+

३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

२०८० साउन  ३२ गते १३:५० २०८० साउन ३२ गते १३:५०
३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

काठमाडौं । आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३० वर्षमाथि नै  पुग्छ । यस्तो अवस्थामा महिलाहरु आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन्छन् ।

अझ ३५ वर्षको उमेरमा वा वरपर आमा बन्ने सोच राखेकाहरुमा स्वास्थ्य जटिलता बढी देखिन सक्छ । यस्तो अवस्थामा  स्वास्थ्य अवस्था, खानपानदेखि धेरै पक्षमा ध्यान दिनुपर्ने हुन्छ ।

३५ वर्षपछि सन्तान जन्माउनु कठिन हुन्छ ?

हरेक महिला निश्चित संख्यामा अण्डा लिएर जन्मिन्छन् । उमेर बढ्दै जाँदा अण्डाको क्षमता स्वतः घट्न थाल्छ । ३० वर्षसम्म उच्च दरमा अण्डा उत्पादन हुन्छ । त्यसपछि अण्डा निस्कने संख्यामा मात्र होइन, गुणस्तरमा पनि कम हुँदै जान्छ । यसले प्रजनन् क्षमतामा पनि ह्रास आउन थाल्छ ।

तर यसो भन्दैमा सन्तान जन्माउनै नसक्ने भन्ने होइन, महिनावारी नसुक्ने समयसम्म महिलामा गर्भ रहन सक्छ । तर यसबेला सम्भावना न्यून चाहिं हुन्छ । बचेको अण्डाबाट गर्भवती हुन समस्या हुने, सन्तान जन्मिए पनि कम तौल, मितिअघि नै व्यथा लाग्ने, शिशुमा डाउन सिन्ड्रोम हुने जस्ता समस्या देखिन सक्छ । यस्तोमा स्वस्थ सन्तान जन्माउन पूर्वतयारीको लागि विभिन्न स्वास्थ्य जाँच गर्नुपर्छ ।

के कस्ता स्वास्थ्य जाँच गर्ने ?

सन्तानको योजना बनाउनुपूर्व चिकित्सकलाई भेट्ने

सन्तानको योजनापूर्व चिकित्सकसँग परामर्श लिएमा आउन सक्ने जटिलता रोकथाम केही हदसम्म गर्न सकिन्छ । चिकित्सकले स्वास्थ्य अवस्थाबारे बुझेर के गर्न सकिन्छ भनेर सल्लाह दिन्छन् । यसलाई प्रि-कन्सेप्सन काउन्सलिङ पनि भनिन्छ । यसमा उमेर, महिनावारी चक्र, दीर्घरोग, परिवार नियोजनका साधन प्रयोग, वंशाणुगत रोगबारे बुझिन्छ ।

पहिला पनि प्रयास गर्दा सन्तान नजन्मिका दम्पतीलाई आईभीएएफ प्रक्रिया अपनाउन सल्लाह दिइन्छ । यद्यपि, कुनै समस्या नदेखिए प्राकृतिक तरिकाबाट एक वर्ष कुर्न लगाइन्छ । ३५ वर्ष कटेपछि मात्र होइन सन्तानको योजना बनाउनुअघि चिकित्सकसँग सल्लाह लिनु अनिवार्य छ ।

अण्डाको स्थिति र हार्मोनल जाँच

अण्डाको स्थिति र हार्मोनल स्थिति जाँच गराउनुपर्छ । किनभने उमेर बढ्दै गएपछि अण्डाको गुणस्तर कम हुँदै जाँदा यसको संख्या पनि घट्दै जान्छ । चिकित्सकले अण्डाको गुणस्तर र संख्या बढाउने औषधि दिन सक्छन् । गर्भ बस्न समस्या भएका महिलाको पाठेघरको बनावटमा परिवर्तन भएको छ वा त्यसमा ट्युमर पलाएको छ वा छैन त्यो पनि हेरिन्छ । कहिलेकाहीं ट्युमरले गर्दा पनि गर्भ रहन समस्या हुन सक्छ ।

अण्डा, हार्मोन, पाठेघरको अवस्था ठीक छ भने प्राकृतिक तरिकाबाट सन्तान जन्माउन सकिन्छ । यसमा केही त्रुटि आएमा आईभीएफ विकल्प बन्न सक्छ ।

मधुमेह र उच्च रक्तचाप

गर्भधारण गर्नुभन्दा अगाडि नै महिलाले मधुमेह र उच्च रक्तचाप छ कि भनेर जाँच गर्ने गर्नुपर्छ । उमेर बढ्दै गएपछि स्वत: दीर्घरोग थायराइड, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्ने सम्भावना हुन्छ । किनकि यी दुई दीर्घरोगको स्तर बढेमा यस्तोमा गर्भ रहन र रहे पनि शिशुलाई जोखिम हुन सक्छ । स्तरको असन्तुलन देखिएमा औषधिले नियन्त्रण गर्न लगाएर मात्र योजना बनाउनु उचित हुन्छ ।

थाइराइड परीक्षण

कतिपय महिला सुरुमा गर्भवती भइसकेपछि मात्रै आफूलाई थाइराइड देखिएको भन्दै उपचारका लागि जान्छन्  । तर सन्तान जन्माउनुपूर्व थाइराइड जाँच गराए यसबाट निम्तिने जटिलता कम हुन सक्छ । किनभने  बच्चाको मस्तिष्कको विकासमा आमाको थाइराइडको महत्वपूर्ण भूमिका हुन्छ । सामान्य अवस्थामा भन्दा कम थाइराइड उत्पादन भएका महिलाहरुको बालबालिकामा मस्तिष्कको पर्याप्त विकास नहुन सक्छ । त्यसैले गर्भवती हुनुअघि नै समस्या देखिएमा औषधि दिएर उनीहरुलाई सामान्य अवस्थामा ल्याउने कोसिस गरिन्छ । त्यसपछि मात्रै गर्भवती बन्न सल्लाह दिइन्छ ।

त्यसबाहेक मूत्र परीक्षण, शरीरको बीएमआई, रगत परीक्षण, भिटामिन बी, हेमोग्लोबिन काउन्ट, रक्तअल्पता, आरएच फ्याक्टर, रुबेला, क्षयरोग लगायतको जाँच आवश्यक छ ।

पुरुषको पनि स्वास्थ्य परीक्षण  

आजभोलि वैदेशिक रोजगारमा जानेहरुको उच्च तापक्रममा काम गर्ने आधुनिक खानपान, मदिरा, सुर्तीजन्य पदार्थको सेवन, विलासी जीवनशैलीले वीर्यको गुणस्तरमा ह्रास आइरहेको छ । त्यसैले पुरुषको कारण पनि कहिलेकाहीं गर्भ रहनमा समस्या आउन सक्छ । त्यसैले दम्पतीले नै योजनापूर्व बराबर स्वास्थ्य जाँच गर्न आवश्यक छ ।

जीवनशैलीमा सुधार

स्वास्थ्य परीक्षणसँगै दम्पतीले जीवनशैलीमा सुधार गर्न पनि आवश्यक छ । गर्भावस्थामा धेरै क्याफिन सेवन गर्नु राम्रो मानिंदैन । कहिलेकाहीं यसको अत्यधिक सेवनले गर्भपातको सम्भावना पनि बढाउँछ । ३५ वर्षपछि गर्भावस्था पहिले नै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा क्याफिनबाट टाढा रहनु राम्रो हुन्छ ।

अत्यधिक तौलले उच्च रक्तचाप, मधुमेहजस्ता समस्या आउनुका साथै समयपूर्व सुत्केरी हुने जोखिम पनि बढाउँछ । तौल नियन्त्रण गर्न दैनिक केही समय हिंड्नुपर्छ । हल्का स्ट्रेचिङ वा त्यस्ता हलका व्यायाम गर्न । तर विज्ञको सल्लाहबिना कुनै पनि व्यायाम गर्नु उचित हुँदैन ।

योग र ध्यानले मानसिक शान्ति दिनुका साथै सन्तुलित आहारका लागि प्रोटिन, भिटामिनयुक्त खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ । त्यस्तै रक्सी र चुरोट पिउने बानी भए छोड्नुपर्छ ।

(स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. सुवेदी नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

गर्भधारण डा. कृतिपाल सुवेदी स्वास्थ्य जाँच
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?