+
+
विचार :

किन गिर्दैछ प्राध्यापकहरूको गरिमा ?

अन्य देशका प्राध्यापक निरन्तर अध्ययन, अनुसन्धान गर्छन्; हाम्रा प्राध्यापकचाहिं लगातार आन्दोलन र अनशन बस्छन् । यसरी राजनीतिमा बाँडिएर लम्पट कार्यकर्ता भएकै कारण प्राध्यापक पदको गरिमा निरन्तर गुम्दै गएको हो । 

डा. अतीन्द्र दाहाल डा. अतीन्द्र दाहाल
२०८० साउन २८ गते १३:०७

विद्वत्ता र ज्ञानको विचरण गर्ने प्राज्ञिक व्यक्तित्वलाई विश्वविद्यालय वा नियामक निकायहरूको रोहबरमा प्रत्याङ्कृत उच्च शिक्षा प्रतिष्ठानहरूले प्रदान गर्ने उपल्लो अनि असमानान्तर आभूषण हो– प्राध्यापक । प्राध्यापकलाई विशिष्ट श्रेणीको निजामती कर्मचारीसरह संवैधानिक मर्यादाक्रम दिइएको छ ।

विशिष्ट श्रेणीको पद आफैंमा गौरवको विषय हो । यद्यपि प्राज्ञिक हिसाबले ज्ञान तथा अध्ययनको अपार सागर मानेर दिइने प्राध्यापक पदको महानताको शाब्दिक व्याख्या त्यति सहज छैन । कुनै कामविशेषको अनुभव मात्र नभई ज्ञानको विचरण तथा अध्ययनको क्षेत्रमा अनन्त दक्खल प्रमाणित गरेबापत प्राध्यापक बनिन्छ ।

ज्ञान सदा उत्तिकै मूल्यवान् रहन्छ र कहिल्यै अवकाश वा भूतपूर्व हुँदैन । ज्ञान, निष्ठा र सत्यका धरोहर प्राध्यापकहरू पनि भूतपूर्व हुँदैनन्, जीवनपर्यन्त प्राध्यापक कहलिन्छन् र सोही हिसाबले सम्बोधित हुने गर्दछन् । त्यही भएर प्राध्यापकहरूको गरिमा अन्तर्राष्ट्रिय हिसाबमा समेत उच्च छ ।

विदेशबाट कुनै प्राध्यापक नेपाल भ्रमणमा आउँदा सम्बन्धित देशका राजदूतावासका कर्मचारीहरू उनीहरूको सम्मान र गाथालाई सहजीकरण गर्न दिनरात खट्छन् । प्राध्यापकले कोही कुनै व्यक्ति वा विषयको बारेमा गरेको सिफारिस अथवा अन्य कुनै प्रकारका टिप्पणीहरूको बाँकी समाजलाई निकै ठूलो महत्व रहन्छ ।

लेखक विला कार्थरको पुस्तक ‘द प्रोफेसरस् हाउस’मा प्राध्यापकलाई अति सम्मानित व्यक्तित्वको रूपमा प्रस्तुत गरिएको छ । कुनै कुरामाथि बौद्घिक र तार्किक सत्यताको अन्तिम बुझाइ निर्माणमा प्राध्यापकलाई आधार मानिन्छ । तर हामी भने विपरीत यात्रामा छौं ।

हाम्रो अवस्था

हाम्रो देशमा पनि प्राध्यापकको संख्या निकै विशाल छ । अहिले लगभग एक हजार माथि प्राध्यापकहरू भएको अनुमान गरिन्छ । यद्यपि खारिएको ज्ञान र गहिरो अनुसन्धानबाट मिश्रित भएर आभूषित पद प्राध्यापकको सही मर्यादा र मानक थाम्न नसक्ने गरी बढ्दो देखिन्छ ।

डा. अतीन्द्र दाहाल

प्राध्यापकको आदर र इज्जत राख्न सहयोग गर्ने विभिन्न आधारमा स्वयं प्राध्यापकबाटै खिल्ली उडाउने काम हुन्छ । केही विश्वविद्यालयमा आफू विद्यावारिधि नै नगरी विद्यावारिधि गर्नेहरूलाई शोध निरीक्षण गर्ने/गराउने प्राध्यापकहरू भेटिन्छन् । आफैंले प्राप्त नगरेको उपाधिमा अरूलाई सुझाउनु र निर्देशन गर्नु प्राज्ञिकताको अतिरञ्जित बढोत्तरी हो कि घोर अवमूल्यन ? सायद बहस हुनुपर्छ ।

अहिले अधिकांश प्राध्यापक विषयको विज्ञता, सम्बन्धित क्षेत्रमा ज्ञान, अनुसन्धानको अपारता अनि देशको विकासमा उनीहरूले पुर्‍याउन सक्ने योगदानको आधारमा भन्दा विभिन्न पार्टीका कार्यकर्ताको रूपमा राजनीतिक नियुक्तिमा लालायित छन् ।

आम विद्यार्थीलाई वैज्ञानिक र प्रायोगिक शिक्षा प्रदान गर्दै गुणस्तरीय मानव स्रोतसाधन तयार पारी देशको भविष्य समुज्ज्वल बनाउन लाग्नु उनीहरूको दायित्व हो ।

आफैंले नेतृत्व गरेका निकाय र तिनमा आबद्घ मानिसको बौद्घिकता अनि न्यायसंगत व्यवहार निर्माण गर्दै देशभर प्रशंसाको पात्र बन्नुपर्ने हो । तर हामीकहाँ विश्वविद्यालयको नेतृत्व गरेका प्राध्यापकहरू भ्रष्टाचारमा संलग्न भेटिन्छन् ।

पदमा नरहेकाहरू चाहिं कुनै समय हाजिर गर्नसम्म विश्वविद्यालय पुग्ने अनि लगत्तै निजी कलेजहरूतिर दौडिने गर्छन् । नाम चलेकै प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन नै उखेलेर फालेको, विभाग भित्र हुलदंगा गरेको र छात्रामाथि दुव्र्यवहार गरेको गाईंगुईं चलेको त धेरै भएकै छैन ।

आफू स्वयं प्राध्यापक रहेको विभागमा एउटा पनि विद्यार्थी भर्ना नभएर बन्द भएका छन् । ती विभागलाई विद्यार्थी आकर्षित हुने बनाउन नसक्ने तिनै प्राध्यापक देश नै बनाउने गफ दिइरहेका भेटिन्छन् । तर, विश्वजगतमा प्राध्यापकको प्रतिष्ठा अनुपम र समर्पण सघन देखिन्छ ।

अनुपम उदाहरण

प्राध्यापकहरू देशका गरिमा र शान हुन् । ज्ञान, सोच र विद्वत्ताका अपार स्रोत तथा सदाकाल प्रज्ज्वलित दीप हुन् । उनीहरूको विज्ञता र विद्वत्ताको परिमिश्रणबाट समाजमा अग्रगमन तथा विकासका नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन् ।

आज नासाका वैज्ञानिक प्राध्यापकहरू कसरी मंगलग्रहमा मानव बस्ती बसाउने भनेर अनुसन्धान गर्दैछन् । लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई कसरी मजबुत गराउने भनेर नयाँ चिन्तन र विचार मन्थनमा व्यस्त छन् ।

सन् २०१६ मा कोलम्बिया विश्वविद्यालयले गरेको रिसर्च ‘प्रोफेसिङ प्यासन’ को निष्कर्ष छ-प्राध्यापकहरू सत्य विचार निर्माणका अन्तिम र अकाट्य सारथि हुन् ।

यस्तो मान्यता भएको देशमा विकासको रफ्तार राम्रो छ । ठूलो संख्यामा संस्कृत विश्वविद्यालयहरू अवस्थित रहेको मानिने जर्मनीका केही प्राध्यापकहरूको संख्या ज्ञानको खोजमा नयाँ क्षितिज केलाउन व्यस्त छ । पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सृजना गरेका कौटिल्य तत्कालीन तक्षशिला विश्वविद्यालयका प्राध्यापक थिए ।

राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो । संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन् । संसारलाई कायापलट गर्ने सिद्घहस्त अनुसन्धान र अभिनव वा नवप्रवद्र्धनमूलक कार्यमा व्यस्त छन् ।

यस्ता नजीरका बावजुद हाम्रा अधिकांश प्राध्यापकहरू चाहिं कहिले र कस्तो आन्दोलन गर्ने, धर्नामा के हुने भन्नेमा मात्रै कार्यक्रम बनाउँछन् । केही घोषणा गरिहाले त्यो पनि आन्दोलन र विरोध वा अनशनकै मात्र हुन्छ ।

अब त स्थायी नियुक्ति समेत आन्दोलनबाटै मागिंदैछ र यसका लागि अनशन चलिरहेको हुन्छ । के यो बौद्घिकताको धज्जी उडाइएको होइन र ?

संसारमा प्राध्यापकहरूको खुला राजनीतिक संगठन कहाँ छ ? के देशको प्राध्यापकले कुनै राजनीतिक विचारको प्रवक्ता बन्न र आफैं संगठन बनाएर राजनीतिको झण्डा बोक्न मिल्छ ? प्राध्यापकको गरिमामा कुनै पार्टीको सदस्यताले रंगाउनु आवश्यक छ ?

विश्वविद्यालयका पदाधिकारी नियुक्त हुने बेलामा आफ्नो योग्यता, दक्षता, विशेषज्ञता अनि कर्मशीलता जस्ता पक्षलाई आधार बनाउन छोड्दै विभिन्न पार्टीका कार्यकर्ता भएर पद लिन र सौदावाजी गर्न नैतिकताले दिन्छ ?

आत्मसात् गर्नुपर्ने सत्य

आज पनि धेरै प्राध्यापकलाई समाजले उनीहरूको योगदान वा विशिष्ट विशेषज्ञताको आधारमा चिन्दैन । यो विश्वविद्यालय एउटा अनि त्यो अर्को पार्टीको भनेर व्याख्या गरिन्छ । अनि नाम चलेका प्रोफेसरहरू पनि अपवाद बाहेक कुनै न कुनै पार्टीको बिल्ला नलागी बसेका देखिंदैनन् ।

एउटा प्राध्यापक कक्षामा जाँदा अधिकांश समय कुनै दलको सदस्य वा कार्यकर्ताको रूपमा प्रस्तुत हुन्छ । उक्त दलमा पुग्दा चाहिं प्राध्यापकको विपरीत हैसियतमा उभिन्छ र दुवै ठाउँमा असंगतपूर्ण काम मात्र सम्पादन हुन्छ ।

अनुसन्धान प्रकाशन, सभा सम्मेलन तथा गोष्ठीमा कार्यपत्र प्रस्तुति जस्ता अनिवार्य पक्षमा पुर्नै नसकिने खाडल हुन्छ । शिक्षाको उज्यालो छरिरहेको दाबी गर्छन् तर उज्यालो छर्न बत्ती बलेको हुनुपर्छ, बत्ती बल्न तेल थपिरहनुपर्छ भन्ने बिर्सन्छन् ।

प्राज्ञिकतामा पूर्ण विकर्षण र राजनीतिमा अनन्त आकर्षण देखिन्छ । जब विज्ञताका प्रमुख धरोहर नै पार्टीका कार्यकर्ता बन्छन् अनि उनीहरूले ज्ञान, सीप, अनुशासन र आचरणभन्दा भाषण संस्कृति मात्रै सिकाउनु सामान्य हो । त्यही भएर अधिकांश हाम्रा जनशक्तिहरू काम कम र कुरा बढी गर्ने खालका छन्, बजारमा खपत हुने खालका बन्दैनन् ।

राजनीतिक रंगरोगन र लालसाका कारण अधिकांश प्राध्यापक समस्त देश र नागरिकका सिंगो प्राज्ञिक नेतृत्व तथा उचाइका पर्यायवाची नभई कांगे्रस, एमाले र माओवादीका प्राध्यापक भएर समाजको अगाडि आउँछन् ।

आम नागरिकले उनीहरूको दक्षता र विश्वसनीयतामाथि शंका गर्नु जायजै हुन्छ । अन्य देशका प्राध्यापक निरन्तर अध्ययन, अनुसन्धान गर्छन्, हाम्रा प्राध्यापकचाहिं लगातार आन्दोलन र अनशन बस्छन् । यसरी राजनीतिमा बाँडिएर लम्पट कार्यकर्ता भएकै कारण प्राध्यापक पदको गरिमा निरन्तर गुम्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?