+
+

जब रामकुमारी झाँक्रीले बोल्न पाइन्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते २१:३०

७ भदौ, काठमाडौं । पार्टीका बैठक सकिएको दिन घरमा पुगेर रुँदिरहिछन् रामकुमारी झाँक्री । उसो त उनी मञ्चमै पनि रोइदिन्छिन् । अन्तर्वार्तामै रोइदिन्छिन् । झाँक्रीका आँशु उनका भाषणजत्तिकै चर्चित छन् । बोल्न पाए आक्रामक बोल्छिन् । बोल्न नपाए कहिले मुखमा टेप टाँस्छिन् । त्यो पनि नपाए रुन थाल्छिन् ।

आफू सचिव रहेको नेकपा एकीकृत समाजवादीको बिहीबार सकिएको बैठकमा भने झाँक्रीले रुनु परेन । बरु उनीपछि बोलेका पार्टीका सम्मानित नेता झलनाथ खनालले नै सकारे, ‘झाँक्रीजीले आज बोलेका शब्दले हाम्रा पनि आँखा रसाए ।’

के बोलिन् त झाँक्रीले, जसले गर्दा नेताहरुका आँखा रसाए ?

खासमा बिहीबारको बैठक कार्यसूचीमा पनि झाँक्रीको बोल्ने पालो रहेनछ । यो बैठकमा केन्द्रीय सदस्यले मात्रै बोल्ने, सबै पदाधिकारीका तर्फबाट अध्यक्ष माधव नेपालले मात्रै बोल्ने कार्यक्रम रहेछ । स्थायी कमिटी बैठकमै सबैले बोलिसकेको तर्क दिँदै केन्द्रीय कमिटी बैठक चालु भएपछि सचिव झाँक्री पनि छुट्ने भइहालिन् ।

तर जब केही केन्द्रीय सदस्यहरुमध्ये कसैले झाँक्रीको नामै लिएर, कसैले नाम नलिए पनि प्रष्ट बुझिने गरी उनी निष्क्रिय हुनुको ‘कारण देखाऊ’ भने, तब उनलाई बोल्न करै लाग्यो ।

‘थोरै मत नपुग्दा हामी राष्ट्रिय पार्टी बन्न चुक्यौं, झाँक्रीजीले चुनावमा राम्रोसँग समय दिनुभएको भए यस्तो अवस्था आउँथेन’, देवेन्द्र महताराले बैठकमा बोले, ‘उहाँ निष्क्रिय बस्दा युवापंक्ति निष्क्रिय छ, कति त एमालेतिर फर्किँदैछन् ।’

बैठक चलाइरहेका महासचिव घनश्याम भूसालले क्रमशः सम्मानित नेता खनाल, अनि अध्यक्ष नेपाललाई बोल्न आग्रह गर्नुअघि झाँक्रीलाई आफ्ना कुरा राख्न अवसर दिए । यो नै झाँक्रीलाई भावुक बनाउने कारण बन्न गयो ।

‘खोइ के भन्ने, आज त बोल्न पनि पाइयो, बोल्न पाउँछु भनेर सोचेको पनि थिइनँ’, झाँक्रीले बैठकमा भनिन्, ‘हामीलाई त ठेल्दा ठेल्दा किनारामै पुर्‍याइएको छ । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकहरुमा आफ्ना कुरा राख्नै पाइँदैन ।’

झाँक्री निष्क्रिय बस्ने हुँदा त्यसको सीधा असर पार्टीमा परेको गुनासो थुप्रै केन्द्रीय सदस्यहरुले गरेका थिए । कतिसम्म भने पोहोर मंसिरको आम चुनावमा नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसक्नुमा झाँक्रीको आलस्यपना समेत जिम्मेवार रहेको भन्दै आलोचना गरेका थिए केन्द्रीय सदस्यहरु देवेन्द्र महतरा, जानुका श्रेष्ठलगायतले ।

‘थोरै मत नपुग्दा हामी राष्ट्रिय पार्टी बन्न चुक्यौं, झाँक्रीजीले चुनावमा राम्रोसँग समय दिनुभएको भए यस्तो अवस्था आउँथेन’, देवेन्द्र महताराले बैठकमा बोले, ‘उहाँ निष्क्रिय बस्दा युवापंक्ति निष्क्रिय छ, कति त एमालेतिर फर्किँदैछन् ।’

जानुका श्रेष्ठले पनि महताराकै शैलीमा झाँक्री निष्क्रिय बस्नुको कारण के हो भनी सोधेकी थिइन् । पार्टी फुट्ने बेला माधव नेपालको हात समाएर निर्वाचन आयोगतिर बढेकी रामकुमारी हिजोआज किन सुस्त भनेर उनले जिज्ञासा राखेकी थिइन् ।

उनीहरुको जवाफ दिँदै झाँक्रीले बैठकमा भनिन्, ‘पार्टीमा जिम्मेवारी दिँदा, मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको जानकारी कमरेडहरुबाट होइन मिडियाबाट थाहा पाउनुपर्‍यो । पार्टीमा सक्रिय हुनु र नहुको कुनै मापदण्ड भएन । पार्टी गठन भएको ४२ दिन बित्दासम्म ३६ जिल्ला पुगेर कमिटी बनाउने मै हुँ । खोइ, यसको मूल्यांकन भयो ?’

झाँक्रीले बैठकमा बोल्दै आफू शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा शहरी विकास मन्त्री भएर थालेका काममध्ये केहीलाई टुंगोमा पुर्‍याउन लाग्दालाग्दै जिम्मेवारीमुक्त हुनुपरेको दुखेसो गरिन् । केही दिन समय पाए आफूले दीर्घकालीन परिणाम दिने खालका कामको रुपरेखा बनाउँछु भन्दा पनि पार्टीबाट साथ नपाएको गुनासो गरिन् ।

उनले अरु प्रश्न सोध्न छाडिनन्, ‘एकैचोटि मिडियामा सुनें, मन्त्री नरहेको भनेर, त्रिशुलीपारि झण्डा हल्लाउँदै पुगेका किसान श्रेष्ठले फर्किँदा झण्डा छोपेर आउनुपर्‍यो, यही हो हाम्रो सूचना आदानप्रदानको तरिका ?’

आफूले नयाँ बन्दै गरेको पार्टी चलाउँदा कसरी अघि बढ्ने भन्नेबारेमा कुरा राख्न खोजे पनि बोल्न समेत नपाएको उनले आक्रोश पोखिन् । संसदीय राजनीतिका च्याम्पियन भनेर पार्टीभित्र चिनिएका माधव नेपाल र राजेन्द्र पाण्डेले समेत उचित संयोजन गर्न नसक्दा सरकार र पार्टी दुवैतर्फ बलियो पर्फमेन्स नभएको उनको भनाइ थियो ।
केन्द्रीय सदस्यहरुले समेत आफ्नो स्पिरिट नबुझेको झाँक्रीले आरोप लगाइन् ।

‘उल्टै हामीलाई लुछ्ने ? पदलोलुप भन्ने ? केही समय पाएको भए काम गर्न सकिन्थ्यो पो भनेको हो, पदमै सधैं टाँसिइरहने भनेको थियो र ?’ झाँक्रीले केन्द्रीय सदस्यहरुतिर हेर्दै भनिन्, ‘पार्टीभित्र बोल्न नपाएपछि बाहिर रित्ता भाँडाहरु बजिहाल्छन् नि । मिडियामा गएर बोल्न समस्या हुँदैन ।’

आफ्ना सबै आक्रोश सुनाइसकेपछि झाँक्री साम्य भइन् । उनले पार्टीको गतिमा केही न केही फरक परेको, तर नयाँ महासचिव भूसालसमेतको प्रवेशले पार्टी निर्माण हुनेमा आशा जागेको बताइन् ।

बैठकमा आफ्ना भनाइबारे संक्षेपमा सुनाउँदै झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘पार्टी भनेको विचार नै हो, संगठनमा त्यो स्पिरिट लगेर जान सकिन्छ, अझै पनि ढिला भएको छैन भन्ने नै हो मेरो भनाइ । हामी पनि नेतृत्व नै हौं, तर मूल नेतृत्वले अलिकति भिजन दिनुपर्छ नै ।’

झाँक्रीका भनाइ सम्बोधन गर्दै नेता खनालले पार्टीमा वैचारिक अलमलहरु रहेको स्वीकार गरे । उनले नयाँ पुस्ताको भावनालाई नेतृत्वले सुविचारित ढंगले सुन्नुपर्ने भनाइ राखे । ‘पार्टी क्रान्तिका लागि हो, मतविभाजनका लागि होइन, अहिले सानातिना मतभेद छन् भने पनि काममा लागौं’, खनालले भने ।

महासचिव भूसालले पार्टीका निर्णय सुनाउनुअघि भने, ‘जे भयो, त्यो इतिहास भयो । हामी बनाउनलाई जति जिम्मेवार छौं, भत्काउनलाई पनि त्यति नै जिम्मेवार । त्यसैले ६ महिने अभियानमा स्फुर्तिसाथ अघि बढौं ।’

पार्टी अध्यक्ष नेपालले बैठक सक्नुअघि झाँक्रीले राखेका गुनासाहरु स्वीकार गरे । ‘विभिन्न कारणले सूचनामा तलमाथि भएछ, काममा पनि त्यसको असर परेछ’, झाँक्रीलाई हेर्दै नेपालले भने, ‘अब त्यस्तो हुँदैन । झाँक्रीजी, सक्रिय भएर अघि बढ्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?