
५ भदौ, काठमाडौं । रौतहटस्थित हिमालय टेलिभिजनका पत्रकार राकेश यादवमाथि स्थानीय क्रशर उद्योगका कर्मचारीले हातपात गरेका छन् ।
सोमबार दिउँसो १२ बजेतिर रिपोर्टिङका क्रममा रौतहटको बृन्दावन नगरपालिकामा रहेका क्रशरहरुको भिडियो छायांकन गर्दा यादवमाथि तीन जनाले हातपात गरेको उनले बताएका छन् ।
उनीहरुले यादवको क्यामरासमेत फुटाइदिएका छन् ।
चिकित्सकका अनुसार पत्रकार यादवको छातीमा रगत जमेको छ ।
हातपात गर्नेमा महोत्तरीको बर्दिवास बस्ने राजदेव ठाकुर, रौतहट बृन्दाबन बस्ने राधेश्याम यादव र सर्लाही बरहथवा बस्ने महेश चौधरी रहेका उनले बताए ।
पत्रकार यादवले दिएको किटानी जाहेरीका आधारमा उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यवहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया 4