+
+

अनिता देवी : छोटो समयमै राजनीतिक छलाङ, नसोचेको जिम्मेवारी

तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ । ‘…मन्त्री, सांसद बन्छु भनेर सोचेकी पनि थिइनँ । तर, राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ’, उनले भनिन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन २९ गते १९:३९

२९ साउन, जनकपुरधाम । जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् । साहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् । उनलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएका थिए । उनलाई पूर्वमन्त्री मोदीले मन्त्रालयमा स्वागत गरे ।

तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ । ‘हाम्रो घर र माइती पक्ष राजनीतिक पृष्ठभूमिको थिएन । त्यसैले मन्त्री, सांसद बन्छु भनेर सोचेकी पनि थिइनँ’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ ।’

अनिताले २०७९ वैशाख ३० गते चुनावको पहिलो अनुभव बटुलिन् । उनी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बनेकी थिइन् । तर, पार्टी नयाँ र धरातल कमजोर हुँदा करिब १५ सय मत मात्र पाइन् । जसले जमानत समेत जोगाउन मुस्किल पर्‍यो अनितालाई । तर भाग्यशाली उनी मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा जनमत पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाइन् र अहिले मन्त्रीसमेत बनिन् ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत गर्‍यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतक समेतको जिम्मेवारीमा छिन्

उनका पति इन्जिनियर सञ्जयकुमार साह वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए । डा. सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाउँदा प्रभावित भएर २०१४ मै उनी पनि त्यही अभियानमा लागे ।

डा. सिके राउतको गठबन्धनमा विदेशबाटै पति आबद्ध हुँदा अनिताको चासो पनि राजनीतितिर बढ्न थाल्यो । अप्रत्यक्ष रुपमै गठबन्धनलाई सघाउन थालिन् ।

डा. सिके राउत पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा आए र जनमत पार्टी खोले । त्यसपछि अनिताले खुलेर पार्टीको झण्डा बोकिन् ।

पहिले उनीहरु नेपाली कांग्रेसका समर्थक थिए । तर परिवारबाट कोही सक्रिय राजनीतिमा भने थिएनन् । ‘राजनीति गर्छु भनेर सोचेको थिइनँ । जसरी हाम्रो पार्टीको अध्यक्ष डा. सीके राउतले पनि राजनीति गर्छु भनेर सोच्नुभएको थिएन नि ! तर परिस्थितिले राजनीति गर्न बाध्य बनायो’ अनिता भन्छिन्, ‘पछि खुलेर जनमत पार्टीको झण्डा बोकें ।’

मूलधारको राजनीतिमा आउँदा पार्टीको विचार सिद्धान्तबाट प्रभावित भएर समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भनेर झण्डा बोकेको उनको भनाइ छ ।

डेढ वर्ष धनुषा जिल्ला पार्टीको इञ्चार्ज भएर काम गरेकी अनिता र उनका पति दुवै जनकपुरमा भएको जनमतको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन भए ।

पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत गर्‍यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतकसमेतको जिम्मेवारीमा छिन् ।

धनुषाको औरही गाउँपालिका-६ चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्येकी साहिली हुन् अनिता । बुबा जागिरे हुँदा सँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढेकी उनले गाउँकै शंकर जनता मावि चक्करबाट एसएलसी पास गरेकी छन् । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि हेल्थ विषय लिएर स्नातक गरेकी छन् ।

गैरसरकारी संस्थामा सक्रियता 

कक्षा ९ मा पढ्दै गर्दा अनिताको २०५५ सालमा सबैलाका रामदेव साह र लालो देवीकी जेठो छोरा सञ्जयसित सामाजिक परम्परा अनुसार मागी विवाह भएको थियो ।

अनिता र सञ्जयका एक छोरा र एक छोरी छन् । छोरी हिमानी काठमाडौंमा सूचना प्रविधि विषय पढ्दैछिन् भने छोरा भाष्कर पनि काठमाडौंमै कक्षा १२ मा अध्ययनरत छन् ।

२०६६ सालदेखि अनिता घरको कामकाजसँगै गैर सरकारीसंस्था ओरेक नेपाल धनुषामा आवद्ध भएर काम गरेकी थिइन् ।

ओरेक नेपालको सदस्यदेखि सल्लाहकारको भूमिकासम्म निर्वाह गरेकी अनिता जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको सदस्यको रुपमा काम गरिन् । ‘झण्डै डेढ दशकसम्म विभिन्न गैरसरकारी संस्थामा आबद्ध हुँदा समाजको वास्तविक समस्या बुझें र राजनीतिमा लाग्दा घरपरिवारको राम्रो सहयोग पाएकाले नै यहाँसम्मको यात्रा तय गरें,’ उनी भन्छिन् ।

पार्टीमा आवद्ध भएदेखि सक्रियता र लगनशील भएर काम गरेका कारण उनलाई सांसददेखि मन्त्रीसम्म बन्ने अवसर जुरेको जनमत पार्टीका केन्द्रीय सचिव विपी साह बताउँछन् । ‘पढेलेखेको हुनुहुन्छ । संसदीय गतिविधिसँगै पार्टीको गतिविधिमा उहाँको राम्रो भूमिका छ । दलको सचेतक र महिला भएको कारण पार्टीले उहाँलाई दोस्रो चरणमा यो अवसर दिएको हो’ नेता साह भन्छन् ।

उनका अनुसार प्रथम चरणमा सरकारमा सहभागी हुँदा युवा र मुस्लिमलाई प्राथमिकतामा राखेर मो. अब्दुल खानलाई सरकारमा पठाइएको थियो ।

खानले खानेपानी मन्त्रालयको जिम्मा पाएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?