+
+

धरौटीमा छुटेका बलात्कार मुद्दाका अभियुक्त लागूऔषध कारोबारमा फेरि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १९:१८

३ भदौ, पोखरा । पोहोर भदौमा पोखरामा एउटा खबर सनसनी रुपमा फैलियो, ‘पोखरा लेकसाइडबाट लिफ्ट दिने बहानामा माछापुच्छ्रे गाउँपालिका, घाचोकको एक बंगुर फर्ममा लगेर ९ जनाद्वारा सामूहिक बलात्कार ।’

पोहोर भदौ १४ गते २६ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने मुख्य आरोपी टोलीमध्ये अमृतज्यू ठकुरी पनि एक थिए । प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा पेश गर्‍यो । अदालतको आदेश अनुसार उनी धरौटीमा रिहा भए । धरौटीमा रिहा भउको ३ महिनामा फेरि शनिबार ठूलो मात्रामा लागूऔषधसहित उनी पक्राउ परेका छन् ।

‘ऊ पहिले पनि जबरजस्ती करणी केसमा तत्कालै पुर्पक्षका लागि थुनामा पुगेको व्यक्ति हो । धरौटीमा रिहा भएको केही समयमै फेरि लागूऔषध ओसारपसार आरोपमा पक्राउ परेको हो,’ प्रहरी स्रोतले भन्यो ।

३२ वर्षीय ठकुरीलाई पोखरा ८, न्युरोडमा ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडीबाट लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ठकुरी र आशिक पौडेल चढेको उक्त गाडी र झोला खानतलासी गर्दा सुरुमा बुप्रिनर्फिन २० एम्पुल, फेनेरागन २० एम्पुल, डाइजेपाम २० एम्पुल र नाइट्रोभ्याट ट्याब्लेट ५ चक्कीमात्रै फेला परेको थियो । पछि ठकुरी बस्ने फार्ममा खानतलासी गर्दा झन्डै १० लाख रुपैयाँ बराबरको लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।

‘पछि निजहरुलाई साथमा लिई अमृतज्यू ठकुरीले घाचोकमा सञ्चालन गरेको असना कृषि तथा पशुपंक्षी फार्ममा रहेको निज बस्ने गरेको कोठा खानतलासी लिँदा कोठाभित्र झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा बुप्रिनर्फिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल, डाइजेपाम ३६३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०० चक्की फेला प¥यो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण विकले भने ।

प्रहरीले उनीहरुको साथबाट लागूऔषधसहित २ थान मोबाइल सेट र ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडीसमेत नियन्त्रणमा लिएको छ ।

५ किलो अफिमसहित ३ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार नै ५ किलोभन्दा बढी अफिमजस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ५ किलो ७ सय ग्रामसहित पूवी रुकुम पुथाउत्तर गंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, वडा नं. १ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन छन् ।

अवैध रुपमा बेचबिखनका लागि रुकुमबाट लागूऔषध अफिम पोखरा ल्याइएको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

अफिमजस्तो देखिने वस्तु बेचविखनका लागि गएको अवस्थामा सुरुमा दिपेश पुनलाई पोखरा २५ हेम्जाबाट नियन्त्रणमा लिइएको विकले जानकारी दिए । ‘सोही लागू औषध खरिद बिक्रीको कारोबारमा संलग्न तेजेन्द्र बहादुर पुन र विराज पुनलाई समेत राति नै पोखरा ५, ५ लेकसाइडबाट पक्राउ गरिएको हो,’ उनले भने ।

शनिबारमात्रै प्रहरीले २ फरक मुद्दामा झन्डै २५ लाख रुपैयाँ बराबरको लागूऔषध नियन्त्रणमा लिएको हो । ‘अफिम हामीले करिब ४ वर्षपछि नियन्त्रणमा लिन सक्यौं । बीचमा शून्यजस्तै भइसकेको थियो,’ डिएसपी विकले भने, ‘अफिम पोखराभन्दा पनि यहाँ हुँदै भारत जाने गरेको अनुसन्धानबाट भेटिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?