
२६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोधका कारण नियमित रुपमा कानून बनाउन नसकिएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पछिल्लो समय संसद अवरोध नियमित कानून बनाउन बाधक भएको छ’, सभामुख घिमिरेले भनेका छन्, ‘कैयौं विधेयकहरुमाथि छलफल भएको छैन र परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौं ।’
केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘माननीयज्यूहरुले संसद अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।’
साउन १० गते यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।
संसद विघटनको असर
अघिल्लो संसदमा पनि कानुन निर्माणका विषयमा प्रयाप्त छलफल हुन नपाएको उनको भनाइ छ ।
‘अघिल्लो संसदमा पनि संसद विघटन, पुनस्र्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा प्रर्याप्त छलफल हुन सकेन’, सभामुख घिमिरेले भनेका छन्, ‘संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न पाएको छैन ।’
मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो त्यो हुन नसकेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अरु पनि थुप्रै विधेयकहरु छन्, नीतिहरु बनाउनुपर्ने अवस्था छ । यो परिस्थितिको अन्त्य हुनैपर्छ ।’
मानवअधिकार आयोगको स्तर घटुवाको विषयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै सभामुख घिमिरे भन्छन्, ‘यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसदमा पनि अथासक्य यस विषयमा छलफल हुनुपर्छ ।’
प्रतिक्रिया 4