+
+

अपरेसन गरेको एकहप्तापछि सुत्केरीको मृत्यु, छानबिन समिति बनाउन अस्पताल सहमत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते २०:१९

८ भदौ, पोखरा । पोखरा महानगरपालकिा १६, बाटुलेचौरमा रहेको मातृृशिशु मितेरी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि परिवारजनले अस्पतालप्रति प्रश्न उठाएका छन् । मृत्यु हुनेमा म्याग्दी घर भई हाल पोखरा १६ बस्दै आएकी २४ वर्षीय निलम पुनमगर छन् ।

साउन २९ गते अस्पताल पुर्‍याइएकी मगरको ३० गते अपरेसनबाट छोरी जन्माएकी थिइन् । सुरुमा स्वस्थ अवस्थामा रहेकी उनको बीचमा स्वास्थ्यमा खराब आएसँगै अस्पतालले भदौ ६ गते गण्डकी अस्पताल रेफर गरेको थियो ।

तर, गण्डकीमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मगरको मृत्यु भएको हो । पीडित परिवारका अनुसार अपरेसनका क्रममा लापरबाही हुँदा मगरको पाठेघरमै रगत जम्मा हुन गएको थियो । जसले गर्दा समयमै उचित उपचार नपाउँदा उनको मृत्यु भएको परिवारको आरोप छ ।

‘बच्चा बढ्दै गएपछि पहिले अपरेसन गरेको ठाउँ चर्किने हुँदा समस्या आउँछ । छिट्टै अपरेसन गर्नुपर्छ भन्नुभयो,’ निलमकी बहिनी दीपा पुनले भनिन्, ‘अझ उहाँहरुले त २९ गते नै गरौं भन्नुभएको थियो । तर, ३० गते अपरेसन भयो ।’

भदौ ३० गते अपरेसनपछि छोरी जन्मियो । तर, शिशुमा समस्या देखिएपछि तत्कालीन पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पतालमा शिशुलाई एनआईसीयूमा पठाइयो, आमा मातृशिशुमै रहिन् । परिवार सदस्यका अनुसार आमा मातृशिशु अस्पतालमै उपचारमा थिइन् भने नवजात शिशु गण्डकी अस्पतालमा ।

एकहप्तापछि शिशुको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्जको प्रक्रिया थालियो । तर, त्यहीबेला मातृशिशुमा रहेकी मगरको स्वास्थ्यमा भने समस्या देखिन थाल्यो । उपचारमा संलग्न चिकित्सकले सुत्केरी अवस्थामा रहेकी मगरलाई व्यायाम गर्न सुझाए ।

‘दिदीले पेट दुख्न थाल्यो भन्न थाल्नुभयो । भिडियो एक्सरे गर्नेबेला पानीको फोका उठेको भनेर भनियो,’ बहिनी दीपाले अनलाइनखबरसँग भनिन्, ‘एक्सरसाइज गरेपछि ठीक हुन्छ भनेर उठ्नै नसकेको बिरामीलाई पनि हिँड्न, डुल्न लगाए । हामीसँग भएका सबैले देखेका छन् ।’

तर, मगरको स्वास्थ्य सुधार हुनुको साटो झन्झन् बिग्रिँदै गयो । त्यसपछि त्यसपछि भदौ ६ गते अस्पतालले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) रेफर गरिदियो । ‘२–३ दिनअघिबाटै दिदी दुख्यो, गाह्रो भयो भनिराख्नुभएको थियो । डाक्टरहरुले हामी आफैं गर्छौं भने,’ बहिनी दीपाले भनिन् ।

तर, प्रतिष्ठानमा बेड खाली नभएको भन्दै फिर्ता पठाइदिएपछि मगरको उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगियो । मगर त्यहीं अस्ताइन् । न भर्खरै जन्मिएकी छोरीले आमा हेर्न पाइन् न त आमाले नै छोरी । ‘अब दिदीको छोरी हामीले नै हेर्ने भनेर आज (शुक्रबार) घर लैजाँदैछौं । जिम्मेवारी त पूरा गर्नुपर्‍यो,’ पोखरा लेखनाथ घर भएकी दीपाले भनिन् ।

पीडितका आफन्त तथा छिमेकीहरुले शुक्रबार मातृशिशु अस्पताल परिसरमा नाराबाजी गर्दै धर्ना पनि दिएका थिए । उनीहरुले मातृशिशु अस्पताल भने पनि भेन्टिलेटर, आइसीयू, एनआईसियूलगायत अत्यावश्यक व्यवस्था नहुँदा जोखिम बढेको आरोप लगाए ।

मृतकका आफन्तले अस्पताले सुत्केरीको उपचारमा लापरबाहीको जिम्मेवारी लिनुपर्ने र घटनाबारे प्रष्ट खुलाउनुपर्ने माग राखेका छन् । उनीहरुले बच्चा तथा पीडितका श्रीमानलाई रोजगारको व्यवस्था गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन प्रतिवद्धता जनाउनुपर्ने माग राखेका छन् ।

अस्पताल भन्छ : उच्च रक्तश्रावले कहिलेकाहीं यस्तो घटना हुन्छ

मातृशिशु अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्डेन्ट डा. धर्मदेव ढकालले उच्च रक्तश्रावका कारण यस प्रकृतिको घटना हुने बताए । उनले बिरामीको अपरेसन भएको चौथो दिनसम्म अवस्था राम्रै भए पनि डिस्चार्ज गर्नेबेला समस्या देखिएको स्वीकारे ।

‘डिस्चार्ज गर्ने दिनसम्म सबै नर्मल नै थियो । तयारी गर्दागर्दै उहाँले आफ्नो देब्रे कोखतिर दुखेको भन्नुभयो,’ डा. ढकालले भने, ‘त्यसपछि हामीले भिडियो एक्सरे गरेर हेर्दा उहाँको पेटमा ६५ एमएल पानी जमेको देखियो ।’ बिरामीलाई ज्वरो आएको उनले बताए ।

उपचारकै क्रममा अर्को दिन पनि बिरामीले दुखाइ कम नभएको बताएपछि आफूहरुले गण्डकी अस्पतालमा रेफर गरेको सुनाए । ‘यहाँ उपचार गर्दासम्म सबै नर्मल नै थियो । यस्तो केस कमैमा हुन्छ । हजार जनामा एकजनालाई हुने हो,’ उनले भने । अस्पतालमा आईसीयू नभएका कारण उपचारमा समस्या हुने भएर अन्यत्र रेफर गर्नुपरेको उनको भनाइ थियो ।

अस्पताल र पीडित पक्षबीच शुक्रबार नै छानबिन समिति बनाउने सहमति भएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बाँकी प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाइ छ । पीडितका आफन्तले बिहीबार नै शव बुझिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?