
३२ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश समितिले प्रदेश नामकरणमा प्रदेशसभामा मतदान गर्नु कमजोरी भएको स्वीकार गरेको छ ।
उसले त्यतिबेला पार्टी र प्रदेशसभा संसदीय दलले कमजोरी गरेको भन्दै अब प्रदेशको नाम बहुपहिचानका आधारमा राख्न प्रतिवद्ध रहेको बताएको छ ।
बिहीबार बसेको माओवादीको प्रदेश समिति बैठकले बहुपहिचानको आधारमा राख्न प्रतिवद्ध रहने निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
१७ फागुन २०७९ मा प्रदेशसभाले तत्कालिन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले कोशी नामको पक्षमा सहमति जनाएको थियो । तर पहिचान पक्षधरले कोशी नाकरणको विरोधमा आन्दोलन चर्काएपछि माओवादीले नाममा समर्थन जनाउनु गल्ती भएको स्वीकार गरेको हो ।
पार्टी संगठनलाई थप सुदृढ गर्न १६ भदौदेखि ३ महिने अभियान सुरु गर्ने पनि नेम्वाङले बताए । प्रदेशका ११५७ वटै वडामा एकैसाथ अभियान उद्घाटन गर्ने गरी कार्यविभाजन गरिएको पनि नेम्वाङले जानकारी दिए ।
माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको गरेको क्षतिप्रति दुख व्यक्त गर्दै पीडितलाई राहत र पुनर्स्थापनाका लागि सरकारसँग माग गरेको छ ।
माओवादी केन्द्रले प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेंगु रोगको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेको छ । पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण हुने क्षति रोक्न र प्रभावित किसालाई क्षतिपूर्ति दिन पनि माओवादी केन्द्रले माग गरेको छ ।
प्रतिक्रिया 4