+

कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

२०८० साउन  २७ गते ८:३० २०८० साउन २७ गते ८:३०
कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम समस्या बन्नुको पछाडि अव्यस्थित जीवनशैली र खानपान नै मुख्य कारण हो ।

मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा त्यसमा भएको अनावश्यक तत्वलाई हटाएर पिसाबको माध्यमबाट शरीर बाहिर फाल्छ । तर रगतमा शरीरलाई आवश्यक नपर्ने खनिज तत्वको मात्रा अत्यधिक बढ्छ र मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन । ती अनावश्यक तत्व पिसाबबाट बाहिर जान सक्दैन र ढुंगा बनेर बस्छ । जसकारण मिर्गौलामा पत्थरी हुन्छ ।

पत्थरीका कारण

पानी कम पिउनु

पिसाबमा विभिन्न किसिममा खनिज तत्व हुन्छन् । पानी पिएपछि खनिज छानिंदै पिसाबबाट निस्किन्छ जब पिसाबमा पानीको मात्रा कम भई खनिजको मात्रा बढी थिग्रिन्छ । त्यसपछि त्यहाँ ढुंगाको विकार बन्छ । त्यसलाई मिर्गौलामा पत्थरी भएको मानिन्छ ।

जन्मजात समस्या

कसैमा जन्मजात रगतमा समस्या हुन्छ । जसले गर्दा पिसाबमा खनिज मात्रा बढी हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्छ । यस्तोमा पानी धेरै पिएमा पनि ठीक हुँदैन ।

खानपान

पालुंगो साग, रातो मासु, गुलियो परिकार, गेडागुडी, काजु, बदाममा उच्च मात्रामा अक्जोलेट हुन्छ । अक्जोलेट भएका खानेकुरा अत्यधिक खाँदा त्यो पिसाबमा जम्मा भएर ढुंगाको रुप लिन्छ । त्यस्तै, क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, खनिज र बोसो भएको खानेकुरा शरीरलाई आवश्यक भन्दा बढी खाने तर  फाइबरयुक्त खानेकुरा पटक्कै नखाने बानीले पनि मिर्गौलामा पत्थरी हुन सक्छ ।

युरिक एसिड

युरिक एसिड भएकाहरुलाई पनि मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । युरिक एसिडको स्तर बढेमा पिसाबमा खनिज बढी हुन्छ, जसले मिर्गौलामा पत्थरी गराउँछ । त्यस्तै, अध्यधिक मोटोपन पनि मिर्गौला पत्थरीको लागि जिम्मेवार मानिन्छ ।

मदिराले पत्थरी जाने भ्रम

शरीरमा पत्थरी हुँदा मदिरा सेवन गरेमा जान्छ भन्ने गलत भ्रम रहेको पाइन्छ । जस्तोसुकै पेयले ढुंगा बगाउन सक्दैन । यसले तरल पदार्थ बढाइदिन्छ जसले गर्दा पिसाब लाग्ने मात्र हो । यसले ढुंगालाई झन् बढाउँछ ।

लक्षण

मिर्गौलामा बन्ने पत्थरी मूत्रबाहिनी नलीमा आएर अड्किन सक्छ । यस्तोमा कोखा दुख्ने र सो दुखाइ पछाडि पिठ्यूँमा सर्ने हुन सक्छ ।

पत्थरीको आकार सानो भएमा लक्षण नदेखिने र त्यो पिसाब गर्दा आफैं पनि जान सक्छ  । यद्यपि, मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।

कसैलाई सहन नसक्ने गरी कोखा दुखेर पिसाब नै बन्द हुन सक्ने समस्या देखिन सक्छ । पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन् ।

पहिचान तथा उपचार

पिसाब जाँच, भिडियो एक्सरे र सिटिस्क्यानबाट मिर्गौलामा पत्थरी भएको निर्क्योल गरिन्छ । त्यसपछि उपचार प्रक्रिया अघि बढाइन्छ । पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार मिर्गौलाको पत्थरीको उपचार गर्ने थुप्रै तरिका छन् ।

६-७ मिलिमिटरभन्दा सानो ढुंगा भएमा औषधि खाएपछि पिसाबसँगै आफैं बाहिर निस्कन्छ । त्यसबेला शल्यक्रियाको आवश्यकता पर्दैन । तर एक सेन्टिमिटरभन्दा ठूलो ढुंगा भएमा वा अवरोध र दुखाइको कारणले शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । मिर्गौलाको पत्थरीको शल्यक्रियाको लागत उपचारको प्रकारमा निर्भर गर्छ ।

त्यस्तै, अहिले आधुनिक प्रविधिबाट बिना चिरफार दूबीन तथा लेजर प्रविधिबाट पनि पत्थरीलाई निकालिन्छ । उपचार नै नगराई अरुको सल्लाहमा जथाभावी ढुंगा गलाउने भन्दै औषधि खाने गरिन्छ, जुन गलत अभ्यास हो । कुनै पनि औषधिले पत्थरीलाई गलाउन सक्दैन मात्र ढुंगालाई झार्न सक्छ ।

पत्थरी बल्झिने सम्भावना ५० प्रतिशत

पत्थरी एकपटक भइसकेपछि बल्झिने सम्भावना ५० प्रतिशत रहन्छ । जसमध्ये २० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । तर मिर्गौलाको उपचारपछि आफ्नो दैनिक जीवनशैली, आहार, व्यायामका कुरामा परिवर्तन ल्याएमा बल्झिने सम्भावना कम हुन्छ  । साथै, मूत्ररोग विशेषज्ञसँग सल्लाह लिन आवश्यक छ ।

(त्ररोग विशेषज्ञ डा.  शाहसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. अनिलपुकार शाह पत्थरी मिर्गौला
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?