
७ भदौ, काठमाडौं । जापान सरकारले फुकुसिमा आणविक उर्जा प्लान्टमा हुने परमाणु विकिरणको दूषित पानीलाई प्रशान्त महासागरमा डिस्चार्ज गर्न सुरु गरेको छ ।
प्लान्ट सञ्चालन गरिरहेको टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले पहिलो चरणमा १७ दिन भित्र ७ हजार ८०० टन दूषित पानी समुद्रमा फालिने जनाएको छ ।
बिहीबार २०० देखि २१० घनमिटर पानी निकासा हुने भए पनि टेप्कोले दैनिक ४६० घनमिटर पानी निस्कने लक्ष्य राखेको छ । पम्पहरू २४ सै घण्टा सक्रिय रहनेछन् ।
लामो समयदेखि परमाणु विकिरणको दूषित पानी डिस्चार्जका विषयमा छिमेकी मुलुकहरू असन्तुष्टि जनाइरहेको भए पनि जापाने बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो ।
सन् २०११ को मार्चमा गएको भूकम्पका कारण आएको सुनामी आएपछि प्लान्ट प्रभावित भएको थियो ।
मौसम र समुद्री अवस्था अनुकूल भएपछि, टेप्कोले डिस्चार्ज प्रक्रिया सुरु गर्न समुद्रमा पानी डिस्चार्ज गर्न ट्याङ्कीका पम्पहरू खोलेको जनाइएको छ ।
ट्याङ्कीको प्रारम्भिक ब्याचबाट पानीको सानो नमूना पठाइएको थियो । ट्याङ्कीको पानीलाई समुद्री पानीसँग मिसाउँदा पातलो पातलो बनाएर उत्सर्जन गरिने टेप्कोले जनाएको छ ।
प्रतिक्रिया 4