+
+
डा. रञ्जितकुमार यादव भन्छन् :

‘मलाई जिन्दगीभरिका लागि दाग लागेको छ, कानुनी लडाइँ लड्छु’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते २०:२५

२९ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्र अनुसन्धानका लागि भन्दै २६ साउनमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव शैक्षिक प्रमाणपत्रमा समस्या नदेखिएपछि रिहा भएका छन् ।

पिपरा गाउँपालिका–८, महोत्तरीका यादवको सक्कली प्रमाणपत्र हुँदाहुँदै पक्राउ परेर प्रहरीको दुव्र्यवहार भोगेका छन् । डा. यादवले प्रहरीले पक्राउ गरेपछि आफूलाई गरिएको व्यवहार र भोगाइ अनलाइनखबरसँग यसरी सुनाए :

गत बिहीबार १ बजे अपरिचित नम्बरबाट फोन आयो । उहाँले मसँग पढ्ने साथीको नाम लिएर उहाँको साथी हुँ एकछिन भेटेर कुरा गर्नुछ भन्नुभयो । म एमडीको अध्ययन गरेर बसेकाले धेरै टाढा जान सक्दिन, यतै कोठा वरिपरि (लोकन्थली) तिर आउनुभयो भने भेट हुन्छ भनेँ ।

ती व्यक्तिले केहीबेरमा त्यता आएर फोन गर्छु भनेर फोन राखे । करिब ३ बजेतिर उहाँले मेरो कोठाअगाडि आइपुगेँ भनेर फोन गर्नुभयो, म बाहिर निस्किएँ । भेट हुनासाथ उहाँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको हुँ, हजुरको फोन दिनुहोस् भन्नुभयो, मैले फोन दिएँ ।

हाम्रो डीएसपी साबले प्रकाउ गरेर ल्याउनू भन्नुभएको छ, हिँड्नुहोस् भन्नुभयो । मैले के कारणले प्रकाउ गर्न खोजिएको हो भनेर सोधेँ, उहाँले केही थाहा छैन, माथिबाट सिधै आदेश आएकाले प्रकाउ गर्न आएका हौं, हामीसँग हिँड्नुहोस् भन्नुभयो, म उहाँसँगै गएँ ।

बाटोमा मैले किन प्रकाउ गरियो भनेर पुनः प्रश्न गर्दा उहाँले केही जवाफ दिनुभएन, सिधै थुनामा राखिदिनुभयो । मेरो कसुर के छ, के गल्ती गरेका कारण मलाई प्रकाउ गरियो भनेर सोध्दा डीएसपी साब आएपछि सोध्नुहोस् भन्ने जवाफ आयो ।

त्यसपछि राति करिब १२ बजे अझै डीएसपी साब आउनुभएन भनेर सोध्दा तपाईंको शैक्षिक प्रमाणपत्र नक्कली छ, त्यसकारणले प्रकाउ गरिएको हो भन्ने जवाफ दिइयो । म त छाँगाबाट खसेजस्तै भएँ । त्यसपछि प्रहरीले मलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको थुनामा लग्यो ।

मैले मेरा सबै प्रमाणपत्र सक्कली नै हो, किन यसरी प्रकाउ गरियो भनेर सोध्दा उहाँहरुले अनुसन्धान भइरहेको छ भन्ने जवाफ दिनुभयो । भोलिपल्ट बेलुकी ५ बजेतिर जिल्ला अदालत काठमाडौं लगियो, त्यहाँका न्यायाधीशहरुले पनि केही सोध्नुभएन, सिधै ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिनुभयो ।

त्यसपछि हामीलाई भ्यानमा राखियो, मैले मेरो फाइल देखाउनुहोस्, के गल्ती छ हेर्छु, मेरो शैक्षिक प्रमाणपत्र सक्कली नै हो भनेर अनुरोध गरेँ । फाइलमा भएको डकुमेन्ट हेर्दा मेरो नाम मिले पनि स्कुलको नाम, प्राप्तांक र अन्य कुराहरु मिलेको थिएन । मैले ती प्रमाणपत्र मेरो होइन भनेँ, तर उहाँहरुले थप अनुसन्धान गर्ने भन्नुभयो । मेरो शैक्षिक प्रमाणपत्र झिकाउँछु भन्दा उहाँहरुले तपाईंले दिएर हुँदैन, हामी आफैं सम्बन्धित निकायबाट मगाएर भेरिफाइ गर्छौं भन्नुभयो । अदालतबाट फेरि मालीगाउँकै हिरासतमा लगियो ।

शनिबार मैले नेपाल चिकित्सक संघ (एनएमए) का पदाधिकारीलाई सम्पर्क गरेँ । आफूलाई भएको अन्यायको विषयमा जानकारी गराएँ । उहाँहरु (सीआईबीको टोली) नेपाल मेडिकल काउन्सिल जानुभएछ । त्यहाँका पदाधिकारीले पनि मेरो शैक्षिक प्रमाणपत्र नक्कली नभएको बताउनुभएछ । चार दिन थुनामा राखेपछि मेरो शैक्षिक प्रमाणपत्र नक्कली नभएको भन्दै आइतबार राति १२ बजे रिहा गरियो ।

म थुनामा बस्दा प्रहरीले कुटपिट चाहिँ गरेन, तर अपराधीजस्तो व्यवहार गरियो, मानौं मैले कुनै मानिस मारेर आएको हुँ । हामी डाक्टरहरुलाई चोरी र अरु अपराध गरिएकाहरुसँगै राखियो । हचुवाको भरमा प्रकाउ गर्दा मलाई र परिवारलाई ठूलो मानसिक तनाव भएको छ । धेरै सञ्चारमाध्यममा नक्कली डाक्टर भनेर फोटोसहित प्रकाशित हुँदा जिन्दगी भरको दाग बसेको छ । मानिसहरुले मलाई हेर्ने दृष्टिकोण फरक भएको छ । अब मैले कति मानिसलाई मेरो शैक्षिकपत्र नकक्ली होइन भन्दै स्पष्टीकरण दिँदै हिँड्ने ?

समाज र आफन्तमा मेरो कुनै इज्जत रहेन । कति मानसिक तनाव लिएर बसेको छु मलाई मात्रै थाहा छ । अब म न्यायका लागि कानुनी लडाईं लड्छु । मलाई समर्थन गर्नुहुने चिकित्सक साथीहरुले नेपाल मेडिकल काउन्सिल अगाडि धर्ना दिनुभएको छ । यसमा मेडिकल काउन्सिल र सीआईबीको गैरजिम्मेवारी देखिएको छ । सीआईबी काउन्सिलका पदाधिकारीले राजीनामा दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?