
३१ साउन, विराटनगर । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक सुरेशकुमार भट्टराई गत साउन २३ गते मंगलबार व्यापारिक कामका लागि सिरहा जाने तयारीमा थिए । तर अचानक स्वास्थ्यमा खराबी आएपछि उनी जान सकेनन् । व्यापारीको माग अनुसारको कापी लिएर को १ च ९१७२ नम्बरको जिपमा २३ वर्षीय छोरा सिद्धान्त र ड्राइभर सागर राय विराटनगरबाट पश्चिम तर्फ लागे ।
सिद्धान्त पहिलो पटक मार्केटिङका लागि गएका थिए । साउन २३ गते सिरहाको माडरसम्म पुगेर विराटनगर फर्कनुपर्ने थियो । तर बजारको कामले माडर पुग्न ढिलो भएपछि सुरेशले नै सिरहाको मिर्चैयाका व्यापारीलाई भनेर सहदेव होटलमा बस्ने व्यवस्था मिलाइदिए ।
मिर्चैयाका व्यापारी मार्फत होटल खोजेर छोरालाई राखेपछि सुरेश पनि सुते । तर भोलिपल्ट विहान नहुँदै करिब ४ बजे उनको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । पहिलो कल उठाएनन् । दोस्रो कल उठाउँदा उताबाट भने, ‘तपाईको छोराको मृत्यु भयो, तुरुन्त मिर्चैया आउनू ।’
सुरुमा सुरेशले पत्याएनन्, फोन गर्ने व्यक्तिले म प्रहरी हो भनेपछि उनी छाँगाबाट खसेजस्तै भए । बेलुका होटल खोजेर राखेको छोराको मृत्यु कसरी भयो भन्ने प्रश्नले अझै सताइरहेको छ । प्रहरीले खबर गरेपछि उनी २–४ जना साथी लिएर मिर्चैया गए ।
सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकस्थित शम्भु होटलभित्र छोरा सिद्धान्तको शव शंकास्पद अवस्थामा देखे । अर्धनग्न अवस्थामा भेटिएको शवको पेटमा साइकलको चेनको जस्तो कोरिएका दुई वटा डाम थिए । टाउकोमा पनि सामान्य चोट थियो ।
होटल सञ्चालक र प्रहरीलाई सोधीखोजी गरे । होटल सञ्चालक शम्भु साहले नै दिएको जवाफ प्रहरीले आफन्तलाई दियो । ‘सहदेव होटलबाट आएर वियर खायो, अनि शौचालय गएको मान्छे फर्किएन, डेढ घण्टापछि हेर्दा मृत भेटियो भन्ने जवाफ होटल सञ्चालकले दिए’, उनले भने, ‘प्रहरीले पनि त्यसै भन्यो ।’ तर उनी प्रहरीको जवाफ मान्न तयार छैनन् ।

प्रहरीको भूमिका नै शंकास्पद रहेको बताउँदै उनले भने, ‘मेरो छोराको हत्या भएको हो, निष्पक्ष छानबिन गरी मलाई न्याय दिनुपर्छ ।’
सहदेव होटलमा बसेका सिद्धान्त र ड्राइभर रायले खानपिन गरेका थिए । त्यहाँबाट कसरी सम्भु हाेटल पुगे भन्ने नखुलेको बुबा सुरेशले बताए । प्रहरीका अनुसार सिद्धान्त राति १०ः४० बजे सहदेव होटलबाट बाहिर निस्किएको सिसी क्यामेरा फुटेजमा देखिन्छ ।
‘राति ११ बजे ड्राइभरसँग कुरा हुँदा म आइहाल्छु भनेको रहेछ, तर नआएपछि ड्राइभर खोज्न निस्कियो’, चालकसँग भएको कुराकानीका आधारमा सुरेशले भने, ‘शम्भु होटल सञ्चालकलाई यहाँ मान्छे आयो भनेर सोध्दा छैन भन्दै हप्कीदप्की गरेका रहेछन् ।’ राति करिब १ बजे होटल सञ्चालकले शव भेटेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
होटल सञ्चालक फरार
सिरहाका प्रहरी उपरीक्षक लिम्बुले शम्भु होटलका सञ्चालक शम्भु साह भागेको जानकारी दिए ।
उनका छोरा दीपेन्द्र र एक जना होटलका कर्मचारी प्रहरी नियन्त्रणमा रहेको उनले बताए । साहको खोजी भइरहेको बताउँदै उनले साह भाग्नुको कारण भट्टराईको मृत्यु प्रकरण नभई लागूऔषध कारोबार रहेको बताए ।
इलाका प्रहरी कार्यालय मिचैयाँका डीएसपी जितेन्द्र बस्नेतका अनुसार मृत्यु प्रकरणको अनुसन्धानका क्रममा होटलमा लागुऔषध कारोबार हुने विषय बाहिर आएपछि प्रहरीले छापा मारेको थियो ।
स्थानीय एक अगुवाका अनुसार विगतमा पनि सो होटलबाट लागूऔषध कारोबार हुन्थ्यो । प्रहरीलाई सूचना दिँदा पनि प्रहरीले चासो नदिएको उनको दाबी छ । सिद्धान्तको मृत्युपछि भने प्रहरीले साहको लागूऔषध कारोबारको विषयमा चासो देखाएको थियो ।
उनको होटलमा छापा मारेर केही लागूऔषध बरामद भएपछि सञ्चालक साह भागेको उनले जानकारी दिए । ‘लागूऔषध थोरै फेला परेको छ, त्यही लागूऔषध फेला परेपछि शम्भु साह भागेका हुन्’, एसपी लिम्बुले भने । मृतकको आफन्तसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको उनले बताए ।
प्रतिक्रिया 4