+
+

शीतलनिवासमा माधवकुमार नेपालले भने : मलाई देख्नुपर्छ भनेर ओली आएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १४:२७

५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले उपस्थित नहुनुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग जोडेका छन् ।

मंगलबार बिहानका लागि राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरु उपस्थित भएनन् ।

बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिका कारण नभई आफ्नो कारणले एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा नआएको भन्दै व्यंग्य गरेका थिए । ती नेताका अनुसार चिया पिउँदै नेपालले राष्ट्रपतिसँग भने, ‘केपी ओली नआएको तपाईंको कारण होइन, मलाई देख्नुपर्छ भनेर हो ।’

राष्ट्रपतिले पदीय भूमिका भन्दा बाहिर गएर सक्रियता देखाएकाले बैठकमा अनुपस्थित भएको एमालेले स्पष्टीकरण दिएको छ ।

सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रपति पौडेलले आफूले विधि बाहिर नगएको बताएका थिए । ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो,’ पौडेलले बैठकको प्रारम्भमा धारणा राखे ।

राष्ट्रपतिले सबै दललाई बोलाउनुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सकरात्मक कार्य भएको बताएका थिए । राष्ट्रपतिले देशको चिन्ता गरेर दलहरुलाई समझदारीबाट अगाडि बढ्नुस् भन्नु सकरात्मक कार्य भएको प्रचण्डले बताए ।

‘चिन्ता प्रकट गरेर हामीलाई बोलाउनु भयो । यो अत्यन्तै सकरात्मक छ । राष्ट्रपतिले बोलाएको विषयमा विमति राख्नुपर्ने ठाँउ छैन,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने ।

सोमबार राति दलहरुबीच सहमति भई संसद खुलाउने अवस्था रहेकाले धेरै कुरा नभएको सहभागी नेताले बताए । ‘संसद नखुलेको भए सबैले बोल्थे होला । उपस्थित मध्ये केहीले मात्रै बोले,’ सहभागी नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?