
१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् ।
फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्को आक्रोश पोखेका छन् ।
एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा विद्या भण्डारीको संभावित राजनीतिलाई लिएर ओली आक्रोशित नै बनेका थिए ।
‘त्यो विषय बैठकको एजेण्डा थिएन, अध्यक्षले आफैं कुरा उठाउनुभयो र कुरा राख्नुभयो’, ती पदाधिकारी भन्छन् ।
बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाले अनलाइनखबरलाई दिएको अन्तर्वार्ताको प्रसंग निकालेका थिए । विद्या भण्डारी एमालेको नेतृत्वमा पुग्दा नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि हुने र पार्टी पंक्ति एकताबद्ध बन्ने निष्कर्ष सहितको थापाको अन्तर्वार्ता २३ साउनमा प्रकाशित भएको थियो ।
त्यही अन्तर्वार्तालाई लिएर थापामाथि कारबाही गरिनुपर्ने ओलीले बताए । ‘त्यस्तो पनि अन्तर्वार्ता ? त्यो त कारबाहीको विषय बन्नुपर्छ’ ओलीको भनाइ उद्धृत गर्दै अर्का पदाधिकारी भन्छन् ।
उनका अनुसार, राष्ट्रपति भइसकेकी भण्डारीले राजनीतिमा आउने रहरै गर्न नहुने ओलीले बताएका थिए । ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ । फेरि राजनीतिमा आउनु राम्रो होइन । कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न’, ओलीको भनाइ थियो ।
बैठकमा ओलीले कर्ण थापाले मात्रै नभएर अरुले पनि भण्डारीलाई राजनीतिमा ल्याउने प्रयास गर्नु कारबाही योग्य विषय हुने चेतावनी समेत दिए । ‘अरु व्यक्ति पनि निवर्तमान राष्ट्रपति राजनीतिमा आउनुपर्छ भनिरहेको सुनिन्छ, अहिलेको आवश्यकता त्यो होइन’, ओलीले निष्कर्ष सुनाएका थिए ।
बैठकमा सहभागी कोही पनि पदाधिकारीले भने यसबारे कुनै प्रतिक्रिया जनाएनन् । ‘हामीले सुन्यौं मात्रै । कसैले केही नभनेपछि कर्ण थापाबारे पनि केही निर्णय भएन’, ती पदाधिकारी भन्छन् ।
तर त्यही दिनको बैठकबाट अर्को अर्थपूर्ण निर्णय भयो, जुन निर्णयले एमाले कार्यक्रमहरुमा अध्यक्ष केपी ओली बाहेक अरु जीवित नेताको तस्वीर वर्जित गर्नेछ । ‘अध्यक्षको तस्वीर पनि अनिवार्य होइन, तर अरु जीवित नेताहरुको नराख्ने भन्ने हो’ ती नेता भन्छन् ।
एमालेकै कतिपय नेता चाहिं तस्वीरबारे भएको निर्णय पार्टीभित्र ओलीलाई निर्विकल्प देखाउने प्रयत्न हुन सक्ने बताउँछन् । ‘एघारौं महाधिवेशनलाई हेरेर यस्तो निर्णय भएको जस्तो लाग्छ, नत्र ओलीको राख्न सकिने किन भन्नुपर्यो ?’ एक पोलिटब्यूरो सदस्य भन्छन्, ‘कोही पनि जीवित नेताको तस्वीर नराख्ने भने पनि त हुन्थ्यो !’
ओलीले देखेको चुनौती !
एमाले उच्च स्रोतका अनुसार, सचिवालय बैठकमा कर्ण थापाको नाम लिएर आक्रोश पोखे पनि विद्या भण्डारीसँग ओली केही समय पहिलेबाटै सशंकित छन् । राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर शीतलनिवासबाट बिदा हुँदै गर्दा भण्डारीले सरकारी सेवासुविधा नलिने घोषणा गरिन् ।
‘सरकारले दिएको गाडी २९ फागुन नै फिर्ता गरेको हो । घर भाडा लिएका छैनौं’ भण्डारीका स्वकीय सचिव राजकुमार राई भन्छन् । यस्तो निर्णयबाट ओली सशंकित हुनु स्वाभाविक देखिन्छ । किनकि राजनीतिमा आउनसक्ने भण्डारीको यो बलियो संकेत थियो ।
नभन्दै निवासबाटै एमाले नेता तथा कार्यकर्तासँग भण्डारी निरन्तर संवादमा छन् । भण्डारीसँग भइरहेको भेटवार्ताबारे २८ साउनमा अध्यक्ष ओलीले पत्रकारहरुको प्रश्न नै सामना गर्नुपर्यो । ओलीको जवाफ थियो, ‘भेट्नु ठूलो कुरा होइन, तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न ।’
एक नेताको भनाइमा, पार्टीभित्र एउटै गुटमा लामो समय रहेका भण्डारीसँग ओली सशंकित हुने वातावरण भने १४ असारपछि बन्यो । त्यसदिन एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औं जन्मजयन्ती थियो । मदनलाई सम्झन मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीलाई प्रमुख अथिति र ओलीलाई विशेष अतिथि बनाइयो ।
‘सप्ताहव्यापी कार्यक्रम भनेपछि अलग–अलग बोलाउन सकिन्थ्यो । तर एकैपटक बोलाएर पदबाट हटिसकेको व्यक्तिभन्दा अध्यक्षलाई पछि राख्नु ठीक थिएन’, ओली निकट ती नेता भन्छन् । यस्तो परिस्थिति जानीबुझी तयार पारिएको उनको तर्क छ ।
त्यो कार्यक्रममा विद्याले बोल्नु अगाडि नै ओली आफ्नो कुरा राखेर बाहिरिए । ‘मदन भण्डारीसँग जोडिएकाले त्यहाँ नजाँदा गलत सन्देश जान्थ्यो, त्यसैले मात्रै जानुभयो’ ती नेता भन्छन् ।
विद्या भण्डारी राजनीतिमा सक्रिय हुनसक्ने संभावित कदमबारे पार्टी पंक्तिलाई भने ओलीले त्यसअघि नै सचेत गराएको देखिन्छ । जस्तो– १४ वैशाखमा इलाम पुगेर ओलीले मदन भण्डारी फाउण्डेसनको आफू संस्थापक भएको बताए । त्यस दिन ओलीले भनेका थिए, ‘मदन भण्डारी फाउण्डेसन अत्यन्तै प्रतिकूल अवस्थामा मैले खोलेको, मदन भण्डारी फाउण्डेसनको अहिले पनि संरक्षक म हो ।’
मदन भण्डारी फाउण्डेसनको नाममा विद्याको सक्रियता बढेको देखेका ओलीले त्यस्तो बोल्नुको संकेत बुझ्न गाह्रो पर्दैन । किनकि त्यहाँ त्यसदिन ओलीले फाउण्डेसनबारे बोल्नुपर्ने बलियो सन्दर्भ केही थिएन ।
तर विद्या भण्डारीले फाउण्डेसनको फोरममा गतिविधि रोकेनन् । मदनको जन्मजयन्तीको अवसरमा एमालेको ११ जनसंगठनका पदाधिकारीसँग छलफल गरे । विशेषगरी अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अनेम संघ, खेलकुद महासंघ जस्ता धेरै जनपरिचालन हुने जनसंगठन निवर्तमान राष्ट्रपति भण्डारीको प्राथमिकतामा थियो ।
अहिले उनै भण्डारीलाई आगामी महाधिवेशनबाट एमालेको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक मत सुनिन थालेपछि ओली कारबाहीको चेतावनी दिने अवस्थामा पुगेको देखिन्छ । ‘केपी ओलीलाई एमाले एक्लै बनाएको भन्ने लागेको हुनसक्छ । तर सामूहिक योगदानबाट पार्टी बन्छ भन्ने बुझ्न आवश्यक छ’ भण्डारी निकट एक नेता भन्छन् ।
एमालेको कतिपय निर्णय हेर्दा भने ओली तेस्रोपटक पनि अध्यक्ष बन्ने चाहनामा देखिन्छन् । पार्टी विधानको ७० वर्षे उमेर हद कायम नराख्ने निर्णय त्यसको बलियो उदाहरण हो । किनकि दशौं महाधिवेशनमै ‘७० वर्ष पार नगरेको’ भनेर उमेर हदबारे व्याख्या गराउँदै अध्यक्ष दोहोरिएका ओली विधानतः फेरि नेतृत्वमा आउन पाउँदैनन् ।
त्यस्तो अवस्थामा विद्या भण्डारी अथवा अरु कुनै नेताले अध्यक्षको तयारी गर्नु अनौठो होइन । तर अरु नेतालाई विद्या भण्डारीबारे बोल्ने नेताहरुलाई कारबाहीको चेतावनी दिएर ओलीले निर्विकल्प रहेको सन्देश दिन चाहेको देखिन्छ ।
प्रतिक्रिया 4