
काठमाडौं । खडानन्द चौलागाईको कर्णालीका गाउँखाने कथा संग्रह ‘साइतर’ पुस्तक विमोचन भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मधुसुदन गिरी, जुम्लाको चन्दनाथ नगरपालिकाका मेयर राजुसिंह कठायतलगायतले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकको पहिलो खण्डमा गाउँखाने कथाको परिचय, पृष्ठभूमि, वर्गीकरणका साथै प्रयोगको बारेमा उल्लेख गरिएको छ । दोस्रो खण्डमा वर्णानुक्रमको आधारमा १००४ वटा गाउँखाने कथाहरु समावेश गरिएका छन् भने तेस्रो खण्डमा ‘मनन्योग्य’ कुराहरु समेटिएका छन् ।
विमोचन कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्राज्ञ मधुसुधन गिरीले कर्णालीको लोकजीवनमा गुन्जिरहेको साहित्यिक गाथालाई बङग्याउँदै केही साहित्यकारहरुले आफू अनुकुलको लाभको सुविधा ग्रहण गरिरहेको बताए ।
कर्णालीको नाम बेचेर आफूलाई फाइदा हुने काम गर्नुले कालन्तरमा विष भएर निस्कने उनको भनाइ छ । समयमै सबैले सचेत भएर साहित्यमा कलम चलाउन उनले आग्रहसमेत गरे ।
कार्यक्रममा पुस्तकका लेखक खडानन्द चौलागाईले गाउँखाने कथा कर्णालीमा मनोरञ्जन र बौद्धिक कुशलतामा सलबलाएको सामाजिक सांस्कृतिक प्रतिबिम्ब भएको बताए ।
नेपाली भाषाको जन्मकुण्डलीका रुपमा रहेको खस भाषालाई राज्यले उपेक्षा गरेको बताउँदै कर्णालीको साहित्यिक गाथालाई मलजल गर्न नसके त्यसमाथि पनि कुठाराघात हुने बताए ।
प्रतिक्रिया 4