२६ साउन, काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले १४ सदस्यीय टोली घोषणा गरेको घोषणा गरेको छ ।
मलेसियामा हुने छनोट प्रतियोगिता खेल्ने टोलीमा ३ जना खुसी डंगोल, पूजा महतो र रुबी पोदार पहिलो चोटी राष्ट्रिय टिममा परेका छन् ।
भारतीय ब्याटिङ प्रशिक्षकलाई बोलाएर टिमको तयारी गरिरहेको क्यानले प्रारम्भिक टोलीमा पहिलो पुस्ताका खेलाडीदेखि नयाँ पुस्ता र यू–१९ टिमका खेलाडीलाई समेत राखेको थियो ।
तर पहिलो पुस्ताकी नेरी थापा प्रारम्भिक चरणमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्के पनि अन्तिम १४ मा परिनन् ।
१३ वर्षयता राष्ट्रिय टिमको उतारचढाव देखेकी विकेटकिपर ब्याटर ज्योति पाण्डे टिममा परिनन् । ज्योतीको स्थान सुदूरपश्चिमकी विकेट किपर रुबी पोदारले लिइन् ।
यू–१९ कप्तान रहेकी स्पिनर कृतिका मरासिनीलाई बागमतीबाट राष्ट्रिय क्रिकेट खेलिरहेकी लेगस्पिनर खुसी डंगोलले विस्थापित गरिन् ।
तीव्र गतिकी बलर सरस्वती चौधरीको स्थानमा भारतमा क्रिकेट खेलिरहेकी पूजा महतो आइन् ।
कृतिकाले मलेसियामा भएको द्विपक्षीय सिरिजमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । १९ वर्षकी कृतिकालाई खुुसीले प्रतिस्थापन गर्नु टिममा आएको सकरात्मक पक्ष हो ।
युवा पुस्तामा प्रतिस्पर्धा बढ्दै गएको बेला सिनियर खेलाडी भने आफ्नो अन्तिम अन्तिम खेल रहेको बताउँछन् । करुणा भण्डारी, नेरी थापा जस्ता पाका खेलाडी घरेलु क्रिकेटमा नै सिमित हुने गरेका छन् ।
यसले नेपाली महिला क्रिकेट अब विस्तारै पुस्तान्तरणको अवस्थामा आइपुगेको देखिन्छ ।
कप्तान रुविना नै पनि आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा आफ्नो क्रिकेट करिअरका लागि अन्तिम अन्तिम चरण रहेको बताउँछिन् ।
‘अब यो पालिको प्रतियोगितामा म आफैंले पनि कति गर्न सक्छु, आफ्नो जिम्मामा गर्ने कोशिस गर्नेछु’, उनले भनिन्, ‘हामीले देशका लागि १५/१६ वर्ष दिइसक्यौं अब केही पारिवारिक कुराहरु पनि सोच्ने बेला भएको छ । त्यसैले यस पटक आफ्नो उत्कृष्ट दिएर आफैंले प्रेसर लिएर खेलाडीलाई फ्रि भएर खेल्न दिनेछु ।’
रुविनाले यसअघिनै सन्यासको तरखरको संकेत दिँदै आएकी छिन् ।
पहिलो पुस्ताकी खेलाडी सीता राना मगर भने अहिले पनि टोलीमा छिन् । उनले पनि अब खेल्दा खेल्दै विस्तारै बिट मार्नु पर्ने समयतिर आइपुगेको अनुभव गर्न थालेको बताइन् ।
ब्याटिङ प्रशिक्षकको आगमन सकरात्मक सन्देश
नेपाली महिला टिमले पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ । पहिलो पटक नेपाली महिला टिमको ब्याटिङ प्रशिक्षकको रुपमा नियुक्त भएकी देविका पाल्शिकरका लागि नेपाली टिमलाई छोटो समयमा एउटा ठूलो प्रतियोगिताको लागि तयार गर्नु चुनौती र अवसर दुवै हो । उनी नेपाली टिमसँग निकै सकरात्मक र आशावादी छिन् ।
‘पहिलो दिन मैले उनीहरुलाई देख्दा के गर्ने के नगर्ने केही बुझेको थिइनँ’, उनले भनिन्, ‘तर प्रमुख प्रशिक्षकसँग कुरा गरेर हामीले उनीहरुलाई भूमिका बुझाउने काम गरिरहेका छौं ।’
भारतीय पूर्व खेलाडी समेत रहेकी पाल्शिकरले सन् १९९८ बाट खेल्न सुरु गरेकी थिइन् । उनी भारतीय महिला प्रिमियर लिगमा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक हुन् ।
उनले नेपाली खेलाडीमा स्किल र प्राविधिक पक्ष भन्दा पनि रणनीतिक हिसाबले प्रशिक्षण गराइरहेकी छिन् । ‘अहिले मैले उनीहरुलाई प्राविधिक कुरा भन्दा पनि रणनीतिक पक्ष धेरै सिकाइरहेको छु,’ उनले आफ्नो रणनीति सुनाइन्, ‘समय छोटो छ, त्यसैले केही ब्याटरहरुलाई हामी अगाडि नै ल्याएर सिकाइरहेका छौं । उनीहरुले अहिले ती कुराहरु बुझिरहेका छन् ।’
पाल्शिकरको आगमनले नेपाली खेलाडीमा सकरात्मक उर्जा थपेकोका प्रमुख प्रशिक्षक सामसन जंग थापाले बताए । ‘पहिला महिला टिममा प्रशिक्षक मात्रै हुन्थ्यो । अहिले देविका म्याम आउनु भएको छ । यसले सबैमा सीपसँगै सकरात्मक उर्जा पनि थपिएको छ’, उनले भने, ‘नेपालको कमजोर पक्ष भनेको ब्याटिङ हो । अहिले खेलाडीहरु निकै उत्साहित छन् । खेलाडीहरुले आफ्नो भूमिका राम्रोसँग बुझेका छन् । त्यसैले पनि केही सकरात्मक आश बढेको छ ।’
पाल्शिकरले नेपाली महिला टिमकी कप्तान रुविना क्षेत्रीसँग फेयरब्रेकमा बार्मी आर्मीटिममा काम गरेकी थिइन् । सोही क्रममा उनले सीता र रुबिनासँग टिमका अन्य खेलाडीको बारेमा पनि जान्ने मौका पाएकी थिइन् ।
रुविना पनि ब्याटिङ प्रशिक्षकको आगमनले टिममा सकरात्मकता बढेको बताउँछिन् । ‘प्राविधिक रुपमा धेरै परिवर्तनको आश नगरौं तर हामी ब्याटिङ प्रशिक्षक नै आइसकेपछि सकरात्मक छौं । हामी केही सुधारिएको क्रिकेट खेल्ने कोशिस गर्नेछौं’, रुविनाले भनिन् ।
नेपालको अर्जुनदृष्टि ग्लोबल क्वालिफायर्स
नेपाली टिमले वर्षाका कारण आउटफिल्डमा खासै तयारी गर्न पाएको छैन । तर लामो समयको प्रशिक्षण भन्दा खेलाडीलाई थोरै तर क्वालिटी प्रशिक्षण गराउने गरेको प्रशिक्षक थापाले बताए ।
‘हामीले अहिले खेलाडीलाई प्रशिक्षण र आराम दुवैको समय मिलाएर गराइरहेका हौं । हामी क्वान्टीटीभन्दा क्वालिटी ट्रेनिङ गरिरहेका छौं’, प्रमुख प्रशिक्षक थापाले बताए ।
एसिया क्षेत्र छनोटका शिर्ष २ टिमले ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछ । प्रशिक्षक थापा नेपाललाई पहिले क्वालिफाई अनि विजेता बनाउने लक्ष्यमा छन् । ‘विजेता हुने लक्ष्य छ’, उनले भने, ‘तर पहिला टिमलाई क्वालिफाई गराउने हो ।’
कप्तान रुविना आफ्ना लागि हरेक प्रतियोगिता उत्तिकै महत्वपूर्ण रहने र लक्ष्य हाम्रो उपाधी जित्ने नै हुने बताउँछिन् । ‘यो पटक सबै टिममा सकरात्मक उर्जा थपिएका कारण सबैभन्दा पहिले छनोट हुने र तयसपछि उपाधी ल्याउने लक्ष्य रहेको छ’, रुविनाले भनिन् ।
नेपाली महिला टिमले मलेसियासँग द्धिपक्षीय सिरिज जित्दै यसवर्ष निकै राम्रो सुरुवात गरेको छ । त्यसपछि नेपाली महिला टिमले महिला इमर्जिङ टिम्स एसिया कप खेल्ने मौका पायो ।
जेठमा इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध राम्रो प्रदर्शन गरेको थियो । त्यसमा नेपालले पाकिस्तानलाई ८७ रनमा प्याक गरेको थियो । बलिङमा राम्रो प्रदर्शन गरे पनि नेपाल पाकिस्तान एसँग ९ रनले पराजित भयो ।
‘हामीले हङकङमा पकिस्तानसँग राम्रो खेल्यौं त्यसबेलादेखि हामीमा हामीले सक्छौं भन्ने उर्जा थपिएको छ’, रुविनाले भनिन्, ‘हामी यस प्रतियोगिताका लागि १ महिना अघिदेखि नै तयारी गरिरहेका पनि छौं । आशा छ नतिजा राम्रो आउनेछ ।’
तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4