
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेसका नेता प्रदीप गिरिको स्मृति दिवसको कार्यक्रममा उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकता नेतृत्व वर्गमा देखिएको बताए ।
‘स्थानीय तह, प्रदेशलाई अधिकार दिइएको छ भनेपनि सीडिओ र एसपीलाई अधिकार दिइएको छ भनेपनि सचिव र आईजीपीले अथवा गृहमन्त्री वा प्रधानमन्त्रीले त्यो अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट अहिले पनि हामी निर्देशित छौं’ उनले भने ।
नेता निधिले अवशिष्ट अधिकार तल्लो तहमै राख्न पहल गर्दा कांग्रेसकै नेताहरु पनि नमानेको बताए ।
‘अवशिष्ट अधिकार भनेको त, सार्वभौम सत्ता जसमा निहित हुन्छ, त्यो निहित अधिकारको तह जनतामा हुन्छ । त्यसैले तल्लो निकायमा हुनुपर्छ भनेर लेख्नुपर्छ भन्ने उहाँ (प्रदीप गिरि), म पनि । तर संविधानमा लेख्न नेपाली कांग्रेसका कुनै पनि नेताले मानेनन्’ उनले भने, ‘किनभने आफूमा राख्न चाहन्छन् नि सबै अधिकार त । लेखिएको अधिकारको प्रयोग केन्द्रीय तहबाट हुनुपर्छ भन्ने अहिले पनि छ ।’
नेता निधिले गिरिको व्यक्तित्व बहुप्रतिभाशाली रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिकर्मीका लागि प्रेरणादायी भएको बताए ।
प्रतिक्रिया 4