
घर वा कोठा सजाउनका लागि अहिले इन्डोर प्लान्ट लगाउने चलन निकै बढेको छ । इन्डोर प्लान्ट भन्नाले घरभित्र सजाइने बिरुवा हो, यो माटो र पानी रोप्ने दुई थरीको हुन्छ । यसको बनावट र आकारप्रकार पनि फरक-फरक हुन्छ । कुनै लहरो फैलिने खालको हुन्छ भने कुनै टेबुलमा मात्र सजाउन सकिने खालको हुन्छ । टेबुलमा कस्तो कस्तो प्लान्ट सजाउन सकिन्छ त ?
लक्की बेम्बो
लक्की बेम्बो स–साना टेबलमा सजाउनका लागि उपयुक्त हुन्छ । यो प्लान्टलाई पानीमा राख्नुपर्छ । यसको पानी हप्ता दिनमा परिवर्तन गर्नुपर्छ । प्राय: अफिस र घरको टेबुलमा यसलाई सजाउनु राम्रो हुन्छ । यसको मूल्य साइजअनुसार फरक हुन्छ । सामान्यतया ५०० रुपैयाँमा लक्की बेम्बो पाउन सकिन्छ ।
स्नेक प्लान्ट
स्नेक प्लान्ट उपयोगी सदाबहार इन्डोर बिरुवा हो । यसलाई हुर्काउन पनि सजिलो छ । यो प्लान्ट कुनै ५-६ फिट अग्लो हुन्छ भने कुनै २-३ फिटसम्मको पनि हुन्छ । सानो आकारको स्नेक प्लान्टलाई टेबुलमा चिटिक्क पारेर सजाउन सकिन्छ । यसलाई बेलाबखत लिक्विड फर्टिलाइजर र कम्पोस्ट मल लगाउनुपर्छ ।
जाडे प्लान्ट
जाडे प्लान्ट एक लोकप्रिय इन्डोर बिरुवा हो । यसमा हरियो पात बाक्लो रुपमा हुन्छ । काठको डाँठबाट हरियो पात पलाउने यो प्लान्टको हेरचाह गर्न निकै सजिलो छ । बढ्दै गएपछि यो सानो रुख जस्तै देखिन्छ । यसमा हरियो चम्किला पातले ढाकिएको हुन्छ । यसको मूल्य २५० रुपैयाँ पर्छ ।
मुन क्याकटस
टेबुलमा सजाउन सकिने अर्को प्लान्ट हो मुन क्याकटस । सिउँडी र क्याकटस प्रजातिको यो प्लान्टले झट्ट आगन्तुकको ध्यान तान्छ । यसको टुप्पोमा बोटभन्दा ठूलो गोलाकार फूल फूल्छ भने यो रातो, पहेंलो, गुलाबी रंगको हुन्छ । स–साना पटमा पनि यसलाई सजाउन सकिन्छ ।
बोन्साई फाइकस
बोन्साई गरिएको यो प्लान्ट कोठाको स–साना ठाउँमा सजाउन सकिन्छ । फैलिएको हाँगा र जराले यो सानो स्वरुपको रुख आकर्षक देखिन्छ । यसको हाँगाबिगाभन्दा पनि जरामा डिजाइन निकाल्न सकिन्छ । यसको मुख्य आकर्षण जरा नै हो ।
लिथोप्स प्लान्ट
ढुंगा जस्तै देखिने भएकाले यसलाई लिभिङ स्टोन अर्थात् जिउँदो ढुंगा पनि भनिन्छ । यसमा दुईवटा ढुंगा जस्तो डाँठको बीचबाट फूल फुल्छ ।
इचेवेरिया
इचेवेरिया प्रजातिको इन्डोर बुट्याउन हो । यो स–साना पटमा सजाउन सकिन्छ । यसमा पातबाट चारैतिर मिलेर गुलाबको फूल जस्तो देखिन्छ । यसको सय भन्दा बढी प्रजातिहरु छन् । यो पातहरुको गुलाब बाक्लो चाँदी हरियो रंगमा १५ सेन्टिमिटर उचाइमा पुग्छ । यो सदाबहार प्लान्टलाई धेरै पानी हालिरहनु पनि पर्दैन । १–२ हप्तामा तीन पटकसम्म पानी हाले पुग्छ । पूरै पानी सुकेपछि मात्र फेरि पानी हाल्नुपर्छ । गुलाबको फूल जस्तै हुन्छ ।
पेपेरोमा अग्यारिया
यसको पात अण्डाकार र हरियो खर्बुजाको जस्तै आकारको हुन्छ । यो घुमाउरो अनि अलि फैलिने खालको हुन्छ । यसमा गर्मीयाममा स-साना हरियो फूल फुल्ने गर्छ । यसलाई प्रकाशमा राख्नुपर्छ तर घाममा प्रत्यक्ष राख्नु हुँदैन । बिरुवाको बजार मूल्य ३०० रुपैयाँबाट सुरु हुन्छ ।
पिस लिली
पिस लिली अर्थात् स्पाथिफिलम घरभित्र रोप्न मिल्ने इन्डोर फूल हो । यसलाई घरबाहिर पनि रोप्ने गरिन्छ । यसलाई घरभित्र राख्दा कोठाको वायु शुद्धीकरण पनि गर्छ । गर्मी महिनामा यसलाई ३–४ दिनमा एकपटक र जाडोयाममा १०–१२ दिनको एकपटक पानी हाल्नुपर्छ । पिस लिली प्लान्ट हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले घर वा कार्यालयमा सजाउन उपयुक्त हुन्छ ।
एग्लोनिमा
एग्लोनिमा प्लान्टको पातमा दुईभन्दा बढी रंग मिसिएको हुन्छ । प्राय: सेतो र गुलाबी हुने यो प्लान्टलाई सानो पटमा रोप्न सकिन्छ ।
(कर्माचार्य भक्तपुर बाराहीस्थानस्थित फ्लावर नेपालका सञ्चालक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4