
पृथ्वीमा भएकामध्ये जमिनमा बस्ने सबैभन्दा ठूलो जनावर हात्ती आज निकै संकटपूर्ण अवस्थामा पुगेको छ । यसको तौल करिब सात मेट्रिक टन हुन्छ । पेट भर्न असाध्यै विविधतायुक्त र धेरै मात्रामा खानेकुरा खानुपर्ने, खान्कीको अभाव भइरहने, बासस्थानमा प्राकृतिक प्रकोपको आक्रमण भइरहने लगायतका कारणले हात्तीको संख्यामा गिरावट आइरहेको छ ।
योसँगै मानवीय आक्रमणले पनि हात्ती संकटापन्न अवस्थामा पुगेको छ । यसको दाह्राको अवैध खरिद बिक्री गरिन्छ, दाह्राका लागि हात्ती मारिन्छन् पनि । हात्तीको दाँतको मूल्य कुनै कुनै देशमा त सुनको भन्दा पनि बढी छ भनेर जो फ्लडले नेशनल पोस्ट पत्रिकामा लेखेका छन् । यसको सबैभन्दा बढी बिक्री चीनमा हुने गरेको तथ्याङ्क छ ।
पछिल्ला वर्षहरूमा हात्तीलाई छाला, हाड, मासु र अन्य अंगहरूका लागि समेत शिकार गर्न थालिएको छ । विश्वभर यसलाई संरक्षित जनावरको सूचीमा राखिएको छ ।
संसारमा हात्तीका तीन वटा मात्र प्रजाति छन्, अफ्रिकन हात्तीका दुई (लोक्सोडोन्टा अफ्रिकाना र लोक्सोडोन्टा साइक्लोटिस) र एशियन हात्तीको एक (एलिफस मेक्सिमस) ।
संकटापन्न प्रजातिहरूको अवैध व्यापार रोक्न बनेको अन्तर्राष्ट्रिय सन्धिले भनेको छ– अफ्रिकन हात्तीको संख्या करिब चार लाख र एशियनको ४० हजार भएको अनुमान छ । नेपालमा करिब २३० हात्ती रहेको अनुमान गरिएको छ । भारततिर आउजाउ गरिरहने भएकोले संख्या घटबढ भइरहन्छ ।
नेपालमा हात्तीको बासस्थान पूर्वी अन्तरदेशीय सिमाना मेची नदी किनारको बाहुनडाँगीदेखि पश्चिमको त्यस्तै सिमाना महाकाली नदी किनारको शुक्लाफाँटासम्म हो जसमा १९ हजार वर्ग किलोमिटर वनक्षेत्र पर्दछ । त्यसमा तराईका सम्पूर्ण ६ वटै संरक्षित क्षेत्रहरू पर्दछन् ।

हात्ती समूहमा बस्ने एक सामाजिक र घाँसपात मात्र खाने शाकाहारी जनावर हो । यसको एक हूलमा १५० वटासम्म सदस्य रहेका हुन्छन् । साधारणतया १४ वर्षको उमेर भएपछि भाले चाहिँ बगाल छोडेर एक्लै हिंड्न मन पराउँछ भने प्रायः पोथीहरू समूहमा नै रहन्छन् ।
भाले निकै अजिर, अटेरी र आक्रामक हुन्छ । घरपालुवा हात्तीको पनि भालेलाई सधाउन गाह्रो हुने, सधिएपछि पनि कुनै पनि बेला रिस पोखेर घटना निम्त्याउन सक्ने भएकाले प्रायः पोथीलाई नै मानवहितका लागि प्रयोग गरिन्छ ।
हात्तीमा केही अनौठा विशेषताहरू छन् । जस्तै, यसले लामो समय करिब २२ महिना गर्भ बोक्छ । १४ वर्षको उमेरदेखि प्रजननका लागि पोथी तयार हुन्छे र ५० वर्षको उमेरसम्म बच्चा जन्माइरहन सक्छे । तर जीवनमा ६ वटाभन्दा बढी सन्तान जन्माउन सक्दैन । आयु लगभग ७५ वर्षको हुन्छ ।
प्रजननको खास सिजन/समय हुँदैन, तथापि खानेकुराको उपलब्धतालाई आधार मानेर समागम हुन्छ । सुत्केरी हुने समयमा चाहिँ खानेकुरा प्रशस्त पाइनुपर्ने अवस्था विचार गर्छ । हात्तीको जुम्ल्याहा बच्चा अपवादको रूपमा मात्र भेटिन्छन् ।
जन्मिएको बच्चाले केही महिनासम्म आँखा देख्न सक्दैन । यद्यपि बच्चा होस् कि वयस्क सुँघ्ने र सुन्ने क्षमता तीव्र हुन्छ भने वयस्कमा पनि देख्ने क्षमता भने अति कम नै हुन्छ ।
शास्त्रहरूमा उल्लेख भएअनुसार करिब नौ हर्ज आवृत्ति भएको ध्वनि यसले सुन्न सक्छ जबकी मानिसले २० हर्जभन्दा सानो सुन्दैन । करिब १२ माइल टाढासम्मको अवस्था के छ भनेर सुँघेर र सुनेर बुझ्न सक्छ, २५ माइल टाढाको पानीको स्रोत सजिलै पत्ता लगाउँछ ।
ठूलो जीउ, ठूलो खुराक, लामो आयु र अन्य धेरै चुनौती यसका सामु भए पनि यो जनावर अद्यापि अस्तित्वमा रहनु यसका केही विलक्षण अनुकुलनका क्षमताहरूले गर्दा हो । यो जमिनमात्र होइन पानीमा सजिलै हिंड्न र पौडिन सक्छ, विशाल नदीहरू तर्छ ।
सम्ममा मात्र होइन उकालो ओरालो पनि हिंड्छ । २००० सालभन्दा केही वर्षअघि धरानदेखि हिंडाएर हात्तीलाई ओलाङचुङगोला पु¥याइएकोबारे पूर्वी क्षेत्रका बुढापाका सुनाउँछन् । काठमाडौंमा पनि पहिला हात्ती हिंडाएरै लगिएको थियो ।
अहिले पनि अफ्रिकन हात्तीको एउटै बथान ३७ वटा देशहरू विचरण गरिरहेका हुन्छन् । साधारणतया हात्तीको हिंडाइको वेग २० देखि २४ किलोमिटर प्रतिघण्टा (तीव्र गतिमा कुदाएको साइकल बराबर) हुन्छ भने साँच्चै आवेगमा आई दौडँदा ४० किलोमिटर प्रतिघण्टासम्म हुन्छ ।
तथापि यो जन्तु भुइँ छोडी उफ्रिन सक्दैन । उभिएरै थकाइ मेटाउँछ र निद्रा पु¥याउँछ । हात्तीको सबैभन्दा प्रमुख हतियार वा प्रयोगमा आउने साधन सुँड हो जो ६ किसिमका हुन्छन् । यो ५० हजारको संख्यामा मांशपेशीले बनेको दह्रो अंग हो ।
हात्ती कुनै जमानामा मानवका लागि ठूलो सहारा हुन्थ्यो । सिकार खेल्न जाँदा होस् या नदी तर्दा वा अन्य कामको लागि एउटा भरपर्दो यातायातको साधन थियो । हात्तीको उपयोगितालाई बुझेर उबेलाका मानिसले यसलाई घरेलुकरण गरे । त्यो समय भनेको करिब चार हजार वर्षअघिको हो ।
सुरुमा एशियन हात्तीलाई सधाएर काममा लगाइएको इतिहास छ । उक्त काम इन्दुज उपत्यका (हाल भारत र पाकिस्तान) को सभ्यताको विकाससँगै भएको पाइन्छ ।
आजका दिनमा पनि अन्य हिंस्रक जन्तुको अवलोकन, अध्ययन, अनुसन्धान र गणना गर्न हात्तीकै सहारा लिनुपर्ने स्थिति छ । यो जनावरको धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक महत्वको व्याख्या गरी साध्य छैन ।
मानव र हात्तीबीचको द्वन्द्व नेपालमा धेरै ठूलो छ भने विश्वका अरु देशहरूमा शीतयुद्धको रूपमा देखिएको छ । इन्डोनेशियामा हरेक साल पाम तेल खेतीमा मात्र हात्तीले करिब १० करोड ५० लाख अमेरिकी डलर बराबरको क्षति पुर्याउँछ ।
विश्व वन्यजन्तु कोषको तथ्यांकअनुुसार भारतमा मात्र हरेक वर्ष एक सय जना मानिसको ज्यान हात्तीको आक्रमणबाट जाने गरेको छ । नेपालमा बितेको दुई दशकमा २७५ जनाको ज्यान हात्तीले लिइसकेको छ ।
हात्तीबारे लामो समयदेखि अनुसन्धान गर्दै आएका अध्येता अशोककुमार रामको सन् २०२१ मा छापिएको एक लेखका अनुसार नेपालमा सालिन्दा पाँच वटा हात्ती र करिब २० जना मानिसको ज्यान हात्ती–मानव द्वन्द्वका क्रममा गुम्ने गरेको छ । मानिससँग अघोषित झगडा चलिआए तापनि यो जनावरलाई संरक्षण गर्न अति आवश्यक छ ।
बितेका तीन दशकमा करिब ६२ प्रतिशत वासस्थान विनाश भएको छ । अनि त गाउँतिर हात्ती पसेको र अन्नमाल खाइदिएका समाचारहरू हामी सुन्छौं । वास्तवमा यो दिगो व्यवस्थापन नभएर हो ।
हात्तीको बारेमा सचेतना फैलाउन प्रत्येक वर्ष अगष्ट १२ तारिखका दिन हात्ती दिवस मनाउने गरिन्छ । यस वर्ष ‘दिगो भविष्यको लागि हात्तीको वासस्थानको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ हात्ती दिवस विश्वका अधिकांश देशहरूमा मनाइदै छ ।
हात्ती दिवसको इतिहास खास लामो छैन । सन् २०१२ बाट मात्र सुरु गरिएको भए पनि यसले चर्चा र लोकप्रियता राम्रै कमाएको छ ।
एशियन हात्ती संरक्षणका लागि यो प्रजातिको विचरण हुने क्षेत्रका १३ वटा देशहरू बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, लाओस, नेपाल, श्रीलंका, म्यानमार, मलेसिया, थाइल्याण्ड, भियतनामका प्रतिनिधिको संयुक्त बैठकले सन् २०२२ मा काठमाडौं घोषणापत्र जारी गरी हात्तीको वासस्थान लगायत सबै अवयवहरूको संरक्षण गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
हात्ती उसै पनि प्रकृतिको एक अजंगको अनुपम उपहार हो । पारिस्थितिक प्रणालीलाई नियमित राख्न यसको ठूलो भूमिका छ । हात्ती प्रभावित क्षेत्रहरूमा यसलाई बिच्क्याउने, चलाउने, जिस्क्याउने, धपाउने प्रयासहरू भइरहेका हुन्छन् । यस्ता क्रियाकलापले दुर्घटना निम्त्याउँछ । त्यसैले हात्ती देखिएको बेला संयमित बनौं, यसलाई नबिच्क्याऔँ, वासस्थानको संरक्षण गरौं, हात्ती हिंड्ने करिडोरमा मानवीय गतिविधि नगरौं ।
(लेखक त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस विराटनगरका प्राणीशास्त्र विषयका उपप्राध्यापक हुन् ।)
प्रतिक्रिया 4