
मानव सभ्यतामा फूलको निकै ठूलो महत्व छ । फूलले प्राकृतिक सुन्दरताका साथै मानव संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । प्रेम र कोमलताको प्रतीक मानिएको फूलले प्रकृति र मानवबीचको सम्बन्ध झल्काउँछ ।
हिन्दू संस्कारअन्तर्गत विभिन्न पूजाआजामा फूलको प्रयोग धेरै गरिन्छ । फूललाई सजावटका लागि पनि अत्यधिक प्रयोग गरिन्छ ।
फूल तथा फूलका गुच्छा विभिन्न कार्यक्रममा निकै प्रचलित छन् । फूलको गुच्छा प्रयोग गर्ने भए पनि यसलाई बनाउने शैली र कला धेरैलाई थाहा हुँदैन । पुष्पकला एउटा विशेष प्रकारको सिर्जना हो र यस कलाका लागि जापान निकै प्रख्यात मानिन्छ ।
प्रख्यात जापानी डिजाइनहरु
रिक्का
यो एक औपचारिक डिजाइन हो, जसको सुरुवात १७ औं शताब्दीमा जापानबाट भएको थियो । कुनै विशिष्ट ठाउँ वा केन्द्रमा राखिने यो डिजाइनमा मुख्य डाँठबाट धेरै थरीका फूलका हाँगाहरु बढ्दै गएजस्तो देखिन्छ ।
इकेबाना
सादगी, न्यूनतावाद, लालित्यको प्रतीक इकेबाना पनि औपचारिक डिजाइन नै हो । यसमा विशेषगरी फूल र रङभन्दा पनि डिजाइनको गहिराइ र त्यसको सन्तुलनलाई ध्यानमा राखिन्छ । यसमा हुने सबैभन्दा लामो रेखाले स्वर्ग, मध्यमले मानिस र छोटोले पृथ्वी जनाउँछ ।
नाजेइर
नाजेइर शब्दको नेपाली अनुवाद भित्र फाल्नु हुन्छ । तसर्थ यो सामान्य चिया घर वा घर सजाउन प्रयोग गरिने अनौपचारिक शैली हो । लामो फूलदानमा डाँठसहितको फूल र हाँगा मिलाएर राखिने गरिन्छ ।
मोरिबाना
यसको विशेषता संरचित रचना हो । पश्चिमी असर परेको हुनाले यो शैलीले प्रतीकवादभन्दा पनि प्राकृतिक सजावट दर्शाउँछ । सानो भाँडामा सावधानीपूर्वक छनोट गरिएका हाँगा, केही पातसहितका फूलहरु, साना मिलेका ढुंगाहरु र झ्याउको प्रयोग गरेर यो सुन्दर डिजाइन बनाइन्छ ।
यी चारलगायत अरु विभिन्न खालका पुष्प गुच्छाका डिजाइन प्रचलनमा छ । आफ्नो इच्छाअनुसारको गुच्छा बनाउने क्रममा केही कुरामा ध्यान दिएमा भने सजावट अझै आकर्षक बन्न सक्छ ।

१. लाइन
-फूल सजाउँदा फूलको हाँगा, पात, फूल सबैले एउटै क्रम देखाउँछ ।
-लाइनले नै डिजाइनको मुख्य आधार निर्माण गर्छ ।
-सजावट हेर्ने मानिसको रुचिको दृश्य बिन्दु हुन्छ ।
-त्यसैले सुरुमा राखिने हाँगा या फूल मुख्य हुनुपर्छ ।
२. फर्म
यो डिजाइन बनिसकेपछि आउने सामान्य रूपरेखा हो । पिरामिड, सोली, गोलो, बेलनाकार जस्ता आकारमा डिजाइन बनाउन सकिन्छ, जसमध्ये त्रिकोण फर्म सबैभन्दा लोकप्रिय मानिन्छ । किनकि यो मनमोहक हुनुका साथै बनाउन पनि सजिलो हुन्छ । अहिले नयाँ आएको खुला त्रिकोण डिजाइनले थोरै फूल प्रयोग गरी सुन्दर आकार बनाउन मिल्ने हुँदा यसको आकर्षण बढ्दो छ ।
३. फूललाई आवश्यक पर्ने ठाउँ, सजावटले बनाउने आकार भित्तासँग मिल्ने हुनुपर्छ ।
४. लामो फूलदानी प्रयोग गर्दा फूल भाँडाभन्दा उचाइमा हुनुपर्छ ।
५. फूलदानीमा सन्तुलन बनाउन वा सजावटलाई अझै आकर्षक बनाउन सबैभन्दा लामो फूल बुकीको फोकल बिन्दुबाट धेरै टाढा हुनु हुँदैन ।
फूलका गुच्छामा ध्यान पुर्याउनुपर्ने कुरा
-ठूलो फूललाई हाँगा सानो बनाएर बीचमा राख्नुपर्छ र कोपिला तथा साना फूल छेउछेउमा राख्दा राम्रो देखिन्छ ।
-धेरैजसो फूलको गुच्छामा गाढा रङ बीचमा राखिएको पाइन्छ भने हल्का रङका फूलहरु माथि वा बाहिरी किनारामा राखिएको पाइन्छ ।
-धेरै प्रकारका फूल प्रयोग गर्दा प्रत्येक गाढा रङको फूलको लागि तीन हलुका रङको फूल प्रयोग गर्न सकिन्छ । जस्तो, एक रातो गुलाबको लागि तीन सेतो गुलाब राख्न सकिन्छ ।
-जोरभन्दा बिजोर संख्यामा फूल राख्दा राम्रो हुन्छ ।
-फूलहरुले सजाएपछि तल्लो भागमा कोपिला वा कुनै राम्रो हाँगा प्रयोग गरी अन्तिम सजावट तयार गर्नुपर्छ ।
(रिजाल चितवनस्थित रामपुर कृषि क्याम्पसमा एमएसी एजी तहमा अध्ययनरत छिन् ।)
प्रतिक्रिया 4