
१ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी छन् ।
आफूले ३ गते प्रस्ताव गरे पनि उपसभामुखले ४ गतेका लागि समय दिएको मुख्यमन्त्री थापाले बताए ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ ।
सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले जानकारी दिएका थिए । ‘मैले ३ गतेका लागि सूचना दिएको थिएँ’ उनले भने, ‘सभामुखलाई समय तोक्ने अधिकार छ, उहाँले४ गतेका लागि तोक्नु भयो ।’
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।
प्रतिक्रिया 4