
काठमाडौं । सन् २०२४ को सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा गोल्डेन नेपाली फिल्म अवार्डको आयोजना हुने भएको छ । अमेरिका भ्रमणमा रहेका अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापाको उपस्थितिमा आयोजित समारोहमा अवार्ड घोषणा गरिएको हो ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलएसीले अवार्ड आयोजना गर्न लागेको हो । लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी तथा व्यवसायी यज्ञलाल श्रेष्ठले अवार्डले नेपाली फिल्मको गुणस्तरीय विकास र बजार प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
अवार्डको जुरी समेत रहेका अभिनेता श्रेष्ठले अवार्डमा आफ्नो समर्थन रहने उल्लेख गर्दै शुभकामना व्यक्त गरे । जुरी सदस्य समेत रहेका अभिनेता थापाले अवार्डले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।
अवार्डका अन्य जुरी सदस्यमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र निर्देशक लक्ष्मण सुवेदी छन् । बर्कलेस्थित हिमालय फ्लेभर रेस्टुरेन्टमा अगस्ट २० मा आयोजित कार्यक्रममा अभिनेताद्वयसँग भेटघाट गर्न फ्यानको भीड लागेको थियो ।
आयोजक प्रमुख श्रेष्ठले कलाकारद्वयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमिटीका अध्यक्ष विष्णु केसी, तामाङ सोसाइटी क्यालिफोर्नियाका नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन, एनआरएनए च्याप्टर क्यालिफोर्नियाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आईसीसी सदस्य बिन्दु निरौला सापकोटालाई समेत सम्मान गरियो ।
प्रतिक्रिया 4