+
+

अर्थमन्त्रीको चुनौती : मेरो संलग्नता प्रमाणित गर्नुस्, पदमा बस्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १५:१६

२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उनले बताए ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।

तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

डा. सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’

यदि आफूले लोभलालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए ।

तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा. महतले असन्तुष्टि जनाए ।

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्रयाक रेकर्ड र संस्कार दुवै नभएको उनले बताए ।

यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिनँ साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन’ डा. महतले भने, ‘यो (बाहिर बोल्दै हिंड्नु) ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनुपर्दैन ?’

डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?