
४ भदौ, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ लगायत नेता सहभागी भएका छन् ।
यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक विना निष्कर्ष सकिएको थियो । उक्त बैठकमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । सोमबारको बैठकमा भने अध्यक्ष ओली नै सहभागी भएका छन् ।
बैठकमा १0 साउनदेखि नेकपा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । सो प्रकरणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नै छानबिन गर्न सक्षम रहेको भन्दै उच्चस्तरीय समिति गठनलाई अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया 4