
७ भदौ, काठमाडौं । विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङ कलेजका विद्यार्थीले मिटरब्याजमा जरिवाना उठाउन खोजेको भन्दै प्रदर्शन र कलेज प्रशासनमा ताला लगाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त कलेजले लिने शुल्क समेस्टर शुरु भएको १५ दिनभित्र तिर्नुपर्ने नभए प्रतिदिन दुई प्रतिशतका दरले जरिवाना उठाउने गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै एक विद्यार्थीले भने ‘हामीबाट कलेजले विलम्ब शुल्कको नाममा मिटरब्याजमा जरिवाना उठाउन खोजेको छ । यो हुनुहुँदैन । सम्बन्धित निकायले अनुगमन गरेर कारबाही गर्नुपर्छ ।’
कलेजको शुल्क महंगो रहेको त्यसमा पनि मिटरब्याजमा जरिवाना तिर्नुपर्दा विद्यार्थी अन्यायमा परिरहेका उनको भनाइ छ ।
अर्का एक विद्यार्थीका अनुसार कलेजको यो नियमका कारण एउटा विद्यार्थीले ८ देखि १० हजार रुपैयाँ जरिवाना नै तिर्नुपर्ने अवस्था छ । पाँचौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीले तेस्रो वर्षको आंशिक परीक्षा फारम भर्दा कलेजले चौथो सेमेष्टरको शुल्कमा जरिवाना मागेको ती विद्यार्थी बताउँछन् ।
उनी भन्छन् ‘म पाँचौं सेमेष्टरमा छु, तेस्रो सेमेष्टरको ब्याक पेपरको लागि फारम भर्न जाँदा चौथो वर्षको फीको जरिवाना दिनुपर्छ भन्ने नचाहिँदो कुरा गर्न मिल्छ ?’ विद्यार्थीहरुले एक सेमेष्टर अवधिसम्म बिना कुनै जरिवाना शुल्क तिर्न पाउनुपर्नेलगायतको माग राखेर आन्दोलन गरिरहेका छन् ।
उनीहरुले आफूहरुको समस्याबारे मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
प्रतिक्रिया 4