+
+

कांग्रेसको महिला संघको विवाद के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १३:२२

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो ।

हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला अध्यक्षलाई हटाएर नयाँ मनोनित गरेकी छन् ।

अध्यक्षको उक्त निर्णयको शेखर-गगन पक्षका महिला संघका २० केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । उनीहरुले २२ साउनमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राउतलाई तीन दिनभित्र निर्णय सच्याउन अल्टिमेटम दिएका छन् ।

संस्थापनइतरले आपसी सल्लाह नै नगरी अध्यक्ष राउत एकतर्फी अघि बढेको आरोप लगाएको छ । ‘कहाँ कहाँ समस्या हो, केन्द्रीय समितिमा छलफल गरेर एउटा कार्यविधि बनाउनुपर्‍यो नि’, केन्द्रीय सदस्य डा. अमिता प्रधानले भनिन्, ‘कस कसलाई हटाएको हामीले सामाजिक सञ्जालबाट थाहा पाउनुपर्ने हो र ?’

अध्यक्ष राउतले भने केन्द्रीय सदस्य बनेका, उमेरका कारणले क्रियाशील हुन नसकेका तथा महिला संघ निष्क्रिय रहेका जिल्लामा नयाँ अध्यक्ष बनाउनै पर्ने वाध्यात्मक अवस्था रहेको बताएकी छन् ।

उनी आफ्नो निर्णय सच्याउने पक्षमा छैनन् । पार्टीका जिल्ला सभापतिहरुको सिफारिसका आधारमा महिला संघको जिल्ला अध्यक्ष चयन गरेको उनको दाबी छ ।

‘गुट हेरेर देउवा-शेखरको भनेर मनोनित गरेको होइन । महिला संघ कमजोर हुँदै गयो’, राउतले अनलाइनखबरसँग भनिन्, ‘महिला संघको अस्तित्व नै जिल्लामा नभए जस्तो देखिएको छ । ती जिल्ला त्यसै लथालिङ्ग छोडिदिने ? ती जिल्लामा संगठन बनाउन नपर्ने हो ?’

महिला संघलाई जिल्लामा चलायमान गराउने असल नियतले नयाँ अध्यक्ष तोकिएको राउतको दाबी छ । कांग्रेसको विधान अनुसार पार्टीको माथिल्लो निकायमा जिम्मेवारी लिएपछि भ्रातृ संस्थाको पद स्वतः छोड्नुपर्छ ।

महिला संघ झापाकी सुशीला ढकाल पार्टीको केन्द्रीय सदस्य बनेकी छन् । अहिले राउतले ढकाललाई हटाएर टीका संग्रौलालाई जिम्मेवारी दिएकी छन् । नवलपुरमा जिल्ला सभापतिबाट हटाइएकी कमला तिवारी पनि संघको केन्द्रीय सदस्य छन् । उनको स्थानमा तारा भण्डारी अध्यक्ष तोकिएकी छन् ।

कास्कीको जिल्ला अध्यक्षबाट हटाइकी कोपिला रानाभाट कांग्रेसको प्रदेश समितिकी सहमहामन्त्री हुन् । त्यहाँ महिला नेतृ मीना पाण्डे अध्यक्ष मनोनित भएकी छन् ।

इलामकी अध्यक्ष निर्मला सञ्जेल उपचारका क्रममा काठमाडौं बस्नुपर्ने र पार्टी काममा लाग्न नसक्ने भएकाले अर्को व्यक्तिलाई जिम्मेवारी दिएको केन्द्रीय अध्यक्ष राउतले बताइन् ।

२०४८ सालदेखि निरन्तर जिल्लाको अध्यक्ष रहेकी विमला निरौलाले काम गर्न नसक्ने अवस्थाले सिरहामा संगीता चौधरीलाई अध्यक्ष बनाएको राउतले बताइन् ।

महोत्तरीमा विनिता तिवारी बिरामी भई राजीनामा गरेको भन्दै अनिता शर्मालाई जिम्मेवारी दिइएको छ । रौतहटमा पूर्वअध्यक्ष भुवन गिरी श्रेष्ठले आफू उमेरका कारणले क्रियाशील हुन नसकेको जानकारी गराएकाले उनकै इच्छा बमोजिम मञ्जु झालाई तोकिएको केन्द्रीय अध्यक्ष राउतले बताइन् ।

श्रेष्ठले राजीनामा दिएको भनिएपनि पत्र आफूहरुले नदेखेको संस्थापनइतरकी केन्द्रीय सदस्य प्रधानले बताइन् ।

हुम्लामा विजया बुढा पार्टीको जिम्मेवारीमा रहेकाले सुशीला शाहीलाई जिम्मेवारी दिइएको छ । ताप्लेजुङमा संघको पूर्वअध्यक्ष मीना गुरुङले गत स्थानीय चुनावपछि पार्टीमा नरहेको केन्द्रलाई जानकारी पठाइएको थियो । उनको ठाउँमा गीता चौहान अध्यक्ष बनेकी छन् ।

पर्सामा भने जिल्ला अध्यक्ष विद्या श्रेष्ठ पार्टीको रेकर्डमा नदेखिकाले किरणकुमारी शर्मालाई अध्यक्ष तोकिएको राउतले बताइन् । सोलुखुम्बुमा जिल्ला अध्यक्षमा हटाइएकी छिल्हामु शेर्पा गत स्थानीय तहको चुनावमा एमालेको प्रचारमा लागेको उजुरी पार्टीमा परेको थियो ।

सोलुखुम्बुमा सरला नाछिरिङ राईलाई जिम्मेवारी दिइएको छ । कांग्रेसकै उम्मेदवारले छिल्हामु शेर्पाले असहयोग गरेको नभनेकाले उनलाई हटाउन नमिल्ने संस्थापन इतर पक्षकी प्रधान बताउँछिन् । बारामा हालै अध्यक्षबाट हटाइएकी सीता मैनाली केन्द्रसँगको सम्पर्कमै नरहेको राउतले जानकारी दिइन् ।

विधानतः महिला संघको अधिवेशन ३ वर्षमा हुनुपर्छ । २०७३ सालपछि संघको अधिवेशन हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले गत साउनमा राउतलाई तदर्थ समितिको अध्यक्ष तोकेका थिए ।

जेठमा ५२ सदस्यीय केन्द्रीय सदस्य थपिएको छ । संघको विधान अनुसार केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?