
४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति थप्ने तयारी गरिएको छ । त्यसका लागि प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले विक्रमसिंह धामी, सुरेन्द्रबहादुर पाल, मानबहादुर धामी, प्रकाश रावल, खुसीराम डगौरा थारु, खेमादेवी विष्ट र ताराप्रसाद जोशी सदस्य रहने गरी नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशसभा नियमावलीको नियम १४८ मा ४ वटा विषयगत समिति रहने व्यवस्था छ । प्रदेश सभा नियमावली संशोधन गरेर यो संख्या बढाएर ६ वटा समिति बनाउने तयारी भएको हो ।
प्रदेशसभामा हाल अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला र सामाजिक विकास समिति गरेर ४ समिति छन् । तर सत्तारुढ गठबन्धनमा प्रदेशसभा सदस्यहरुको व्यवस्थापनका लागि समिति थप गर्ने गृहकार्य अघि बढाइएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले राजनीतिक सहमति अनुसार विषयगत समिति थप गर्नेसँगै अन्य व्यवस्थाहरु हेरफेर गर्न नियमावली संशोधन समिति गठन भएको जानकारी दिए ।
प्रतिक्रिया 4