
भारतको उत्तर प्रदेश प्रहरीका महानिर्देशक विजय कुमारले गत अगष्ट १४ मा एक सर्कुलर जारी गर्दै उत्तर प्रदेशका सबै प्रहरी आयुक्त, एसएसपी र एसपीहरुलाई आफ्नो जिल्ला तथा इलाकाहरुमा अपराधको म्यापिङ्का लागि हिन्दू पञ्चाङ्गको सहयोग लिन निर्देशन दिए ।
उक्त सर्कुलरमा डीजीपी विजय कुमारले लेखेका छन्, ‘सुदृढ पुलिसिङमार्फत् उत्तर प्रदेशमा आम मानिसहरुमा सुरक्षाको माहोल स्थापना गर्नु छ ।’
रातमा आपराधिक तत्वहरुको सक्रियता बढ्ने र हत्या, लुटपाट, चोरी, बलात्कार जस्ता अपराधका घटनामा वृद्धि हुने भएकाले रातको समयमा धेरैभन्दा धेरै गस्ती गर्न पनि उनले निर्देशन दिएका छन् ।
सर्कुुलरमा उनले लेखेका छन्, ‘पुलिस मुख्यालयमा गरिएको घटनाहरुको विश्लेषणका क्रममा के पाइएको छ भने हिन्दू पञ्चाङ्गको कृष्णपक्षको औंसी अगाडिको एक हप्ता र पछिको एक सातासम्म रातको समयमा धेरै अपराधिक घटना हुने गरेका छन् ।
किन र कसरी गर्ने हिन्दू पञ्चाङ्गको प्रयोग ?
डीजीपी विजय कुमार हरेक महिना वरिष्ठ पुलिस अधिकारीहरुको स्तरमा यस्तो खालको घटना विश्लेषण होस् भन्ने चाहन्छन् र यसो गर्नका लागि हिन्दू पञ्चाङ्गको कृष्ण पक्षको औंसीको तारेखलाई पहिलेदेखि नै मार्क गर्न आदेश दिएका छन् ।
यो आदेशसँगै पुलिस अधिकारीहरुलाई हिन्दू पञ्चाङ्गसमेत पठाइएको छ, जसमा १६ अगष्ट, १४ सेप्टेम्बर तथा १४ अक्टोबरलाई कृष्णपक्षको औंसीको दिन भएको बताइएको छ ।
मातहतका प्रहरी कार्यालयहरुमा गरिएको सर्कुलरमा औंसीको तिथिभन्दा एक साताअघि र एक सातापछि घट्ने अपराधिक घटनाहरुलाई क्राइम एण्ड क्रिमिनल ट्रयाकिंग नेटवर्क सिस्टमका साथै डायल ११२ मा प्राप्त हुने जानकारीसँग मिलान गराएर म्यापिङ गर्न र म्यापिंगका माध्यमबाट आफ्नो क्षेत्रको आपराधिक हटस्पट चिह्नित गरी योजना बनाउन पनि निर्देशन दिइएको छ ।
क्राइम म्यापिङ तथा हटस्पट पहिचान गर्ने जिम्मा प्रहरी चौकीका प्रमुखलाई पनि दिइएको छ ।
भिडियोमार्फत् बुझाउने प्रयास
यस विषयमा डीजीपीले एक भिडियो जारी गर्दै पञ्चाङ्गको प्रयोगबाट चन्द्रमाको कलाका हिसाबले पुलिसले चाल्नुपर्ने कदमका विषयमा बुझाउने कोसिस गरेका छन् । भिडियोमा उनले चन्द्रमाको कलालाई अपराधका घटनासँग यसरी व्याख्या गरेका छन् :
- अगष्ट १ : यो अगष्टको पहिलो पूर्णिमा हो ।
- अगष्ट ७ : सात दिनपछि चन्द्रमा रातको बाह्र बजेपछि आधामात्र देखिन्छ । त्यसबेला अपराधीहरुले रातको बाह्र बजेसम्म अँध्यारोमा अपराधको घटना गराउने सम्भावना हुन्छ।
- १६ अगष्ट : यो औंसीको दिन हो जुनदिन पूरै रातभर अँध्यारो हुन्छ । यो रात अपराधीहरुका लागि निकै उपयोगी हुन्छ ।
- २४ अगष्ट : यो रातमा १२ बजेदेखि बिहान ६ बजेसम्म अँध्यारो हुन्छ । त्यसैले मध्यरातपछि अपराधका घटना बढी हुनसक्छन् ।
- ३१ अगष्ट : यसदिन रातभर नै उज्यालो हुन्छ ।
भिडियोमा उनले पूर्णिमापछिको सप्तमीदेखि औंसीपछिको सप्तमीसम्मको अवधिका रातहरु अपराधीका लागि सहज हुने भएकाले त्यसलाई बुझ्नका लागि प्रहरीले पञ्चाङ्ग प्रयोग गर्नुपर्ने बताएका छन् । यो अवधिमा पुलिस र आम मानिसहरु पनि सतर्क रहनुपर्ने उनको भनाइ छ ।
अपराधीहरुले कहिले आफ्नो आसपासमा आपराधिक गतिविधि गर्ने सम्भावना बढी हुन्छ भन्ने कुरा सर्वसाधारणलाई समेत बुझाउन यस्तो सर्कुलर गरिएको उनले बताएका छन् ।
उनका अनुसार यो पुलिसिङको पारम्परिक तरिकामध्ये एक हो । अपराध नियन्त्रणको भाषामा यसलाई प्रेडिक्टिभ पुलिसिङ भनिन्छ ।
अंग्रेजहरुले समेत प्रयोग गर्दथे
उत्तर प्रदेशका पूर्व डीजीपी विक्रम सिंहका अनुसार यो तरिका अंग्रेजहरुको पालादेखि नै चल्दै आएको छ जसलाई डार्क फोर्टनाइट (कृष्णपक्ष) र ब्राइट फोर्टनाइट (शुल्क पक्ष) भनिन्छ । अँध्यारोवाला पक्षमा अधिकांश आपराधिक घटना हुने भएकाले प्रहरीले त्यसअनुरुप नै आफ्नो सतर्कता तथा तैनाथी बढाउने गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘प्रहरी बलमा मुस्लिम अधिकारीहरुले चन्द्रपात्राको प्रयोग गर्दथे । पुलिसिङमा कृष्णपक्षको अँध्यारो रातहरुमा चौकीको बीचमा गश्ती लगाउने र गिरोहहरुमा निगरानी राख्ने प्रभावकारी तरिका थियो । पहिले पैदल वा घोडामा सवार भएर गस्ती लगाइन्थ्यो तर अहिले प्रहरीले गाडीमा गस्ती लगाउँछ ।’
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4