
३ भदौ, प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले गुणस्तरीय सेवामा जोड दिनु पर्ने बताएकी छिन् । प्युठानको माण्डवी गाउँपालिका–३ जसपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिएकी हुन् ।
आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिंदै उनले भनिन्, ‘मैले मन्त्री भएपछिको पहिलो निर्णय नै टेलिफोन सेवा सुधारमा केन्द्रित हुने गरेको थिएँ, ६ महिनाको अवधिमा निरन्तर टेलिकमका अधिकारसँग छलफल गर्नेदेखि सेवाग्राहीकै बीचमा पुगेर अन्तरक्रिया गर्नेसम्मको काम भएको छ ।’
उनले गाउँ शहर सबैतिर सेवा बिस्तारमा ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्दै जतिसक्यो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने बताइन् ।
सेवा विस्तार र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्दै उनले भनिन्, ‘यो वर्षदेखि टेलिकमले उपभोक्ताको गुनासो सुनुवाइलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । सेवा प्रवाहमा समस्या आउँदा तत्काल गुनासोको सुनुवाइ गर्दा सेवाग्राहीले सेवा प्राप्त गरेको महसुस गर्नेछन् ।’
सरकारले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन आवश्यकता पूर्वाधारहरू थप गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाएको जानकारी दिंदै उनले सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न आफूहरु लागिरहेको बताइन् ।
सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ब्रोड ब्याण्ड इन्टरनेट सेवा सबै स्थानीय तहका केन्द्रमा पुगेको जानकारी दिंदै उनले अब सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिइएको पनि जानकारी दिइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणमार्फत चालु आर्थिक वर्षमा ब्रोडब्याण्ड इन्टरनेट सबै सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा विस्तार गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिइन् । टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट थप पहल गर्ने जानकारी दिंदै मन्त्री शर्माले एफटीटीएच क्षमतालाई आधार मानेर यो वर्ष तीन लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिइन् ।
कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले स्रचार सेवा जनताको अधिकार भएको बताउँदै टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका अधिकारीहरुसँग आग्रह गरे ।
नेपाल टेलिकमले प्युठानको माण्डवी गाउँपालिकामा उच्च क्षमताको ब्रोडव्यान्ड ‘फाइबर टु दी होम’ (एफटीटीएच) सेवा सुरु गरेको छ । यसअघि प्युठानको खलंगा, बिजुवार र भिङ्ग्रीमा एफटीटीएच सेवा विस्तार भइसकेको छ ।
प्रतिक्रिया 4