
५ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन महामाहारीबाट मरेका पशु चौपायाको तथ्याङ्कमा गम्भीर हेलचेक्र्याइँ गरेको पाइएको छ । मन्त्रालयले १४ साउन र ३ भदौमा प्रकाशित गरेको तथ्याङ्कमा मरेका पशुहरुको तथ्याङ्क एक हजार २३१ ले सच्याएर सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।
पशु सेवा विभागले देशभरका जिल्लाका कृषि ज्ञान केन्द्रबाट लिने यस्तो तथ्याङ्क मनपरी संकलन भएको पाइएको पशु सेवा विभागले स्रोतले जनाएको छ । जसका कारण रोग संक्रमण, निदान, मरेका पशु र क्षतिको आंकलन अन्दाजको भरमा हुने गरेको खुलेको हो ।
पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले भने सरकारबाट राहत पाइन्छ कि भनेर संख्या थप गरिएको हुन सक्ने आंकलन गरे ।
तथ्याङ्कमा किन भयो तलमाथि ?
१४ साउनमा लम्पी स्किनबारे तथ्याङ्क सार्वजनिक गर्दै मन्त्रालयले देशभर ११ लाख ४९१ पशुचौपाया संक्रमित भएको, ८ लाख ६७ हजार ८१० पशु उपचारपछि निको भएको, एक लाख ८३ हजार ८०१ पशु सक्रिय संक्रमित रहेको र ४८ हजार ८८० पशु मरेको विवरण सार्वजनिक गरेको थियो ।
तर, २ साताको अवधिमा केही सूचक तलमाथि भएपछि मर्ने पशु चौपायाको संख्या भने पहिलेको तुलनामा १ हजार २३१ ले घटाएर मन्त्रालयले सार्वजनिक गरेको थियो । २ भदौमा सार्वजनिक विवरणमा ४७ हजार ६४९ पशु महामारी कारण मरेको पछिल्लो विवरणमा उल्लेख छ ।
यस्तो गल्ती भएको पशु सेवा विभागले स्वीकार गरेको छ । कृषिको सूचनाका लागि एकीकृत प्रणाली नहुँदा पनि समस्या आएको प्रवक्ता ढकाल बताउँछन् ।
विभागले मन्त्रालय पठाएर मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा मरेको पशुको संख्यामा ठूलो अन्तर देखिएपछि अन्य सूचनाको विश्वसनीयतामा पनि प्रश्न उठेको छ । नयाँ तथ्याङ्कअनुसार देशभर सङ्क्रमित कुल पशु संख्या १३ लाख ५ हजार ३६१ छन् ।
उपचारपश्चात् निको भएको पशु संख्या १० लाख ८२ हजार १५९ छन् भने हाल सक्रिय संक्रमित पशु सख्या एक लाख ७५ हजार ५५३ छ ।
पाँच महिना अवधिमा १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४५० पशुमा खोप लगाइएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4