
चालू वर्ष सन् २०२३ विश्व स्मार्टफोन बजारका लागि सर्वाधिक खराब वर्ष बन्ने देखिएको छ । यो वर्ष विश्व बजारमा स्मार्टफोनको आपूर्तिमा ६ प्रशितले गिरावट आउने र विश्व बजारमा केवल एक अर्ब १५ करोड गोटा स्मार्टफोन मात्रै आपूर्ति हुने काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो रिपोर्टले देखाएको छ । यो शिपमेन्ट पछिल्लो एक दशक यताकै सबैभन्दा कम हो ।
यद्यपि विश्वव्यापी रुपमा प्रिमियम तथा अल्ट्रा पि्रमियम स्मार्टफोनकेा मागमा वृद्धि भएको छ । जसका कारण अन्य कम्पनीहरुको तुलनामा एप्पल आइफोनको बिक्रीदरमा उत्साहप्रद वृद्धि देखिएको छ
वर्तमान अवस्था जारी रहेमा यो वर्षको अन्त्यसम्ममा एप्पलले सामसुङलाई पछि पार्दै विश्वकै नम्बर वान स्मार्टफोन ब्राण्ड बन्ने देखिएको छ ।
विश्लेषकहरुका अनुसार यो वर्षको चौथो त्रैमासिकमा एप्पलको आइफोन १५ सिरिज लञ्च भएसँगै आइफोनको आपूर्ति तथा बिक्रीमा उच्च वृद्धिको सम्भावना छ । त्यसबेला आइफोन १३ तथा आइफोन १४ को मूल्यमा पनि उल्लेख्य गिरावट आउँदा ग्राहकहरु आइफोनतर्फ थप आकर्षित हुनेछन् र आइफोनकेा बिक्रीमा बढोत्तरी हुनेछ ।
यो वर्ष एप्पलका लागि विश्व स्मार्टफोन बजारमा आइरहेको मन्दीका लागि एसियाली बजारको सुस्तता सर्वाधिक जिम्मेवार रहेको रिपोर्टमा उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको तथा अन्य उदीयमान बजारहरुमा पनि स्मार्टफोनको माग कम भएका कारण स्मार्टफोन उद्योगको सकारात्मक वृद्धिमा रोकावट पैदा भएको रिपोर्टमा जनाएको छ । त्यस्तै उत्तर अमेरिकामा पनि यो वर्षको अन्त्यसम्ममा स्मार्टफोनको शिपमेन्टमा दोहोरो अंकको गिरावट आउने देखिएको छ ।
विश्वमा रोजगार बजार मजबुत बन्दै गएको तथा मुद्रास्फीतिमा समेत कमी आउँदै गएता पनि उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्न तयार नभएको देखिएको काउन्टरप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4