+
+

ब्रिक्समा पुटिनको सन्देश : पश्चिमा शक्तिले चलाएको युक्रेन युद्धको अन्त्य चाहन्छौँ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते २०:४८

६ भदौ, काठमाडौं । उदीयमान शक्ति राष्ट्रहरूको समूह ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा शक्तिले सञ्चालन गरेको युक्रेन युद्ध रुसले अन्त्य गर्न चाहेको बताएका छन् ।

युक्रेनमा जारी युद्धलाई पश्चिमा शक्ति र उसका स्याटेलाइटहरूद्वारा सञ्चालित भएको पुटिनले ब्रिक्स सम्मेलनमा पठाएको भिडियो सन्देशमा भनेका छन् ।

दक्षिण अफ्रिकामा जारी जोहानेसबर्गमा मंगलबारदेखि जारी ब्रिक्स शिखर सम्मेलनमा प्रत्येक्ष सहभागी नभएका रुसी राष्ट्रपति पुटिनले भिडियो सन्देशमार्फत सम्बोधन गरेका हुन् ।

शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित ब्राजिल, रूस, भारत, चीन, र दक्षिण अफ्रिका ब्रिक्स समूहमा आवद्ध छन् । जारी शिखर सम्मेलनमा अन्य सबै मुलुकका राष्ट्र प्रमुख पुगेका छन् । तर सबै सदस्य राष्ट्रका प्रमुखहरू सम्मेलनमा सहभागी भए पनि रुसी राष्ट्रपति पुटिन भने पुगेका छैनन् । उनको ठाउँमा रूसको नेतृत्व गर्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभ ब्रिक्समा उपस्थित छन् ।

रूसी राष्ट्रपति पुटिनविरुद्ध युक्रेन युद्धको विषयलाई लिएर गिरफ्तार गर्न आईसीसीले गत १७ मार्चमा पक्राउ पुर्जी जारी गरेका पुटिन सम्मेलनमा सहभागी हुन नसकेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा आवद्ध १२३ देशमध्ये दक्षिण अफ्रिका पनि एक हो ।

पुटिनले रुसी भाषामा गरेको सम्बोधनलाई अंग्रेजी भाषामा अनुवाद गरेर सम्मेलनमा प्रसारण गरिएको थियो । उनले भिडियो सन्देशमा लिखित भाषण पढेका भएपनि अनुवादकको आवाजलाई मात्रै सुनिने बनाइएको थियो ।

मंगलबार नै ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि सम्बोधन गरेका थिए । उनले चीन प्रभुत्ववाद र विस्तारवादको पक्षमा नरहेको धारणा राखेका थिए ।

ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले चीनसँग ठूला शक्तिहरूको प्रतिस्पर्धामा भाग लिने वा गुट निर्माण गर्ने चाहना नरहेको बताएका हुन् ।

‘चीन इतिहासको सही पक्षमा दृढतापूर्वक उभिएको छ र साझा हितको लागि न्यायपूर्ण कारणहरू पछ्याउनु पर्दछ भन्नेमा विश्वास गर्दछ’, सीले सम्बोधनका क्रममा भने ।

सीले उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूह अझ न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्नका लागि विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?