काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियन विंगर जेरेमी डोकुलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको छ । प्रिमियर लिग च्याम्पियन सिटीले डोकुलाई ५५.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
गत सिजन ट्रेबल उपाधि जितेको सिटीले २१ वर्षीय डोकुसँग पाँच वर्षको सम्झौता गर्ने सहमति गरेको छ । डोकेलु फ्रेन्च लिग वान क्लब रेन्सका लागि तीन सिजनमा ७५ खेल खेल्दै १० गोल गरेका थिए ।
बेल्जियमका लागि १६ खेल खेलिसकेका डोकुले सिटीमा ११ नम्बर जर्सी लगाउनेछन् ।
डोकुले आफ्नो लागि यो विशेष दिन भएको बताए । ‘मेरो लागि यो व्यक्तिगत र व्यावसायिक दुवै रुपमा विशेष दिन हो । सिटी विश्वको उत्कृष्ट टिम हो र त्यसमा अनुबन्ध हुनु विशेष हुन्छ,’ डोकुले भनेका छन् ।
पेप ग्वार्डिओलाको टिमले यो सिजन अनुबन्ध गरेको डोकु तेस्रो खेलाडी हुन् । यसअघि सिटीले मिडफिल्डर माटेओ कोभासिसलाई चेल्सीबाट अनुबन्ध गरेको थियो भने डिफेण्डर जस्को भार्भिडोललाई जर्मन क्लब आरबी लाइपजिगबाट भित्र्याएको थियो ।
डोकुका लागि प्रिमियर लिगकै वेष्टहम, टोटनहम र चेल्सीले पनि इच्छा देखाएका थिए । तर अन्तिममा उनले सिटी रोजे । आफू युवा खेलाडी भएकाले धेरै सिक्न चाहेको र पेप ग्वार्डिओलाको स्टाफसँग काम गर्न उत्सुक रहेको उनले बताएका छन् ।
डोकु २०२० मा बेल्जियन क्लब एन्डरलेक्टबाट फ्रेन्च क्लब रेन्स पुगेका थिए, जहाँ उनले पाँच वर्षको सम्झौता गरेका थिए । उक्त सम्झौता सकिन अझै दुई वर्ष बाँकी थियो ।
प्रतिक्रिया 4