्रेण्ड) भन्ने गर्थे– ‘तपाईंहरुको लागि चीन बसाइको हरेक सेकेण्ड जति महत्वको छ त्यो भन्दा बढी महत्व र चुनौतीपूर्ण हुन्छ हाम्रो लागि ।’
मैले सोधेको थिए– ‘किन त्यसो भन्नु भएको ?’
उनको जवाफ थियो– ‘हामी के चाहन्छौं भने चीन बसाइको अवधिमा तपाईंहरुले मानसिक, सामाजिक, स्वास्थ्य हरेक हिसाबले अलिकति पनि नमीठो अनुभूति गर्न नपरोस् । हाम्रो साथ, सहयोग र सहकार्य सधैं आत्मीय बनोस् । त्यसैले तपाईंहरुको समय हाम्रो लागि अझ महत्वपूर्ण र चुनौतीपूर्ण छ ।
हो रैछ, मैले मानें । चीनका हरेक नागरिकले हाम्रो आतिथ्यतामा खर्चिएको आत्मीयता ब्रायन (माइ फ्रेण्ड) ले भनेको शाब्दिक मिठास जतिकै आत्मीय थियो । हाम्रा गाइडहरुको बोलीवचन र साथ, होटल स्टाफका व्यवहार, ट्याक्सीचालकको सहयोग, पसल र सडकका पेटीहरुमा भेटिएका चिनियाँ नागरिकको सहकार्य साँच्चै पूर्ण र पर्याप्त थियो ।
सभ्य र सुसंस्कृत समाज निर्माणको लागि के के आवश्यक होला ? मैले जानेसम्म त्यहाँको संस्कार– संस्कृति, भाषा, रीतिरिवाज, सरसफाइ, विकास–निर्माण, त्यहाँका नागरिकको बोलीवचन, असल व्यवहार आवश्यक हुन्छ । र, यो सबै कुरा छ चीनमा ।
विकास–निर्माण हेर्ने हो भने चमत्कारी लाग्छ चीनमा । चिल्लो र सफा सडक जमिनपुनि जति पत्रको छ जमिनमाथि पनि त्यति नै पत्र खप्टिएको देखिन्छ । गगनचुम्बी भवनहरु, सिक्स जीमा दौडिरहेको इन्टरनेट र घरायसीदेखि अफिसियल काममा समेत त्यसैको प्रयोग, ठूला–ठूला विद्युत आयोजनाहरु, लक्जरियस सवारी साधन, पार्क, रेस्टुरेन्ट र सुविधासम्पन्न होटल सबै कुरा छन् ।
पाहुनालाई गरिने सत्कार । कला, साहित्य, संस्कृतिको संरक्षण, प्रस्तुति र प्रवर्द्धन । हरियाली वातावरण र प्रकृतिको प्राथमिकता सबै कुरा छन् । चीनको हरेक प्रान्तको हरेक सहर विकास र सभ्यताको अनुपम नमुना बनेर पाहुनालाई स्वागत गरिरहेको हुन्छ ।
उपहार
चीन उड्ने बेला नेपाल चीन हिमालयन फ्रेण्डसिप सोसाइटीका महासचिव रिनन पोखरेलले भनेका थिए– ‘चिनियाँहरु आत्मीय हुन्छन्, उनीहरुलाई हामीले दिने सानो उपहार पनि अत्यन्त महत्वको हुन्छ । केही साना–साना नै भए पनि उपहार लिएर जानुहोला ।
मैले केही थान नेपाली झण्डा र खुकुरी क्रस भएको लकेट, दोलखाको भीमेश्वर नगरपालिकाले प्रकाशन गरेको गन्तव्य भीमेश्वर नामको फोटो पुस्तक र विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले प्रकाशन गरेको पुस्तक केही थान तथा केही नेपाली नोट लगेको थिए । ती उपहारहरु सेमिनार आयोजक उहान रिसर्च इन्स्टिच्युट अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनको प्रोफेसर, हाम्रा चिनियाँ गाइड, हामीले यात्रा गरेको ट्याक्सीका चालक, हामी विभिन्न सामान किन्न गएको पसलका साहुजीलाई दिए । उपहार समाउँदा उनीहरुको आँखामा देखिएको चमक र शरीरमा देखिएको स्फूर्तिले मेरो मनलाई पटकपटक प्रफुलित बनाएको थियो ।
म अहिले पनि सम्झिन्छु, उहानमा हामी बसेको सुईफीउ होटलबाट केही टाढा रहेको बजारसम्म जान एउटा ट्याक्सी रोकें । म र गोकर्ण त्यो ट्याक्सीमा चालकसँग गफिंदै गन्तव्यतिर अगाडि बढिरहेका थियौं । अधबैंसे उमेरको ट्याक्सी चालक दिदीको बोलीवचन, आत्मीय व्यवहार र सहयोगी भावनाले हामी त्यसै पनि उनीसँग नतमस्तक बनेकै थियौं । ट्याक्सीबाट उत्रिनेबेला मैले उनलाई १० रुपैयाँको नेपाली नोट उपहार भन्दै दिए । त्यो नोट हातमा लिएपछिको उनको खुसी मेरो जीवनको एउटा सबैभन्दा महत्वपूर्ण क्षण बनिदियो । मैले दिएको उपहार सानो थियो तर उनको खुसी बढेमाको लाग्यो, सगरमाथा जस्तै अग्लो न अग्लो ।
अर्को पनि एउटा यस्तै स्मरण छ– किरण, गोकर्ण र म बेइजिङको एउटा बजारमा किनमेलको लागि पुगेका थियौं । आवश्यक सामान खरिद गरेर पैसा तिरिसकेपछि मैले पसलको साहुनीलाई २० रुपैयाँको नेपाली नोट उपहार भन्दै दिएँ । उनले झण्डै तीनपटक जति सोधिन्– के यो मेरो लागि हो ? मैले हरेक पटक हो भन्दै टाउको हल्लाए ।
उनको प्रत्येक पटकको जिज्ञासा र जवाफमा मेरो शारीरीक चालको परिवेश यतिधेरै सुबानी लाग्थ्यो कि हामी दुवै वर्षौंको पारिवारिक सहयात्री हौं । यतिबेला मैले रिननलाई मनमनै धन्यवाद दिएको थिएँ– उपहारको कुरा उनले नसम्झाएको भएँ, मैले चिनियाँ नागरिकबाट यति मीठो सद्भावसहितको कृतज्ञता महसुस गर्न कसरी सक्थें होला र ।
सेमिनारमा हामी आठ देशका २७ जना सहभागी थियौं । सेमिनार सकेर फर्किने तालिका फरक–फरक भएकाले म, गोकर्ण र किरण मात्र गोञ्जाओ ट्रान्जिटको लागि एयरपोर्ट पुगेका थियौं । हामीलाई एयरपोर्टसम्म छोड्न इमी आएकी थिइन् ।
अब इमीसँग बिदा भएर हामी चाइना साउदेन एयरलाइन्सको हवाईजहाजतर्फ लम्कियौं । मनमा अनेक तर्कनाहरु मडारिरहेका थिए । चीन उड्ने बेला, २१ दिन…. भनेर जिब्रो टोक्ने म फर्कने बेला अरु केही दिन बस्न पाए… भन्ने तहमा पुगेको थिएँ । यो सबै चीनको विकास, चिनियाँहरुको आतिथ्यता र आत्मीयताको परिणती थियो ।
हामी किन सक्दैनौं ?
हवाईजहाजको सिटमा बसेर एकपटक उहान सहरलाई चिहाउँदै थिएँ । मनमा विचारका भेलहरु उर्लिन थाले– हरेक वर्ष चीनमा थुप्रै नेपाली सरकारी तथा गैरसरकारी प्रतिनिधि बनेर चीन पुग्ने गरेका छन् । त्यसमा कति राजनीतिक दलका प्रमुखहरु हुन्छन्, कति कर्मचारी हुन्छन्, कति सांसद र मन्त्रीहरु पनि हुन्छन् । उनीहरु सबैले चीनको चमत्कारी विकास, चीनको सभ्यता र संस्कृति, चीनको आत्मीयता र मित्रता, चीनको कानुन र त्यसको कार्यान्वयन जस्ता धेरै कुरा देखेको, बुझेको र महसुस गरेका हुन्छन् । फेरि पनि हाम्रो देशले थोरै पनि त्यसको सिको गर्न सकेको छैन ।
किन होला ? मैले अनुमान लगाए– हामीसँग इच्छाशक्तिको कमी छ । नत्र चीनमा जस्तै प्रकृति छ, संस्कार र संस्कृति छ, सभ्यता र धार्मिक सहिष्णुता छ । हामीसँग भएको अपार स्रोतहरुको व्यवस्थापनमा थोरै मात्र पनि तदारुकता देखाउने हो भने नेपाललाई चीन जस्तो बनाउने होइन, नेपाललाई नेपाल जस्तो बनाउन सकिंदैन थियो होला र ? हाम्रो इच्छाशक्ति त पढायो गुनायो पाठ, सोह्र दुना आठ भनेजस्तो न छ ।
मैले लेखेको छु
नेपाल चीन हिमालयन फ्रेण्डसिप सोसाइटीका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले मबाट सधैं एउटै कुराको अपेक्षा राख्नु हुन्छ, यिनी कतै जाँदा केही त लेख्छन् । यो पटकको चीन यात्रामा देखेका, भोगेका, महसुस गरेका धेरै कुरा लेखेको छु मैले । मेरा अनुभवलाई कतै संस्मरण बनाएर, कतै समाचार बनाएर लेखेको छु ।
मेरो लेखाइले पूर्ण परिवर्तन हुन्छ भन्ने अपेक्षा राख्न सक्दिन, राख्न हुन्न पनि । यति अपेक्षा चाहिं राख्छु– नेपालको प्रतिनिधित्व गरेर चीन लगायतका मुलुक पुग्ने हरेक राजनीतिज्ञ, हरेक प्रशासक, व्यवस्थापक र हरेक सत्ता सञ्चालकको इच्छा शक्ति जागृत हुनेछ ।
प्रतिक्रिया 4