+

आधा रातमा खाने बानीले कलिलै उमेरमा दीर्घरोगको जोखिम

२०८० भदौ  ८ गते १७:२० २०८० भदौ ८ गते १७:२०
आधा रातमा खाने बानीले कलिलै उमेरमा दीर्घरोगको जोखिम

काठमाडौं । ‘बेलुकी खाना हल्का खानु, त्यो पनि सूर्यास्तअघि नै ।’ आयुर्वेदले मात्रै होइन, विज्ञानले पनि यसै भन्छ । हाम्रा बुढापाकाहरुले प्राचीनकालदेखि नै अपनाउँदै आएको यस्तो खानपान शैलीले आयु लामो बनाउने मात्र नभई दीर्घरोगको जोखिम पनि कम हुन्थ्यो ।

आजभोलिको अव्यवस्थित खानपानले दीर्घरोगीको संख्या निकै बढ्दो छ । यसको मुख्य कारणमध्ये आधा रातमा भरपेट खानु रहेको पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

‘अहिलेका पुस्ता धेरैजसोको सुत्ने समयमा आधा रातमा फ्रिजमा खानेकुरा खोज्न जाने बानी हुन्छ । रातमा नै धेरै पार्टी समारोह हुने र पेटभर जंकफुड, तारेका, पोलेको खाने र मदिरा पिउने चलन जस्तै भएको छ । यो बानीले विस्तारै स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको हुन्छ, ’ उनी भन्छन् ।

कसरी गर्छ असर ?

डा. भण्डारीका अनुसार उमेर ढल्किंदै गएसँगै मानिसको पचाउने क्षमता पनि घट्दै जान्छ । यसो त शरीरको क्रियाकलाप नियन्त्रण गर्ने मस्तिष्कमा हुने सञ्चालन प्रणाली केन्द्र बिन्दुको काम रातमा कम हुन्छ । ‘रातमा खानेकुरा पचाउन काम गर्ने पाचन रस कम रिलिज हुने हुँदा पचाउने क्षमता कम हुँदै जान्छ । त्यसैले राति खाने बित्तिकै खाएको पच्दैन र शरीरमै थुप्रिएर बस्छ, जसले गर्दा प्राचन प्रणालीमा असर गर्छ । फलस्वरूप मोटोपन, मधुमेह, फ्याटी लिभर उच्च रक्तचाप जस्ता दीर्घरोगको जोखिम हुन्छ, ’ उनी भन्छन् ।

यस्तोमा प्रश्न उठ्न सक्छ, कार्यालयमा धेरै समयसम्म काम गर्ने र रातिको ड्युटी गर्नेहरुमा खानेकुराको तालमेल मिल्दैन । ढिला नै खाएपनि उनीहरु हेर्दा फूर्तिलो नै देखिन्छन् ?  यसबारे डा. भण्डारी भन्छन्, ‘उनीहरुमा अहिले समस्या नदेखिए पनि दीर्घरोग लाग्ने सम्भावना उच्च हुन्छ । आज खाएर भोलि नै ठूलो असर देखिने होइन । तर बिस्तारै असर गर्दै दीर्घकालीन रुपमा मधुमेहजस्ता दीर्घरोग कलिलो उमेरदेखि सुरु भएको विज्ञानले पुष्टि गरेको छ ।’

पाचनशक्तिमा असर

राति अबेरसम्म खाना खाने बानीको सबैभन्दा ठूलो असर पाचन शक्तिमा पर्ने डा. भण्डारी बताउँछन् । ‘वास्तवमा रातको खानापछि कुनै गतिविधि छैन र सिधै ओछ्यानमा सुत्दा खानेकुरा पच्दैन । यसले एसिडिटी, पेट फुल्ने लगायत समस्या हुन सक्छ । साथै, पाचन प्रक्रिया ठीक नहुँदा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन र ऊर्जाको स्तर पनि कम रहन्छ, ’ उनी भन्छन् ।

वजन बढ्न सक्छ

डा. भण्डारीका अनुसार राति अबेरसम्म खाना खाँदा तौल बढ्ने समस्याले सताउँछ । ‘यस्तोमा शरीरको मेटाबोलिज्म सुस्त भई क्यालोरी राम्रोसँग बर्न हुँदैन र शरीरमा बोसो बढ्न थाल्छ । तौल बढ्दै गएपछि रगतमा चिनीको मात्रा अनियन्त्रित हुन्छ । पछि यसले मुटु र रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ,’ उनी भन्छन् ।

निद्राको कमी

मानिसहरु प्रायः राति सजिलै निद्रा नपरेको गुनासो गर्छन् । यसको मुख्य कारणमध्ये एक ढिलो खाना खाने बानी हो । ‘खाना राति नपच्दा पेट डम्म हुन्छ र निद्रा पनि समयमा आउँदैन । जसको असर विहान देखिन्छ, ‘ डा. भण्डारी भन्छन्, ‘दोस्रो दिन कब्जियत, टाउको दुख्ने, आलस्यता, ऊर्जाको कमी र अन्य समस्या हुन सक्छ ।’

आयुर्वेद भन्छबेर खानेकुरा खानु मन्द विष

राति अबेर खाना खानु मन्द विषसरह हुने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘ढिला खाने बानीले छिट्टै असर नगरे पनि बिस्तारै–बिस्तारै दीर्घरोग बढाउँदै लैजाने र आयु समेत कम हुने हुँदा यो मन्द विष नै हो भन्दा फरक पर्दैन ।’

उनका अनुसार राति अबेर खाँदा भोक शान्त हुन्छ । तर  पेट र पाचनका लागि निकै खतरनाक हुन्छ । पाचनक्रिया बुढेसकाल लागेपछि अन्य अंग जस्तै कमजोर हुँदै जान्छ । ढिलो खाने बानीले युवावस्थामा पनि  पेट कमजोर हुने मात्र होइन, अन्य स्वास्थ्य समस्या पनि देखिने उनी बताउँछन् ।

खाने बित्तिकै सुत्नु हानिकारक

स्वास्थ्य विज्ञहरूका अनुसार अबेर खाने मात्र होइन खानेबित्तिकै सुत्नु पनि हानिकारक हुन्छ । नेसनल सेन्टर फर बायटेक्नोलोजी इन्फरमेसन (एनसीबीआई)ले गरेको एक अध्ययनले पनि सुत्ने र खानेको बीचमा दुई घण्टाको अन्तर हुनु अति आवश्यक रहेको देखाएको छ । खाना खाएर तुरुन्तै सुत्दा मानिसको शरीरको मेटाबोलिज्मले खाना राम्ररी पचाउन नसक्दा सुस्त गतिमा काम गर्न थाल्छ । जसकारण शरीरमा धेरै रोग निम्त्याउने अध्ययनको निष्कर्ष छ । राति खाना खाएपछि एकैछिन वरपर केही मिनेट हिंडडुल गरेर मात्र सुत्दा खानेकुरा पच्न सहज हुने डा. केशरी बताउँछन् ।

समाधान के त ?

डा. भण्डारी स्वस्थ र दीर्घजीवनको लागि बेलुकी ७ बजेसम्म खाना खान सुझाउँछन् । सम्भव नभए ढिलामा  ८ बजे खाइसक्नुपर्छ । त्यस्तै, रातिको काम भए काममा जानुअघि खाना खाने र बेलुका अबेर भए हल्का सुप खाएमा केही हदसम्म रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ ।

राति खानेकुरा नपचेमा बिहान समेत अमिलो डकार आइरहेको हुन्छ । यस्तो डकार आएमा बिहान ९ बजे खाना खाइन्छ भने त्यसको दुई घण्टापछि मात्रै खाना खाए बिस्तारै पेट स्वस्थ हुँदै आउने डा. केशरी बताउँछन् ।

खानापान दीर्घरोग स्वास्थ्य
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?