
३ भदौ, चितवन । भानु बोखिमको उपन्यास गोधूलि गीतबारे चितवनमा अन्तर्क्रिया गरिएको छ ।
दश वर्ष लामो माओवादी युद्ध र त्यसको प्रभावको विषय समेटिएको यो उपन्यासका बारेमा भएको अन्तर्क्रियामा समिक्षक
प्रभा मरहट्ठाले गोधूलि गीत जनयुद्धको दस्तावेज भएको बताउँदै युद्धमा लडेकाहरूले परिवर्तनको सपना देखेको बताइन् ।
तर परिवर्तनको अपेक्षा अनुरुप वर्तमान समय नआएको विषयालई पनि उपन्यासले समेटेको बताइन् ।
समिक्षण अविरलले ताप्लेजुङमा जन्मिएका बोखिमले रोल्पाको कथा लेख्नु भनेको जनयुद्ध आँट्नु जत्तिकै साहसी काम भएको बताए ।
`युद्ध भोगेर या प्रत्यक्ष सामेल भएर लेखिएको भन्दा पनि रोल्पा जाँदा संगालेका अनुभवको आधारमा बोखिमले यो उपन्यास लेखेका हुन्´, यात्रीले भने । रेडियो नाटकमा कलम चलाएका उपन्यासकारले यो उपन्यास पनि नाटकीय शैलीमै लेखेको उनले दावी गरे ।
गोधूलि गीत किन पढ्ने भन्ने प्रश्नमा उनले युद्धलाई तटस्थ तरिकाले हेर्नको लागि उपन्यास पढ्नु बर्ने बताए । उनले युद्धरत पक्षलाई उपन्यासले राम्रो नराम्रो नभएर दुवैलाई समान दूरीमा बसेर नियालेको भन्दै लेखको प्रशंसा गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै टिप्पणीकार उदय अधिकारीले सशस्त्र युद्धलाई आधार मानेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएको चर्चा गर्दै गोधूलि गीतले पनि त्यहि युद्धलाई फरक ढंगले प्रस्तुत गरेको बताए । `कतिपय उपन्यास लडाकु आफैंले लेखेका भए पनि बोखिमले देश भ्रमणका क्रममा सुनेका र देखेका कुरालाई आधार बनाएर उपन्यासमा उतारेका छन्´, अधिकारीले भने ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । पुस्तकलाई कलम प्रकाशनले प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4