+
+

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते ९:१७

४ भदौ, काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो  ।

बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उपाध्यक्ष हमालका अनुसार मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

हाल मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्दै आएका छन् । मोर्चाको नेतृत्व आलोपालो गर्ने निर्णय अनुसार पहिलो कार्यकालको संयोजक माधव नेपाल बनेका हुन् । उनी चार महिनासम्म संयोजक रहने र त्यसपछि नयाँ संयोजक तोकिने मोर्चामा आबद्ध नेकपा नेता नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।

आजको बैठकले मोर्चाको प्रदेश संयोजक सातै प्रदेशमा हुने सभामा घोषणा गर्ने निर्णयसमेत गरेको विप्लवले बताए ।

मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको विप्लवले जानकारी दिए । उनले भने, ‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छौं । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?