+
+

मन्त्रीलाई गाली गर्ने वन निर्देशकमाथि छानबिन गर्न माग

जनक विष्ट जनक विष्ट
२०८० भदौ ४ गते १९:५१

४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा निमित्त वन निर्देशक कृष्णदत्त भट्टमाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ । केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको माग भएको हो ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत रहेका माओवादीका प्रदेशसभा सदस्य मानबहादुर धामी र एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले निर्देशक भट्टमाथि छानबिन गरेर कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘अहिले हामीले प्रदेश सरकार सुशासनमा तल्लीन छ भनिरहेका छौँ तर सरकार मातहतको निकायका एक उच्च पदस्थ कर्मचारीले भिडियो र अडियोमार्फत मैले फलानोबाट यति लिएँ, उति लिएँ भनिरहेको सुनेका छौं’, धामीले भने, ‘सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गरोस् ।’

यस्तै एमाले संसदीय दलकी उपनेता थापाले पनि निमित्त वन निर्देशक भट्टले मातहतका कार्यालयबाट मोटो घुस खाएको स्वीकार गरेको अडियो र भिडियो सार्वजनिक हुँदा पनि सरकारले उनलाई संरक्षण गरेको दाबी गरिन् ।

‘वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयका कर्मचारीबाट मोटो रकम घुस खाएको अडियो सार्वजनिक भएको छ’, थापाले भनिन्, ‘यस्ता भ्रष्टाचारलाई सरकारले किन संरक्षण गरिरहेको छ ? तत्काल छानबिन गरी कारवाही गरोस् ।’

निमित्त निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले आफ्नो सरुवा गराउन खोजेको भन्दै मन्त्रालयकै एक कर्मचारीलाई फोन गर्दै अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो सार्वजनिक भएको थियो ।

केही दिनअघि सार्वजनिक भएको अर्को भिडियोमा भट्टले मातहतका डिभिजन वन कार्यालयको नामै किटान गरेर २० हजारदेखि एक लाख रुपैयाँसम्म उठाएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भट्टले गालीगलौज र घुस लिएको भनेको कुरा सार्वजनिक भएपछि विष्टको सरुवा गरेको छ । भ्रष्टाचार मुद्दामा हालै सफाइ पाएका हेमराज विष्ट भने पुनः वन निर्देशकको जिम्मेवारीमा फर्किएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जनक पाध्याले मुख्यमन्त्री कार्यालयले ३१ साउनमा विष्टको सरुवा गरेको भएपनि अहिलेसम्म मन्त्रालयमा हाजिर नभएको बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?