
युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जतिवेला व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाशक्ति राष्ट्रका अमूल्य सम्पत्ति हुन् । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति पनि हुन् ।
कुन उमेर समूहलाई युवा भन्ने सन्दर्भमा सबैको एकमत छैन । युवावस्थाको परिभाषा कानुन र अर्थशास्त्रले पनि फरक मान्दै आएको छ । युवा अवस्थालाई उमेरका आधारमा मात्र हेर्ने कि उसको जोस र सक्रियताको दृष्टिकोणबाट पनि हेर्ने भन्ने पनि प्रश्न उठ्न सक्छ । यही पृष्ठभूमिमा आजभोलि युवाको परिभाषा बदल्नुपर्छ भन्ने चर्चा पनि भएको पाइन्छ ।
जे होस्, युवा अवस्था भनेको सपना देख्न र सक्रियता देखाउन सक्ने सामथ्र्य र सम्भावना भएको जीवनको हिस्सा हो । समयले दिने अवसर पनि हो ।
विश्व श्रमिक संगठनले १५-२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५-२४ वर्ष उमेर समूहलाई युवा भनेको छ ।
युवाको परिभाषा देश अनुसार फरक-फरक देखिन्छ । नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६-४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार यो उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४० प्रतिशत रहेको छ भने मुलुकमा उच्चतम श्रमदान गर्न सक्ने उमेर -१५-५९ वर्ष) समूहको जनसंख्या ५७ प्रतिशत रहेको छ ।
युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत रहन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ जारी गर्दै युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति र राष्ट्र निर्माणको प्रमुख स्रोत मानेको छ । नेपालको संविधान २०७२ ले पनि हरेक परिर्वतनमा युवाहरूको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरेको छ ।
युवा भनेको देशको सबैभन्दा ठूलो पूँजी हो । उल्लेख्य मात्रामा उपलव्ध युवा जनसंख्याको नेपालले जनसांख्यिक लाभ लिन सकेको छैन । धेरैजसो मुलुकमा यो अवसर उपलब्ध छैन र शताब्दीआंैसम्म उपलब्ध हुने सम्भावना पनि छैन । किनभने कतिपय मुलुक बुढ्यौलीको समस्यामा छन् भने कतिपय मुलुकमा विवाह र सन्तान उत्पादन गर्ने सोचबाट विस्तारै विषयान्तर हुने सामाजिक संस्कृतिको विकास हुँदै गएको देखिन्छ । तर नेपाल जनसंख्याको लाभ लिन सक्ने अवस्थामा छ । यसका लागि सरकार, निजी क्षेत्र, समुदाय र युवासँग सम्बन्धित निकायहरूले साझा सोच बनाउनुपर्छ ।
गुणस्तरीय र समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी युवा पलायन, कमजोर स्वास्थ्य, कुपोषण र कमजोर आत्मबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौती हुन् ।
नेपालमा आधारभूत तहमा भर्ना भएका विद्यार्थीमध्ये एक चौथाइले मात्र माध्यमिक शिक्षा पूरा गर्दछन् । यसरी बीचमै पढाइ छाड्ने बालबालिका को हुन् र उनीहरू के गरिरहेका छन् भन्नेबारे राज्यले चासो देखाएको देखिंदैन ।
त्यस्तै कक्षा १२ अध्ययनपछि अधिकांश विद्यार्थी कलेजमा भन्दा कन्सल्टेन्सीमा भेटिन थालेका छन् । यस्तै अवस्था रहने हो भने ज्ञानका लागि कलेज होइन भिसाका लागि कन्सल्टेन्सीको स्तर वृद्धि गर्नुपर्ने हुन्छ । यो अवस्थाले दीर्घकालमा राज्यलाई ठूलो हानि पुर्याउनेमा हेक्का राख्नु जरूरी छ ।
विद्यालय शिक्षा पूरा नगर्नुको प्रमुख कारण भोको पेट र पारिवारिक गरिबी नै हो । अपवाद बाहेक विद्यालयहरू बदलिएका छैनन् । शिक्षणशैली सु”एिका छैनन् । व्यावहारिक र व्यावसायिक ज्ञान, सीपलाई पठन सामग्रीमा समावेश गरिएका छैनन् । शिक्षकले विद्यार्थीको रुचि र आवश्यकता अनुरूप व्यावहारिक ज्ञान सिकाउन सक्दैनन् ।
विद्यार्थी आफैंले पनि सिक्दैनन् वा रुचि राख्दैनन् । अभिभावकले शिक्षाको महत्व बुझ्दैनन् । यस्तै विविध कारणले विद्यार्थी टिक्दैनन् । टिकेकाहरू पनि आफ्नो योग्यताले मात्रै समाजमा बिक्दैनन् । जसको कारण पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गएको पाइन्छ ।
विद्यालयमा टिकाउने र सिकाउने एउटा चुनौती छ भने तयार पारिएको जनशक्तिलाई स्वदेशमै रोजगार र अवसर दिन नसक्ने अथवा टिकाउन नसक्ने अवस्था छ । नेपालका सम्भ्रान्त वर्गीय युवा विद्यालय तहबाटै विदेश जाने र उतै सेटल हुने गरी निर्देशित र दीक्षित छन् । उनीहरूको रोजाइ उच्च शिक्षाको लागि त्रिभुवन विश्वविद्यालय नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको छ ।
उनीहरू नेपालमा सम्भावना नै देख्दैनन् र आफ्नो भविष्यको सुरक्षा खोज्दै वैदेशिक गन्तव्यलाई अँगाल्न थालेका छन् भने तल्लो वर्गकाहरू बाध्यात्मक रोजगारीका लागि उत्पादनशील उमेर विदेशी मरुभूमिमा खर्चिंदै छन् । यसले यी दुवै वर्गका युवामा राष्ट्रप्रतिको लगाव र भावना कमजोर बन्दै गइरहेको छ । यो निकै खतरापूर्ण अवस्था हो ।
औपचारिक रूपमा ४५ लाखको हाराहारीमा युवा जनशक्ति विश्वका विभिन्न १७२ देशहरूमा अवसरका लागि विदेशिएका देखिन्छन् । युवाको श्रम निर्यात गरेर वस्तु आयात गर्ने परिवेश नेपाली अर्थतन्त्रको तितो यथार्थ हो ।
हाम्रो शिक्षा नीतिले कोरा सपना देखाइरहेछ । सही शिक्षाले हरेक व्यक्तिको लागि जीवनको जग निर्माण गर्न मद्दत गर्दछ । नेपाली विद्यार्थीमा अमेरिकन, अस्ट्रेलियन र क्यानेडियन डि्रम हावी छ । हामी विदेशीको लागि दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना त बनिरहेका छैनौं ? मलजल गरेर हुर्काएको बिरुवा फल लाग्ने बेलामा कमसल मूल्यमा बिक्री गरे जस्तै त भएको छैन ? प्रश्न अनुत्तरित छन् ।
शिक्षित जनशक्ति पलायन हुने वर्तमान पद्धतिले देशलाई अन्याय गरेको छ । हाम्रो शिक्षण व्यवस्थामा गरेको लाभ विदेशीले लिएको वर्तमान अवस्थामा शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याए जस्तो भएको छ । जनशक्ति उत्पादककहाँ ब्रेन ड्रेन भइरहेको छ भने आयातित जनशक्तिले विकसित मुलुकमा ब्रेन गेन भएको अवस्था छ ।
लगानीको लाभ लिने देश अर्कै भएपछि देश कसरी उँभो लाग्छ ? जोरजाम गरेर कसौडीमा पकाएको भात भर्सिने समयमा अर्कैलाई सुम्पिनुपर्ने भएपछि भान्सेको भोक कहिले र कसरी मेटाउने गम्भीर हुनु जरूरी छ ।
नेपालको अस्थिर राज्यसंयन्त्र कमजोर विकास नीति, श्रमको सम्मान नहुनु, सरकारी संयन्त्र सेवामैत्री नहुनु, पहुँचवालाको हालीमुहाली, हतोत्साहित निजी क्षेत्र, हुनेखाने र हुँदा खाने बीचको बढ्दो दूरी, क्षमताको आधारमा नभई पहुँच र निगाहको आधारमा अवसर हुनु जस्ता कारणले अभिभावक पनि सन्तानको भविष्यको लागि सुखदुःखमा आफूलाई एक्लै राख्ने प्रण गर्दै छोराछोरी विदेशी नागरिक हुँदा गर्व गर्न थालेका छन् ।
आखिर कहिलेसम्म सन्तानलाई विदेशी नागरिकता दिलाएर बाबुआमाले गर्व गर्ने ? के हाम्रो राष्ट्रिय शिक्षाको उद्देश्य विदेश पलायन हुने नागरिक तयार गर्ने हो ? देश निर्माण र ज्ञानका लागि पढ्ने युवाहरू शून्यप्रायः भएपछि देश विकासको बागडोर कसले सम्हाल्ने ? गहन रूपमा सोच्नुपर्ने बेला भएको छ ।
सामाजिक प्रतिष्ठा, आय आर्जन र जीविकोपार्जनको मुख्य आधार रोजगारी हो । खाली हात शैतानको बास भन्ने नेपाली उखानबाट रोजगारीको महत्व स्पष्ट हुन्छ । व्यक्ति, समाज, देश र समग्र मानव सभ्यताको उन्नति र रूपान्तरणको पूर्वशर्त पनि रोजगारी हो । युवाहरूलाई पौरखी बनाउन र सकारात्मक सोचको विकास गर्न नैतिक शिक्षा दिंदै उनीहरूलाई स्वरोजगार बनाउनुु राज्यको पहिलो प्राथमिकता हो ।
जागिरमुखी शिक्षाबाट उद्यमशील र उत्पादनमुखी शिक्षाको व्यवस्था गर्नु अर्को महत्वपूर्ण विषय हो । यसका लागि विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र उद्योग व्यवसाय बीचमा समन्वयात्मक तादाम्यता मिलाउनुपर्छ ।
युवा मुलुकको आशा र भरोशा हुन् । समाजलाई रूपान्तरण गर्ने अदम्य शक्ति भएर पनि युवाशक्ति आफैंमा हराएको अवस्था छ । एकातर्फ युवाले आफ्नो मातृभूमिमा आफ्नो भविष्य सुनिश्चित छ भनेर आर्थिक, सामाजिक रूपान्तरणको यात्रालाई गतिवान बनाउनुपर्दछ । फोहोरलाई झ्यालबाट नियालेर पोखरीको फोहोर सफा हुँदैन युवा आफैं पोखरीमा डुबुल्की मार्नुपर्छ, त्यसलाई सफा गर्ने हिम्मत राख्नुपर्छ ।
देश दुनियाँ र विश्वलाई आफ्नै नजरले नियाल्नुपर्छ भने अर्कोतर्फ युवाको उपयोग कसरी गर्ने उनीहरूलाई सृजनशील कसरी बनाउनेे भन्ने चिन्ता, चासो र अठोट नीतिनिर्मातामा रहनुपर्दछ ।
देश विकासमा आफ्नै जनशक्तिको उपयोग गर्न नसक्ने राज्यमा विकासका नारा भ्रम सिर्जना गर्ने हतियार बनेका छन । केही समयपछि नेपाल आश्रतिहरूको बहुसंख्या भएको देश हुनेछ । हामीले जनसांख्यिक लाभ गुमाउने छौं । त्यसो हुनु अगावै राज्यले युवाहरूलाई उद्यमशीलतामा जोड्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । युवाहरूलाई अध्ययन सकिसकेपछि नेपालमा नै सम्भावना र भविष्य देखाउन अब ढिला गर्नुहुँदैन ।
गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकोले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारी सम्बन्धी नतिजामूलक कार्यक्रममा जोड दिनु जरूरी छ ।
प्रतिक्रिया 4