+
+

काठमाडौं र बूनपाको कुरा मिल्यो, साततलेमा डोजर चल्यो

‘७ वर्ष अगाडि खोलालाई पाइपबाट मात्रै बग्ने बनाइएकाे रहेछ, पूरै खोला आफ्नै स्वरुपमा बगेपछि फैकाचोकदेखि कपनसम्म हुने डुबानको समस्या पनि हल हुन्छ ।’

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन २६ गते २०:३६

२६ साउन, काठमाडौं । काठमाडौंको कपनमा महानगरपालिकाले बिहीबार चलाउन खोजेको डोजर एक दिनपछि शुक्रबार मात्रै चल्यो । बूढानीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने कपन खोला पुरिएको भन्दै महानगरपालिकाले लगेको डोजर स्थानीयबासिन्दाको अवरोधले चल्न सकेको थिएन ।

बूढानीलकण्ठ नगरपालिका वडानम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ को सिमानालाई निर्धारण गर्न ४ जना वडाध्यक्षले नापी कार्यालय चाबहिलमा बसेर सहमति गरेपछि अतिक्रमित क्षेत्रमा शुक्रबार भने डोजर चलेको हो ।

सहमति अनुसार काठमाडौं ७ नम्बर वडा र बूढानीलकण्ठ १० नम्बरबीचको धोबिखोलादेखि साततल्लेसम्मको खहरे खोलामा राखिएको ह्युम पाइप काठमाडौंले निकालेको छ ।

नापी विभागले देखाएको नक्सा अनुसार दुवै पालिकाको सिमाना र खहरे भाग रेखांकन गरी छुट्याउने सहमति भएको काठमाडौं ७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए ।

‘खहरे खोलामा बिच्छ्याइएको ह्युमपाइप निकाल्ने तर धोबिखोला करिडोर जोडिने, पाथीभरा बस्ती र समता टोल जाने बाटो, साततल्लेको चोकमा भने केही दिन ह्युमपाइप जस्ताको तस्तै राख्ने सहमति भएको छ,’ हाडाले भने ।

दैनिक रुपमा आवतजावत गर्ने बाटो नै खोलाले अवरोध गर्ने भएपछि सो स्थानमा ह्युम पाइप नहटाउने निर्णय भए पनि जतिसक्दो छिटो बेलिब्रिज राखेर हटाउने महानगरले जनाएको छ ।

काठमाडौंका ६ नम्बर वडाका वडाध्यक्ष भुवन लामाले आइतबारदेखि बेलिब्रिजको जडानको काम सुरु गरिहाल्ने बताए । ह्युमपाइप हटाएर वारपार गर्ने समस्या समाधान गर्न काठमाडौंले बेलिब्रिज निर्माण गर्ने भएपछि मात्रै बूढानीलकण्ठ सहमतिमा आएको लामाले बताए ।

बालेनले बाल दिएनन्

बूढानीलकण्ठ नगरपालिका भने नक्सा अनुसार खोला खोल्नेमा सहमति भए पनि काठमाडौं महानगरको व्यवहारबाट रुष्ट भएको छ ।

महानगरका मेयर बालेन्द्र साह (बालेन)ले एक जनप्रतिनिधिलाई अर्को जनप्रतिनिधिले गर्नुपर्ने व्यवहार नगरको भन्दै बूढानीलकण्ठका जनप्रतिनिधि रुष्ट बनेका छन् ।

१० नम्बरका वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं महानगरपालिकाका मेयरले बिहीबार बूढानीलकण्ठका मेयरसँगको भेटमा सँगै गएर नापीमा छलफल गर्ने भने पनि ‘रेस्पोन्स’ नगरेको बताए ।

‘मेयर बालेन, छलफल र वार्ताबाट भाग्ने, डोजर लगाएर स्थानीय तर्साउन खोज्नेमा मात्रै अग्रसर हुनुहुँदो रहेछ, वडाध्यक्षहरुको पहलमा वार्ता भयो,’ उनले भने ।

भट्टराई जस्तै बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले बालेनले ‘बाल नदिएको’ संज्ञा दिन्छन् ।

दिउँसो ३ बजे जिल्ला समन्वय समितिले बालेन र अधिकारीलाई छलफलमा बोलाएको थियो, तर बालेन जिससमा नगएपछि बैठक नै हुन सकेन ।

‘अब छलफलमा किन आउनुभएन, छलफल किन भएन थाहा भएन, हिजो राष्ट्रिय सभागृहमा भोलि नापी आउँछु त भन्नुभएकै थियो, यो विषयमा थप केही बोल्नु छैन’, अधिकारी भन्छन् ।

‘उहाँले वडाध्यक्षहरु मार्फत नापी कार्यालयमा गएर डोजर चलाउन आदेश दिन मात्रै भन्नुभएको रहेछ,’ जिसस काठमाडौंका एक सदस्यले भने, ‘उहाँ आफैं नापी कार्यालयमा जाने कुरा थियो तर भत्काएर छाड्ने भन्दै वडाध्यक्षहरुलाई निर्देशन दिएर जानुभएछ ।’

‘बालेन नापी कार्यालयमा नआएपछि बूढानीलकण्ठका मेयरका अनुरोधमा जिससले बैठक बोलायो, तर उहाँ आउँछु भने नआएपछि बैठक नै भएन’ ती सदस्यले भने । बालेनले जिल्ला समन्वय समिति र अन्य पालिकालाई खासै नटेरेको उनको बुझाइ छ ।

समन्वय मात्रै खोजेका थियौं

बूढानीलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नवराज भट्टराई दुई पालिकाबीच समन्वय गरौं भन्दा अपराधी जस्तो दृष्टिकोण बनाएको गुनासो गर्छन् ।

‘खोला खोजौं, खोला खोलौं तर खोल्नु भन्दा अगाडि सबन्धित पालिकासँग समन्वय गरौं भन्दा अपराधी जस्तो भइयो’, उनले भने ।

२ नगरबीचको सिमानामा गर्ने हरेक कामको दुवैपालिकासँग छलफल गरौं भन्दा विकास विरोधीको भाष्य बनाउन खोजेको उनको आरोप छ ।

‘कुनै पनि पूर्वाधार तयार नगरी खोला खोल्ने कार्य हुँदा कपनबासीले व्यहोर्ने नाकाबन्दीको सन्दर्भमा व्यवस्थापन गरेर मात्रै डोजर लगाऔं भन्दा विकास विरोधी भइन्छ भने हाम्रो भन्नु केही छैन,’ उनले भने ।

खोला तल (धोबीखोला)देखि माथि (साततल्ले) चोकसम्म खोल्दा करिडोरकै रोड र माथिका चोकहरुमा वारपार गर्न नसक्ने अवस्था आउने भएकोले समन्वय गर्न अनुरोध गरेको र सोही अनुसार सहमति भएको भट्टराई बताउँछन् ।
बिहीबार भट्टराई स्थानीयबासीसहित डोजर रोक्न आइपुग्दा काठमाडौं महानगरका प्रहरीले छेकेका थियो ।

भट्टराईले आफूमाथि काठमाडौं नगर प्रहरीले बल प्रयोग गरेको बताएका थिए ।

एक हप्ताभित्र काम सकिन्छ

काठमाडौं महानगर प्रहरी राजुनाथ पाण्डेले सहमति भएपछि कुनै अवरोध नभएको भन्दै अब एकहप्ताभित्र खोला क्लियर गर्ने बताए ।

‘हामीले एउटा डोजर साततल्ले चोक र अर्को डोजर धोबीखोला करिडोर तर्फबाट चलाएका छौं, खोलामा पुरानै स्वरुप फर्काउन ५ देखि ७ दिन जति लाग्छ,’ पाण्डेले भने ।

खोला खोल्दा निक्लेको बालुवा र माटो वरिपरिको खाली ठाउँमा फिलिङ गर्ने उनले बताए ।

शुक्रबार धोबीखोलादेखि साततल्ले चोकसम्म उत्खनन गरे पनि करिब डेढ किलोमिटर खोला उत्खनन गर्नुपर्ने ६ नम्बर वडाध्यक्ष लामाले बताए ।

‘महानगरको ५ नम्बर वडाको फैका चोकसम्म खोला छोपेर ह्यूमपाइप हालिएको छ, ती सबै निकालेर खोलालाई पुरानै स्वरुपमा ल्याउने हो’ लामा भन्छ्न्, ‘७ वर्ष अगाडि खोलालाई पाइपबाट मात्रै बग्ने बनाइरहेका रहेछ, पूरै खोला आफ्नै स्वरुपमा बगेपछि फैकाचोकदेखि कपनसम्म हुने डुबानको समस्या पनि हल हुन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?