
काठमाडौं । आगामी ७ सेप्टेम्बरमा रिलिज हुने तयारीमा रहेको बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’लाई लिएर दर्शकहरु प्रतीक्षामा छन् । यो फिल्ममा शाहरुख फेरि एकपटक एक्सन अवतारमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।
शनिबार फिल्मको दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । तर यसैबीच ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । फिल्मको एक क्लिप कसैले ट्वीटरमा अपलोड गरेपछि शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टले यसविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएको छ । उजुरीमा कपीराइट अधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ ।
रिपोर्टअनुसार जवानको छायांकन सेटमा कुनै पनि मोबाइल फोन वा रेकर्डिङ सामग्री प्रयोग गर्न निषेध गरिएको थियो । त्यसका बाबजुद पनि फिल्मको क्लिप लिक भएर भाइरल भएपछि शाहरुख चिन्तित बनेका छन् । पाँचवटा ट्वीटर एकाउन्टबाट यो क्लिप सेयर भएको छ । यस विषयमा प्रहरीले आईपीसीको सेक्सन ३७९ (चोरी) र सूचना प्रौद्योगिकी नियमको ४३ (बी) अनुसार मुद्दा दर्ता गरेको छ । यसबारे अरु अनुसन्धान अघि बढ्ने मुम्बई प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शाहरुखको एक्सन अवतार रहेको फिल्म ‘जवान’को ट्रेलर गत महिना रिलिज भएको थियो । एटलीले निर्देशन गरेको यो फिल्ममा शाहरुखका साथै दक्षिण भारतीय सुपरस्टार नयनतारा र विजय सेतुपतिको शीर्ष भूमिका छ । फिल्ममा सुनिल ग्रोवर, दीपिका पादुकोण, प्रियमणि र सान्या मल्होत्राले समेत अभिनय गरेका छन् ।
प्रतिक्रिया 4