
दिनरात/ रातदिनको
कोलाहलहरुबीच सुतेर
निन्द्रा नपुगेको मन्दिर
उँग्दै उभिरहेको छ।
घण्टाहरूको
उच्च कर्कशयुक्त स्वर ।
दिल नछुने
हार्मोनियम, गीत र सुर।
सीमित संसारका
अपरीमित कामना….।
यी सबको बोझ
मन्दिरको जीवनलाई
बोझिल तुल्याउन पर्याप्त छन्।
मान्छे हुनुको स्वाभिमान
गुमाउनेहरूको मात्र होइन,
अधिक मान्छे हुनुको अभिमान
बिना कारण धारण गर्नेहरूको पनि
अनगिन्ती मुखौटाहरू हेरिरहन्छ मन्दिर।
मन्दिर दिक्क छ –
आफू बाहिरको हल्ला देखेर,
आफूभित्रको सल्लाह सुनेर।
अनि देखेर एउटै आत्माका
वैविध्ययुक्त फोटोकपी।
थाहा छ मन्दिरलाई –
नाटक गरीगरी
बाँच्नुपर्ने जिन्दगीमा
ओभर सिरियस मान्छेहरूको
पहेंलिएको जीवन ।
मन्दिरलाई यो पनि थाहा छ कि –
सिरियस नाटक
गर्नुपर्ने जिन्दगीमा
नन् सिरियस यायावरहरूको
विक्षिप्त जीवन।
यो सबको अनवरत ड्युटीबाट
दिक्क भएको मन्दिर
रिटार्यड हुने वेला पर्खीबस्छ ।
अनि तुलना गरिरहन्छ –
रिक्तताले पूर्णता पाएको
समय बिताउने चाहना
र,
स्वयंलाई आवृत्त गरिरहेका
हजारौं मानिसका हस्ताक्षर/ हस्तक्षेप।
तसर्थ
मन्दिर आफूमाथि एउटा पर्चा टाँस्न चाहन्छ
जसमा लेखिएको होस् –
‘मन्दिर उदास छ,
बस् मन्दिरलाई सुत्न देऊ।
कुनै बेला ताजा मुडमा
तिम्रो कामनाको फेहरिस्त हेर्नेछ।’
प्रतिक्रिया 4