+
+

सिंहदरबारको स्टेट हल र बेलायती कक्षमा बल्ल पर्‍यो प्रधानमन्त्रीको नजर

प्रधानमन्त्रीले भने-३ महिनामै काम सक्नुस्, विज्ञले भने : ६ महिना लाग्छ

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० भदौ ७ गते २३:५९

७ भदौ, काठमाडौं । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबल सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको सिंहदरबारको निरीक्षणमा निस्किए ।

सिंहदरबार छिरेको करिब ८ महिनापछि प्रधानमन्त्रीले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम मोहोडा पुनर्निर्माणको काममा भइरहेको ढिलाइप्रति चासो देखाएका थिए ।

प्रबलीकरण भइरहेको सिंहदरबारको पश्चिमतर्फका स्टेट हल र बेलायती कक्ष सहितका भागमा प्रधानमन्त्रीले निरीक्षण गरेका छन् । प्रधानमन्त्रीसँग शहरी विकास मन्त्री सीता गुरुङ, मुख्यसचिव बैकुण्ठ अर्याल, शहरी विकास सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि सहभागी थिए । निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणमा संलग्न कम्पनीसँग छलफल गरेका थिए ।

प्रबलीकरणपछि सो भागमा देखिने बाहिरी र भित्री कक्षहरुको ‘एनिमेशन भिडियो’ समेत प्रधानमन्त्रीले हेरे । परियोजनामा संलग्न इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई छिटो काम सक्नेतर्फ ध्यान दिन निर्देशन पनि दिए ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार गौरी शर्मा एण्ड न्यु टेक्निकल जेभी मार्फत २०७६ सालदेखि यी कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारी प्रधानमन्त्रीसँग सिंहदरबारको पश्चिमतर्फको भागको इन्टेरियर व्यवस्थापन, पोखरीको पुनर्निर्माण, लाइटिङ, पश्चिम मोहोडामा लिफ्ट तथा शौचालयहरु निर्माण गर्न प्रस्ताव गरिएको बताए ।

‘उहाँले ३ महिनाभित्र काम सक्ने गरी अघि बढ्न निर्देशन दिनुभयो, विज्ञहरुले खरिद प्रक्रियाका कारण कम्तीमा ६ महिना समय लाग्ने जानकारी दिनुभएको छ’ अधिकारीले भने, ‘अब हामी द्रूत गतिमा काम गर्छौं ।’

दुई वर्षभित्र सक्ने गरी लगाइएको यो काम ४ वर्षसम्म सकिएको छैन ।  यी चार वर्षमा तीन जना प्रधानमन्त्री अर्थात् केपी ओली, शेरबहादुर देउवा तथा हाल पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नेतृत्व सम्हालिसकेका छन् । प्रधानमन्त्रीहरुकै पदीय प्रतिष्ठासँग समेत जोडिएका स्टेट हल र बेलायती कक्ष अहिलेसम्म उपेक्षामा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्र पुनर्निर्माणका चरणमा रहेका स्टेट हल र बेलायती कक्ष सहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् ।

भविष्यमा प्रधानमन्त्रीले नै प्रयोग गर्ने तय भएको कार्यकक्षदेखि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्नेसम्मका ऐतिहासिक कक्षहरुको पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ ।

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो । तर, त्यही मूल भवनको पश्चिम मोहोडामा पुनर्निर्माण अपुरै हुँदा समेत सरकारले पर्याप्त ध्यान दिएको अवस्था छैन । यही पश्चिम मोहोडामा नै प्रधानमन्त्रीले प्रयोग गर्ने कक्षहरु सार्ने योजना छ ।

यी आलिसान र विलासी कक्षहरु विगतमा नेपालका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए । सिंहदरबारको मूल भवनभित्रका सबै कक्षहरु कहिलेसम्म प्रयोगमा आउँछन् भन्ने टुंगो छैन ।

सिंहदरबारको पश्चिम मोहोडा वि.सं. २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्मका कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने योजना समेत छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?